मार्सल आर्टका कुशल गुरु राजीव

rajib 2खेलकुद आफैँमा विविधताको क्षेत्र । नेपालको हकमा कोहीका लागि हल्लिखल्लीमा जिन्दगी विताउनेको अखडा पनि हुन सक्छ, यो क्षेत्र । थुप्रै अनुहारको दिनभरीको चर्तीकला हेर्दा राज्यको सम्पत्ती त्यत्तिकै खेर गएको प्रष्ट देखिन्छ । दशरथ रंगशालामा भेटिने विविध अनुहारमध्ये कोही यस्ता छन्, जसको ध्येय एउटै मात्र हुन्छ, च्याम्पियन बन्ने । खेलाडीको रुपमा र प्रशिक्षकको रुपमा पनि । दुवै स्वरुपमा च्याम्पियन हुने बिरलै ब्यक्ति छन्, नेपाली खेलकुदमा । यस क्रममा एउटा शालीन व्यक्ति राजीव मर्हजन, जसको ध्येय च्याम्पियन बन्नेमा मात्र रह्यो ।

खेलाडीको रुपमा पूर्वराष्ट्रिय च्याम्पियन खेलाडी जिवन छाडेको केही समयपछि नै च्याम्पियन प्रशिक्षक बने । चार वर्षे नेपाल आर्मी क्लबमा उनले बगाएको पसिनाको रुप हालै सम्पन्न १२ औँ साग छनोटमा देखियो । उनको त्यतिबेलाको मेहेनतकै कारण त आर्मी क्लबका आठजना खेलाडीले अहिले राष्ट्रिय टोलीमा प्रवेश पाए । वरिष्ठताको आधारमा राज्यको सुविधा उपयोग गर्ने नेपाली खेलकुदममा यी करार प्रशिक्षकले उत्कृष्टता पुष्टि गरेपछि नयाँ बहसको आवस्यकता निम्तिएको छ । के खेलकुदमा वरिष्ठता मात्र हेरिन्छ ? की क्षमता पनि । राजीवकै अनुसार नेपाली युवा माझ आशाको केन्द्र बनेका बिसाल सिन्जालीको उदयमा युवराज गुरुङको देन छ । तर, महत्वपूर्ण सत्य के हो भने अहिले बिसालजस्ता आशा गरिएका युवाहरु दिनहु राजीवको निगरानीमा छन् ।

खेलाडीको रुपमा ६ वर्ष राजीव उच्च फर्ममा रहे । सन् १९९७ मा भएको इन्डो–नेपाल किक बक्सीङका स्वर्ण विजेता उनी सन् २००३ मा इन्डो–नेपाल किक बक्सिङको पनि स्वर्ण पदक विजेता बने । उनी सन् २००३ मै भारतमा भएको दक्षिण एसियाली उसु च्याम्पियनसीपमा रजत पदक जित्न सफल भए । सन् २००७ मा चीनमा भएको नवौ विश्व उसु च्याम्पियनसिपमा उनले नेपालको प्रतिनिधित्व गरेका थिए । सन् २००८ मा ढाकामा भएको दक्षिण एसियाली उसु च्याम्पियनसिपमा पनि उनी दोस्रो भए । टर्कीको ११ औँ विश्व उसु च्याम्पियनसिपमा सहभागिता जनाएका उनले प्रशासनिक रुपमा आफूलाई ढाले पनि सन् २०१४ मा कोरियामा भएको एसियाली उसु महासंघको साधारणसभामा नेपालको प्रतिनिधत्व गरेका थिए । सन् २००९ मा प्रशिक्षक र रेफ्री कोर्ष पूरा गरेपछि उनको यी दुवै क्षेत्रमा उत्तिकै सक्रियता रहेको हो ।

राष्ट्रिय तहमा पाँचौ राष्ट्रिय खेलकुदमा बेस्ट पर्फमर उनी पाँचौ र छैटौ राष्ट्रिय च्याम्पियनसीपमा स्वर्ण जित्न सफल भएका थिए । सन् २०१२ देखि नेपाल आर्मीमा आवद्ध राजीव राखेपमा करारमा राखिएका प्रशिक्षक हुन् । आसन्न सागको सवालमा एउटा प्रश्न उठेको छ, अब दक्षता हेर्ने कि वरिष्ठता । यो वहसको एउटा कारक व्यक्ति बनेर उभीएका छन्, राजीव । अहिले पनि सफलताको एउटा राज उनी बताउछन्, ‘काममा लगनशीलता, लक्ष्यमा प्रतिवद्धता ।’ राजवीको मुख्य पेसा रेमिट्यान्स हो । रेमिट्यान्स सेवामा आवद्ध उनीबारे अन्य खेलकर्मी सकतात्मक भावना राख्छन् र जुनियर खेलकर्मीले आस्था ।

अन्य मार्सल आर्टका समेत ज्ञाता रहेका कारण उनी मार्सल आर्ट क्षेत्रका विशेष व्यक्ति मानिन्छन् । यिनै राजीव आसन्न दक्षिण एसियाली खेलकुदमा उसु खेलाडीले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेका छन् । उनकै विचारमा विगतमा झै यस पटक पनि सागमा उसु खेलले नै नेपालको नाम रोख्ने दाशी गर्छन् ।

खेलमै प्रतिवद्ध यी प्रशिक्षक उपाध्यक्ष, रेफ्री र खेलाडीका साथै अन्य भूमिकामा निभाएको योगदानलाई हेरेर अन्य थुप्रैले आश्चर्यसमेत व्यक्त गर्ने गरेका छन् । समयको उचित व्यवस्थापन र योजनाका कारण सबै भूमिका निर्वाह गर्न सहज र सम्भव भएको उनको ठहर छ । लगातारको मिहेनतका कारण उचाइ पाउँदै गरेका उनी आफ्नो बाँकी लक्ष्य नेपाललाई उसु खेलमा अझ सफल बनाउने र त्यसमा आफ्नो पनि योगदान रहोस् भन्ने चाहन्छन् ।

उसुका साथै मार्सल आर्टका अन्य विधामा सक्रिय राजीव मार्सल आर्टकै माध्यमबाट आदर्श समाजको परिकल्पना गर्छन् । उनको लगाव र मिहेनत देखेरै होला उनका समकक्षीहरु उनी लक्ष्यमा सफल हुनेमा आशावादी छन् ।

अब पनि उनीसामु एउटा चुनौति त छदैछ, आर्मीका अधिकाधि खेलाडीको बाहुल्यातालाई निरन्तरता दिनु नै छ । साथै प्रशासनिक क्षेत्रको जिम्मेवारी पनि कुशलतापूर्वक पूरा गर्दै लैजानु ।

प्रतिक्रिया