अज्ञात समूहद्वारा असईको हत्या

लहान, २० पुस । सप्तरीमा प्रहरी असईको हत्या भएको छ । सोमबार साँझ ६ बजेतिर झटुकी प्रहरी चौकीका इन्चार्ज असई रमेशको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चाल अस्पताल निधन भएको जिल्ला प्रहरी कार्यालयका इनिस्पेक्टर सुरज खड्काले जानकारी दिए ।

सुब्बालाई मोटरसाइकलमा आएका दुई जनाले गोली हानी फरार भएको स्थानीयले बताएका छन् । सप्तरीको गोबरगाढा प्रहरी चौकीमा दरबन्दी भई उनी झुटकी प्रहरी चौकीमा काजमा कार्यरत थिए । झापा घर भएका सुब्बाको तिघ्रा र छातीमा गोली लागेको थियो ।

तराइमा सशस्त्र संघर्ष गरिरहेको अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले आफ्नो संगठनले असई सुब्बाको हत्या गरेको दाबीका छन् । मधेसमा निर्दोष जनताको हत्या गरिरहेको र त्यस कार्यलाई नरोकेकाले चेतावनी स्वरुप असई सुब्बाको हत्या गरेको गोइतले बताएका छन् ।

सरकारी समाचार एजेन्सी राससले चौकीमा दुई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक अज्ञात समूहले गोली चलाउँदा ३७ वर्षीय सुब्बा घाइते भएको र उपचारका लागि राजवीराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याउँदा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको हवाला दिँदै समाचार सार्वजनिक गरेको छ ।

गस्तीमा निस्केको बखत प्रहरी चौकी नजिकै दुईवटा भारतीय नम्बरको मोटरसाइकलमा आएका केही व्यक्तिले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए ।

सुब्बा इन्चार्ज रहेको प्रहरी चौकीमा १६ जना प्रहरीको दरबन्दी थियो । घटनापछि त्यहाँका सम्पूर्ण प्रहरीलाई इलाका प्रहरी कार्यालय बोदे बसाइनमा सारिएको छ । घटनापछि झुटकी आसपासको क्षेत्रमा व्याप्क प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया