आतंकवादले हैरान पारेको वर्ष २०१५

franceलन्डन, १८ पुस । सन् २०१५ को अन्तर्राष्ट्रिय राजनीति हिंसाले प्रभावित बन्यो । राजनीति तथा आर्थिक रूपमा अब्बल मानिएका संसारका ठूला देशहरूको सम्बन्धमा विश्व राजनीति चल्ने गरे पनि सन् २०१५ नि यो राजनीतिलाई आतंकवादले नै बढी छायामा पारेको देखियो । वर्षको अधिक समय विश्वको ध्यानाकर्षण २ पटकसम्म फ्रान्सको पेरिसमा भएका आतंकवादी हमलामा भएको थियो । सन् २०१५ को जनवरी ७ मा पेरिसमा रहेको एक पत्रिकाको कार्यालयमा भएको आतंकवादी हमलामा परी पत्रिकाका एकजना सम्पादकसहित १४ जनाको ज्यान गएको थियो । युरोपको एक सम्पन्न यस देशमा सायद यसअघि कहिल्यै कल्पनासमेत नगरिएको आतंककारी घटना भयो र त्यसले संसारकै ध्यानाकर्षण पनि गरायो ।

मुस्लिम अतिवादी समूह, आइएसको उदयले सन् २०१५ मा बढी चर्चा पायो । आइएसको पटकपटकको पेरिस हमलादेखि सिरिया र इराकमा उनीहरूका ज्यादति सन् २०१५ मा संसारका सञ्चारमाध्यमहरूको पाना भरिए । विगतदेखिकै एउटा टाउको दुखाई बनिरहेको सिरियाको समस्या यो वर्ष पनि मत्थर भएन । यसले विश्व राजनीतिमा पटकपटक चर्चा भने पायो । त्यहाँको गृहयुद्धका कथाहरू वर्ष चर्चामा रहन पुग्यो ।

क्रिमिया रसियामा मिलाएपछिको विवादले सन् २०१५ मा पनि चर्चा पाएको थियो । त्यस विवादले मात्र नभएर त्यस विवादका कारण उत्पन्न रसिया अमेरिका सम्बन्धका उतार चढावहरू यसवर्ष पनि देखिए । अमेरिकाले युक्रेनमा पछिल्लो समयमा पनि जारी रहेको पृथकतावादी हिंसामा रसियाको हात रहेको दाबी गरी नै रह्यो भने अर्कातर्फ रसियाले अमेरिकाको सो आरोपमा कुनै दम नरहेको भनी विरोध गरिरह्यो ।

इजिप्टमा रसियाली विमान खसालेको घटनाले एउटा विमान दुर्घटना भएर २ सय २४ जनाको ज्यान गयो । यसले विमानभित्र बम राख्ने र यसरी आकासबाटै विमान खसाल्नसक्ने गरी आतंककारी क्रियाकलापबारे चर्चा भइरह्यो । यसले धेरैलाई चिन्तित तुल्यायो । आगामी वर्ष पनि हिंसात्मक घटनाको सम्भावना धेरैको चिन्ताको विषय बनेको छ ।

वर्षको अन्त्यसम्म आइपुग्दा सिरियाको समस्याले समाधानको बाटो नदेखाए पछि यसैमा अर्को वर्ष पनि प्रभाव बढ्ने देखिन्छ । अफगानिस्तान र इराकका आफ्ना समस्याहरू कुन रूपमा प्रस्तुुत हुनेछ भन्ने चासो धेरैको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको निर्वाचन अर्को वर्षको प्रमुख घटना हुने नै छ । त्यसमा पनि अमेरिकाको पहिलो महिला राष्ट्रपतिको दौडमा हिलारी क्लिन्टन देखिएकोले पनि यसले त्यहाँ ठूलै चर्चा पाउने अपेक्षा गरिन्छ । क्लिन्टन अमेरिकाका पूर्व विदेशमन्त्री हुन् । साथै अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनकी धर्मपत्नी । त्यसैले पनि अबको राष्ट्रपतीय उम्मेदवारमा उहाँ निकै दरिलो उम्मेदवार हुन् ।

 

प्रतिक्रिया