हवाई अड्डा आक्रमणमा मारिनेको संख्या ६ पुग्यो

नयाँ दिल्ली । भारतको उत्तरी राज्य पञ्जाबमा अवस्थित भारतीय हवाई अड्डामा शनिबार भएको आतंककारी आक्रमणमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

पाकिस्तानको सीमा क्षेत्रमा रहेको यस आतंककारी आक्रमणमा ३ भारतीय हवाई बल (आइएएफ) का सदस्यको घटनास्थलमै मृत्यु भएको थियो । सो आक्रमणमा घाइते भएका अन्य ३ जनाको गए राती मृत्युभएपछि सो संख्या ६ पुगेको वरिष्ठ प्रहरी अधिकारीले आइतबार बताए ।

सो आक्रमणमा परी अन्य ९ आइएएफ सदस्य घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । पञ्जाव राज्यको पठानकोटमा रहेको यस हवाई अड्डामा बन्दुकधारीहरूको समूहले स्थानीय समयाअनुसार शनिबार करिब ३ः३० आक्रमण गरेपछि सुरक्षाबल र बन्दुकधारीबीच भएको करिब ५ घन्टा लामो झडपमा ४ जना आतंककारीको मृत्यु भएको जनाइएको थियो ।

भारतको राजधानी नयाँ दिल्लीबाट ४ सय ३० किलोमिटर उत्तरमा रहेको पठानकोटमा अवस्थित हवाई अड्डामा सो आक्रमण भएको हो । इस्लामाबादस्थित पाकिस्तानी विदेश मन्त्रालयले हिजो यस आतङ्ककारी आक्रमणप्रति खेद व्यक्त गर्दै भारत सरकार र भारतीय जनता तथा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा घटनामा घाइते भएका भारतीय नागरिकको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । विज्ञप्तिमा पाकिस्तान आतंकवादविरुद्ध लड्न भारत र आतंकवादले सताएको अन्य राष्ट्रसँग सहकार्य गर्दै अघि बढ्नेछ भनिएको छ । (एजेन्सी)

प्रतिक्रिया