४५ करोडको औषधि रक्सौलमै थन्कियो

काठमाडौं, २४ पुस । नेपाल ल्याउन खोजिएको करिब ४५ करोड मूल्य बराबरको ७० ट्रक औषधि सिमापारि रक्सौलमा थन्किएको छ ।

भारतबाट औषधि लिएर वीरगन्ज नाकामा आइपुगेका मालबाहक गाडी मधेसकेन्द्रित दलको आह्वानमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतमै थन्किएको हो । आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । मागको ४० प्रतिशत औषधि अझै पनि बजारमा अभाव देखिएको नेपाल औषधि व्यवसायी महासंघले जनाएको छ ।

औषधिको आयात हुन नसकेपछि अहिले शल्यक्रिया तथा मुटुरोगसम्बन्धी औषधिको अभाव सुरु भएको छ । शल्यक्रिया गर्दा प्रयोग हुने उपकरण, स्लाइन तथा हृदयाघात हुँदा प्रयोग हुने औषधि तथा अक्सिजनको अभाव भएको व्यवसायीहरू बताउँछन् । ‘नेपालका लागि आयात गरिएका औषधिसहितका ७० ट्रक भारतीय नाका रक्सौलमा थन्किएका छन’ नेपाल औषधि व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश खण्डेवालले भने ।

औषधिजस्तो अत्यावश्यक वस्तु लामो समयसम्म सीमा क्षेत्रमा रोकिँदा असमान तापक्रमका कारण गुणस्तरमा समस्या आउन सक्ने हुँदा यसतर्फ सबै पक्ष अत्यन्त संवेदनशील हुनुपर्ने उनको भनाइ छ । मानवीय जीवनका लागि अतिआवश्यक पर्ने औषधि बोकेको ट्रक नेपाल भित्रिन नसक्नु ज्यादै दुःखद अवस्था हो भन्दै उपाध्यक्ष खण्डेवालले चार महिनादेखि रक्सौलमै थन्किएका औषधि बिग्रने सम्भावना रहेको बताए । ‘आयात गरिएका केही ट्रकको औषधि रक्सौलमै गोदाम भाडामा लिएर राख्नुपर्ने बाध्यता छ’ उनले भने ।

भारतबाट आयातित अधिकांश औषधि वीरगन्ज भन्सार नाका हुँदै नेपाल भित्राउने गरिन्छ । भारतको पटना, मुम्बई, लखनउ, मद्रास, तमिलनाडुलगायत क्षेत्रबाट औषधि नेपाल भित्रिने गरेका छन् । करिब ८० प्रतिशत औषधि वीरगन्ज नाकाबाट मात्र आयात हुने गर्छ । नेपालमा वार्षिक करिब ३५ अर्ब मूल्य बराबरका औषधि भारत र तेस्रो मुलुकबाट आयात भइरहेका छन् । भारतबाट आयात हुने औषधिमध्ये १२ अर्ब मूल्य बराबरका औषधिजन्य शल्यक्रियासम्बन्धी सामानमात्र नेपाल भित्रिने गरेका छन् ।

प्रतिक्रिया