‘मोर्चामा चार दल छ’‘

काठमाडौ, २० पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता एवम बार्ता टोलीका सदस्य राम नरेश रायले मोर्चामा चार पार्टी रहेकोले कार्यदलमा नाम पठाउँदा चार जनाको नाम पठाउने बताएका छन । प्रमुख तीन दल र मोर्चाबीच आइतवार वालुवाटारमा भएको वार्तामा मधेस समस्या समाधान गर्न कार्यदल बनाउने प्रस्ताव गरिएको थियो । प्रमुख तीन दलले सो कार्य दलमा तीनै दलका एक÷एक र मोर्चाको एक गरी चार सदस्यीय बनाउने प्रस्ताव गरेका थिए ।

सोमबार पत्रकारसंगको एक साक्षात्कारमा रायले भने, ‘मोर्चामा चार दल छन् । कार्यदलमा नाम पठाउँदा चार दलका चार जनाको नाम पठाउँछौँ । सरकारले मागेजस्तो एकजना पठाउँदैनौँ ।’ तर, नाम पठाउने कि नपठाउने भन्ने विषयमा मोर्चामा छलफल भइनसकेको उनले खुलाए ।

उनले सरकार बार्ताबाट भाग्न लगेको आरोप लगाउँदै उसलाई भाग्न नदिन र मोर्चा वार्ताको पक्षमा छ भन्ने सन्देश दिन सरकारले जहाँ भन्छ त्यही बस्नु पर्ने आफ्नो ब्यक्तिगत धारणा रहेको बताए । रायले भने, ‘हामी छलफल नगरी नाम दिदैनाँै । मंगलबार मोर्चाको बैठक बसेर जाने÷नजाने निर्णयमा पुग्छौँ ।’ उनले ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै नाका अवरोध पनि जारी रहने स्पष्ट पारे ।

यता, सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाको अनुभव र आचार संहिता अनुसार नै आफ्नो पार्टीले अलग आन्दोलनको घोषणा गरेको बताउँदै यसका कारण मोर्चा नफुटने दावी गरे । उनले भने, ‘मोर्चामा कुनै विवाद छैन । मोर्चा अखण्ड छ, अखण्ड रहन्छ । हाम्रो आन्दोलन मोर्चाको आचारसंहिता र अनुभवअनुसार नै हो ।’ सुमनले मोर्चाको आन्दोलन नाकामा धर्ना, आमहडताल र राज्यलाई कर नतिर्ने तीन सिद्धान्तअनुसार भएको र बीचबीचमा ‘सर्पोटिङ’ कार्यक्रमहरु ल्याउने गरेको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारीरहने स्पष्ट पारे ।

कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी राज्यको भएको भन्दै त्यसको नियन्त्रणमा आफूहरु पनि सहयोग गर्न तयार रहेको सुमनले बताए । उनले आफूहरुको माग र आन्दोलनमा मधेसी जनताको पूर्ण समर्थन रहेको दावी गर्दै जनप्रतिनिधिहरुलाई ‘रिकल’ गर्ने ब्यवस्था भए अहिले मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले र एमाओवादीका मधेसी सांसद्लाई आन्दोलनमा देखिएको जनताको मतको आधारमा फिर्ता बोलाउन सकिने जनमत भएको बताए ।

प्रतिक्रिया