नयाँ वर्षको पूर्वसन्ध्यामा युरोपभर कडा सुरक्षा

ब्रसेल्स, १६ पुस । नयाँ वर्षको पूर्वसन्ध्यामा सधैँजसो आयोजना गरिने कार्यक्रम यसवर्ष ब्रसेल्समा आतंककारी हमलाको त्रासका कारण रद्द गरिएको समाचार छ । प्राप्त समाचारमा नयाँ वर्षको पूर्वसन्ध्यामा बिहीबार राति हुन लागेका आतिसबाजीलगायतका कैयौँ कार्यक्रम रद्द गरिएको जनाइएको छ ।

ब्रसेल्समा पनि विगत लामो समयदेखि आतंकवादी हमलाको त्रास बढेको बताइएको थियो । गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी हमलाका कारण ब्रसेल्समा पनि त्रास बढेको हो । सो हमलाको मुख्य योजनाकार ब्रसेल्समा बस्ने गरेको तथ्य पछि खुलेको थियो । जसका कारण त्यसपछिका दिनमा ब्रसेल्समा व्यापक मात्रामा सुरक्षा सतर्कता अपनाउने गरिएको छ ।

यस आक्रमणको त्रास अहिले पनि कायमै रहेको बताइन्छ । जसका कारण बेल्जियममा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । ब्रसेल्सका मेयर युभान मायुरले भने, ‘गृह मन्त्रालयको समेत समन्वय र सल्लाहमा हामीले बिहीबार साँझका लागि कुनै पनि कार्यक्रमको आयोजना गरेका छैनौँ ।’ तर क्रिस्मस बजारका साथै होटल रेस्टुरेन्ट भने खुला नै रहने र ती बजार तथा पसलहरुमा पनि सुरक्षाका कडा र भरपर्दा मापदण्ड अपनाउने जानकारी पनि उहाँले दिनुभयो । नयाँ वर्षको स्वागतका लागि आयोजना हुने कार्यक्रमहरुमा यस्ता आक्रमण हुनसक्ने आशंकामा राजधानी ब्रसेल्समा प्रहरीले सुरक्षा खानतलासी गर्ने गरेको छ ।

यसै क्रममा यस्तो आक्रमणका लागि तयारी गरेको आशंकामा बुधबार रातिमात्र दुई जना संकास्पद व्यक्तिलाई पक्राउ गरिएको थियो । सो पक्राउपछि सरकारले नयाँ वर्षका कार्यक्रम नगर्ने भन्दै हालका लागि आयोजित यस्ता सबै कार्यक्रम पनि रद्द गरिएको थियो । नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि १३४ जनाको ज्यान गएको थियो ।

सो आक्रमणको योजना युरोपका विभिन्न देशमा गरिएको तथ्य अनुसन्धानका क्रममा खुलेको छ । साथै आतंककारी संगठन आइएसले पनि युरोपका कतिपय देशलाई लक्ष्यगरेर हमला गर्ने चेतावनी दिँदै पनि आएका छन् । जसका कारण बेल्जियम बाहेकका युरोपका अरु पनि कैयौँ देशमा सुरक्षा सतर्कता अपनाउने गरिएका समाचार आइरहेका छन् ।

प्रतिक्रिया