कालोबजारीविरुद्ध युवामोर्चा

काठमाडौं, १८ पुस । संयुक्त जनवादी युवा मोर्चाले भारतको अघोषित नाकाबन्दी र त्यसले उत्पन्न गरेको कालोबजारीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले शनिबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो ।

मोर्चाले पुस १९ गतेदेखि माघ ५ गतेसम्मका लागि आन्दोलनको कार्यक्रम घोषणा गर्दै नेपाली नागरिकको जनजीवन सहज बनाउन सहयोग गर्ने जनाएको छ । मोर्चाले अगाडि सारेको कार्यक्रममा पुुस १९ गते ३ दिन कालोबजारी भइरहेको ठाउँ र त्यसमा संलग्न व्यक्तिहरूको विषयमा सूचना संकलन गर्ने, पुुस १९ गते नै मधेसी मोर्चाका शीर्ष नेताहरूलाई आन्दोलन फिर्ता वा स्वरूप परिवर्तन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाउने छ । यसैगरी पुस २० गते कालोबजारी, महँगी र तस्करी नियन्त्रण गर्न अनुरोध गर्दै प्रधानमन्त्री र भारतीय राजदूतावासलाई ज्ञापन पत्र बुझाउनेछ ।

तस्कर र कालाबजारी गर्नेलाई पक्राउ गरी प्रशासनलाई जिम्मा लगाउने, प्रशासनले सहयोग नगरे जनताको सहयोगमा प्रशासनको भण्डाफोर गर्ने, नाकाबन्दीको कारण लागेको डिमरेज चार्ज भारतबाट तिराउन कानुन उपचारको खोजी गर्ने, पुस २५ गते सिंहदरबार घेराउ गर्ने, नेपाल र भारत सरकारबाट दोहोरो तलब लिने कर्मचारीलाई कारवाही गर्नेलगायत रहेका छन । त्यसपछि पनि आफूहरूको माग पूरा नभए राष्ट्रिय प्रतिरोध आन्दोलन सुरु गर्ने मोर्चाले जनाएको छ ।

पत्रकार सम्मेलनमा मोर्चाका संयोजक हरि बोहराले फर्जी दोस्रो संविधानसभाले जनताको म्यान्डेड विपरीत संविधान जारी गर्दा मुलुकमा समस्या आएको दाबी गर्दै सरकारले राष्ट्रवादको शब्दजालको नाममा कालोबजारीलाई प्रोत्साहन गरिरहँदा पनि प्रतिपक्ष भने निदाइरहेको आरोपसमेत लगाएका छन् । उनले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनु परेको भन्दै यसलाई कमजोरी ठानिए त्यसको भयंकर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय मुक्ती आन्दोलनका अध्यक्ष मुक्ती बराल, अखण्ड सुदूरपश्चिमका संयोजक खगेन्द्र अवस्थी, जातीय क्षेत्रीय मोर्चाका संयोजक गोरखबहादुर बिसी, मगर राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय सदस्य विजय पुलामीले ऐक्यवद्धता प्रकट गर्दै संविधान विदेशीको ईशारामा बनेकोले यसले समस्या समाधान गर्न नसक्ने ठोकुवा गरेका थिए ।

प्रतिक्रिया