सफल बन्दै ग्रासरुट फुटसल एकेडेमी

grass copyकाठमाडौं, २५ पुस । पछिल्लो समय नेपालमा जुनियर स्तरका फुटबल उत्पादनमा विभिन्न एकेडेमीको शुरुवात राम्रो भइरहेको छ । त्यसैबीचमा राजधानीमा पनि यसले राम्रै स्थान पाइसकेको छ । मण्डीखाटारमा रहेको ग्रासरुट फुटसल एकेडमी पनि राजधानीको पुरानै एकेडमीमध्ये एक हो ।

एकेडेमीले चारवर्ष पूरा गरी सकेकाले पनि राजधानीमा निकै लोकपृयता कमाइसकेको छ । चारवर्ष अगाडि राजु श्रेष्ठले स्थापना गरेको एकेडेमीमा हाल करिब १ सय बालबालिका प्रशिक्षणरत छन् । उनीसँगै करातेका प्रशिक्षकसमेत रहेका हरिबहादुर तामाङले जुनियर फुटबलरलाई प्रशिक्षण गर्छन् । तामाङ पछिल्लो समय जुनियरस्तरको फुटसल प्रशिक्षकका रूपमा परिचत हुँदै आएका छन् ।

श्रेष्ठ भने एक समय महावीर क्लबको प्रशिक्षक पनि थिए । उनी हाल शिक्षा क्षेत्रबाट नै उत्कृष्ट फुटबलर उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न विद्यालयमा प्रशिक्षक रूपमा स्थापित छन् । लामो समयदेखि नेपाली खेलकुदमा सक्रिय श्रेष्ठले विभिन्न खेल संघको जिम्मेवारी पनि सम्हालेका छन् । तथापि एकेडमीको उद्देश्य नेपालमा नै उत्कृष्ट फुटबलर उत्पादन गर्नु हो । त्यहीअनुरूप नेपालमा जुनियर फुटबलर उत्पादनमा व्यस्त छन्, श्रेष्ठ ।

लामाको दैनिकी भने खेल प्रशिक्षणमा नै वित्ने गर्छ । धादिङको छत्रे देउरालीमा जन्मेका हरि तामाङ विहानदेखि बेलुकीसम्म खेलकुद प्रशिक्षणमै ब्यस्त हुन्छन् । विहान नेपाली रग्वी टोलीको प्रशिक्षणबाट शुरु भएको उनको दैनिकी प्रिमियर आइबी इन्टरनेशनल स्कुलमा खेल प्रशिक्षण गर्दै रोजबर्ड स्कुलमा खेल प्रशिक्षणमा पुग्छन् । त्यसपश्चात उनी डायना स्कुलमा खेल प्रशिक्षणमा पुग्ने गर्छन् । यसरी खेलक्षेत्रमा एक किसिमको राम्रो छबि बनाएको तामाङले यस समय जुनियर स्तरका उत्कृष्ट फुटबलर उत्पादनमा सक्रियता अगाडि बढाएका छन् । जुनीयर फुटबल एकेडेमीमा करिब १ सय जना जुनियर लेभलका फुटबलरको माझ उनी देखिने गर्छन् ।

राजु श्रेष्ठले शुरुआत गरेको एकेडेमी अहिले नेपालकै उत्कृष्ट जुनियर फुटबलर प्रशिक्षण केन्द्रको रूपमा स्थापित भइसकेको छ । एकेडेमीमा उनले फुटबलको आधारभूत तालिम, स्किल टेस, प्राक्टिकल र फ्रन्ड्ली म्याचको माध्यमबाट प्रशिक्षण गर्छन् । प्रशिक्षण केन्द्र पनि निकै राम्रो सर्कलमा भएकाले पनि जुनियर फुटबलरलाई प्रशिक्षणमा सहजता पुगेको छ । फुटसल प्रतियोगिताका लागि पनि निकै उत्कृष्ट मानिने गर्छ, ग्रासरुट फुटसल । उत्कृष्ट वातावरणमा नेपालका पूर्वफुटबल खेलाडीकै सक्रियतामा एकेडेमीले एक खालको राम्रो छवि बनाइसकेको छ ।

गल्फका खेलाडीसमेत रहेका टासि छिरिङ डोङलगायतको लगानीमा ग्रासरुट फुटसलको शुरुवात भएको थियो । डोङ पनि जुनियर फुटबलर प्रशिक्षण गराउछन् । राजु श्रेष्ठकै नेतृत्वमा जुनियर फुटबलर उत्पादनको उत्कृष्ट एकेडेमीको रूपमा उदाएको छ, ग्रासरुट फुटसल एकेडेमी ।

प्रतिक्रिया