खोजखबर

भारतबाट ९० मेगावाट बिजुली ल्याइदै

सौर्य अनलाइन २०७२ पुष १८ गते १४:०२ मा प्रकाशित

काठमाडौं, १७ पुस । बिजुली अभावमा हिउँद लाग्नासाथ दैनिक ११ घन्टा लोडसेडिङ भोग्दै आएका नेपालीलाई केही राहत हुने भएको छ । नेपालले भारतबाट थप ९० मेगावाट बिजुली ल्याउने कार्य अन्तिम चरणमा पुगेकाले नेपालीले ऊर्जा संकटमा केही राहत पाउने भएका हुन् । आगामी माघ १६ गतेभित्र भारतबाट थप ९० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने लागेको हो । निर्माणाधीन ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन यसै महिनाको अन्त्यसम्म पूरा गर्ने र आवश्यक प्राविधिक परीक्षणसमेत गरेर थप विद्युत् ल्याउने तयारी गरिएको हो ।

विभिन्न नाकाबाट हाल २ सय ३५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको अवस्थामा नेपाल र भारतीय पक्षबीच भएको सहमतिअनुसार थप विद्युत् आयात गर्न लागिएको हो । राष्ट्रिय प्रसारणमा सो परिणामको विद्युत् थप भएपछि मुलुकमा हाल कायम ११ घन्टाको दैनिक विद्युत् भार कटौतीबाट एकाध घन्टा भने पनि राहत मिल्ने बताइएको छ ।

मुलुकभित्र हाल सञ्चालनमा रहेका आयोजनाबाट ७ सय ८० मेगावाट विद्युत् उत्पादन भए पनि हिउँदको समयमा नदीमा जलप्रवाह घटेको र भारतको अघोषित नाका बन्दीपछि विद्युत्मा नै अत्याधिक भार पर्दा कुल १ हजार ३ सय मेगावाट विद्युत् माग पुगेको छ ।

तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको विभिन्न क्षेत्र प्रभावित भइरहेको बेला सो अन्तरदेशीय प्रसारण लाइन निर्माणको कामसमेत विगत ४ महिनादेखि प्रभावित भएको थियो ।

सरोकार भएका विभिन्न पक्ष तथा तराई–मधेसमा आन्दोलनरत राजनीतिक दलसँगको सहमतिमा नै सो आयोजनालाई समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख कन्हैयालाल मानन्धरले रणनीतिक महत्वको आयोजनाको रूपमा रहेको ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा उल्लेख्य प्रगति भएको बताए । संसद्को कृषि तथा जलस्रोत समितिको बैठकमा मानन्धरले सो आयोजनाको निर्माण सम्पन्न भएपछि विद्युत् आयात तथा निर्यातको महत्वपूर्ण राजमार्ग खुला हुने बताए ।

स्थानीयवासीले सो आयोजनामा अवरोध नगर्न भने पनि आन्दोलनरत दलका नेता तथा कार्यकर्ताले समस्या समाधान नभइकन काम सुरु नगर्न दबाब दिएपछि आयोजना प्रभावित भएको थियो । नेपाल विद्युत् प्राधिकरणले केही समय पहिले भारतीय पक्षसँग द्वीपक्षीय छलफल गरेर तत्कालै आयोजना सम्पन्न गर्ने र ९० मेगावाट विद्युत् आयात गर्ने समझदारीसमेत गरेको थियो ।

पावर ट्रान्समिसन कम्पनीका कम्पनी सचिव जनकप्रसाद दाहालले महोत्तरी र धनुषा प्रशासनले सुरक्षाको आवश्यक प्रबन्ध गरिदिएपछि काम युद्धस्तरमा अगाडि बढेको जानकारी दिए ।

विद्युत् आयातका विषयमा प्राधिकरणका उच्च अधिकारी र भारतीय पक्षबीच पटकपटक भएको द्वीपक्षीय वार्ताको क्रममा तत्काल नेपाललाई ९० मेगावाट विद्युत् उपलब्ध गराउने सहमति भएको छ । भारतीय पक्षले जनवरीभित्रै विद्युत् लाइन जोड्ने वचन दिएको कम्पनी सचिव दाहाल बताउँछन् ।

हाल सो प्रसारण लाइनको सबै टावरको ‘फाउन्डेसन’ राख्ने काम करिब सम्पन्न भएको छ । एकाधको मात्रै मिलाउन बाँकी रहेको छ । भने साढे नौ किलोमिटर प्रसारण लाइन जोड्ने काम जारी रहेको छ । केही स्थानमा प्रसारण लाइन मिलाउन बाँकी रहेको छ । भारततर्फ सबै टावरको निर्माण सम्पन्न भइसकेको छ ।

‘कुनै अप्रत्यासित अवरोध भएन भने माघ १६ भित्र विद्युत् जोड्न सफल हुन्छाँै, त्यसले एउटा ‘ब्रेक थ्रु’ गर्नेछ ’ कम्पनीसचिव दाहालले भने ।

प्राधिकरणले विद्युत् आयात गर्ने पूर्व सहमतिअनुसार नै ढल्केबरमा सय एमभिए क्षमताको ट्रान्सफर्मर जडान कार्य अन्तिम चरणमा पुगेको छ । सो क्षमताको ट्रान्सफर्मरबाट ९० मेगावाट आयात गर्न सकिन्छ ।

भारतीय पक्षले अर्को ट्रान्सफर्मर व्यवस्था गरेर थप ९० मेगावाट विद्युत् उपलब्ध गराउने यसअघि नै जानकारी गराएको छ । प्रसारण लाइन सम्पन्न भएपछि तत्काल एक सय ३२ केभीमा विद्युत् प्रवाह गराएर प्रसारण लाइनको क्षमता परीक्षण गरिनेछ । सो प्रसारण लाइनबाट १ हजार २ सय मेगावाट विद्युत् आयात तथा निर्यात गर्न सकिन्छ ।

४ सय केभी क्षमताको सो अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पिटिसिएन) ले गरिरहेको छ । कुल १ सय २९ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण करिब १५ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । त्यसमा ३ सय ५४ टावर निर्माण भएका छन् ।

नेपालतर्पm १ अर्ब ५० करोड लागतमा ४१ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भए पनि आन्दोलनका कारण केही लागत बढ्ेको बताइएको छ । नेपालतर्पm करिब १क सय १५ टावर निर्माण अन्तिम चरणमा छ ।

प्रसारण लाइन निर्माणको काम भारतको टाटा इञ्जिनियरिङले गरिरहेको छ । नेपाली भू–भागमा पर्ने प्रसारण लाइन निर्माणका लागि स्थापना भएको पिटिसिएन कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ६४ प्रतिशत, पावर ग्रिड भारतको २६ प्रतिशत तथा आइएल एन्ड एफएस इनर्जी सर्भिसेजको १० प्रतिशत सेयर छ ।

यसैगरी भारतीय भूमिमा पर्ने ८८ किलोमिटर प्रसारण लाइनको निर्माण ‘क्रस बोर्डर’ पावर ट्रान्समिसन कम्पनी (सिपिटिसी) ले गरेको हो । भारततर्पm कुल २ सय ३९ टावर निर्माण भइसकेको छ । सिपिटिसीमा पावर ग्रिड भारतको २६ प्रतिशत, सतलज जलविद्युत् निगमको २६ प्रतिशत, आइएल एन्ड एफएस इनर्जी सर्भिसेजको ३८ प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत सेयर छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय