समस्या : आप्रवासी र आतंकवाद

anchor_main_photoकाठमाडौं, १६ पुस । सन् २०१५ युरोपका लागि नफापेको वर्षको रूपमा रहन पुग्यो । यो वर्षभर विशेषगरी आतंकवाद र आर्थिक मन्दीजस्ता समस्यासँग जुध्दैआएको युरोपका लागि अझ ठूलो टाउको दुखाइको विषय बन्यो आप्रवासी समस्या । यसले युरोपका अधिकारी तथा नीति निर्मातालाई पनि युरोपको सिंगो संरचनामा नै पुनः एकपटक सोच्न बाध्य बनाएको छ ।

राष्ट्रसंघले केही दिनअघि एक प्रतिवेदन सार्वजनिक गरी यो वर्ष गृहयुद्ध र विभिन्न कारणले मध्यपूर्व र अफ्रिकाबाट ६ करोड व्यक्ति आफ्नो वासस्थानबाट विस्थापित भएको जनाएको छ । यो संख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी व्यक्ति विस्थापित भएको मानिएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयले केही दिनअघि सार्वजनिक गरेको विवरणअनुसार सन् २०१५ मा मात्र १० लाखभन्दा बढी आप्रवासी शरणार्थीका रूपमा युरोप प्रवेश गरे । तीमध्ये अधिकांश भूमध्यसागरको बाटो हुँदै प्रवेश गरेका थिए । आन्तरिक राजनीतिक विद्रोह, गृहयुद्ध, जनताको प्रजातन्त्रको मागप्रति शासकहरूको कडा दमनका साथै आतंकवादी क्रियाकलापका कारण विभिन्न मुलुकबाट ठूलो मात्रामा विस्थापित भई युरोप प्रवेश गर्ने क्रम सन् २०१५ मा निकै बढ्यो । यसका कारण यसअघिका अन्य कयौँ समस्यालाई पछिपार्दै युरोपकोे मुख्य समस्याको सूचीमा आप्रवासी समस्या नै दर्ज हुन पुग्यो ।

धेरैका लागि युरोप सपनाको नगरी हो । रोग, भोक र शोकले सताइएका युद्धग्रस्त क्षेत्रका वासिन्दाका लागि शान्त युरोप सपनाको गन्तव्य बन्नु स्वभाविक पनि हो । तर युरोपमा उज्जल भविष्यको खोजीमा बर्सेनि आउने लाखौँ आप्रवासीको अवस्था सोचेको भन्दा निकै कष्टकर रहेको छ । युरोपको चिसोमा खुला आकासमा लगभग त्रासमै जीवन बिताउनुपर्ने बाध्यताले गैरकानुनी आप्रवासीलाई सधै पिरोलेको हुन्छ ।

एकातिर युद्धग्रस्त मुलुकका नागरिकको युरोप प्रवेशको चाहना र अर्कोतिर ती नागरिकबाट पैसा असुल्दै मानवतस्करले युरोप पठाउन जोखिमपूर्ण बाटो अबलम्बन गर्दा यो समस्याले झनै विकराल रूप लिँदै गएको हो ।

अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम)ले पनि यो वर्ष समुद्र र जमिन भएर युरोप प्रवेश गर्ने आप्रवासीको संख्या १० लाख नाघेको जनाएको छ । जसमध्ये समुद्री बाटो भएर आउने आप्रवासी करिब ८ लाख तथा बाँकी स्थलमार्ग र हवाइमार्गबाट प्रवेश गरेको उसले जनाएको छ । आप्रवासीहरू अधिकांश टर्कीबाट ग्रिस हुँदै युरोपका अन्य मुलुक छिर्ने गरेको आइओएमले जनाएको छ ।

आइओएमले सन् २०१५ मा ३ हजार ६ सय ९५ आप्रवासीको समुद्रमा डुबेर मृत्यु वा बेपत्ता भएको जनाएको छ । समुद्री बाटो भएर युरोप पस्दा मृत्यु हुनेमध्ये अधिकांश (दुई हजार ८ सय ८९)को उत्तर अफ्रिकाबाट इटली आउने क्रममा ज्यान गएको थियो । त्यसैगरी, टर्कीबाट ग्रिस आउने क्रममा ७ सयभन्दा बढीको मृत्यु भएको आइओएमले जनाएको छ ।

केही महिनाअघि फ्रान्स र ब्रिटेनलाई जोड्ने सुरुङमार्ग हुँदै ब्रिटेन प्रवेश गर्न खोज्ने २ हजार आप्रवासीलाई एकैरातमा पक्राउ गरिएको फ्रान्सको प्रहरीले जनाएको छ । फ्रान्समा रहेका गैरकानुनी आप्रवासीमाथि यसवर्ष प्रहरीले व्यापक धरपकड ग¥यो । आप्रवासीले अवैधरूपमा बनाएका टेन्ट नस्ट गर्ने कार्यलाई प्रहरीले निरन्तरता दिइरहेका छन् । युरोप छिर्नका लागि अपनाउनुपर्ने जोखिमपूर्ण यात्रा पार गरेर युरोप छिरिसकेपछि पनि आप्रवासीले त्यहाँ पक्राउ परिने डरले खुला चौरमा रात बिताउनुपर्ने बाध्यताजस्ता कठिनाइको सामना गरिरहनुपरेको छ । जसका कारण पनि विभिन्न मुलुकबाट युरोप प्रवेश गर्न खोज्ने आप्रवासीको युरोप नपुग्दै बाटोमै मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ । साना डुंगामा क्षमताभन्दा बढी व्यक्ति राखेर गरिने सामुद्रिक यात्रा, स्थलमार्गमा काँडेतारका बीचबाट नाका प्रवेश गर्न खोज्दा होस वा मालबहाक सवारीसाधनभित्र निस्सासिएर यात्रा गर्ने जस्ता कार्यले धेरै आप्रवासीको यात्राको क्रममा बाटोमै मृत्यु हुने गरेका समाचार पनि आउने गरेका छन् ।

गत अप्रिलमा आप्रवासी बोकेका ५ डुंगा जब भूमध्यसागरमा पल्टिए त्यसमा सवार २ हजार व्यक्तिमध्ये १ हजार २ सयभन्दा बढी व्यक्तिको मृत्यु भयो । ठूलो संख्यामा मानवीय हताहतिपछि यो घटनाले युरोपमा आप्रवासी समस्याबारे बहस सिर्जना ग¥यो । त्यस्तै गत २ सेप्टेम्बरमा भूमध्यसागरको बाटो प्रयोग गरी डुंगामार्फत आफ्ना आमा, बुबा र दाजुभाइसँगै युरोप जाँदै गर्दा मृत्यु भएका सीरियाका तीन वर्षीय बालक अलान कुर्दीको तस्बिर निकै चर्चित भयो । टर्कीको समुद्र किनारमा घोप्टो परेर मृत अवस्थामा भेटिएको उनको शवको तस्बिरले विश्वभर सनसनी मचायो । ती बालकको परिवारले आफ्नो आफन्त रहेको क्यानडाका लागि आश्रय मागेको थियो तर त्यो स्वीकृत नपाएपछि उनीहरू मानवतस्करलाई ५ हजार ८ सय ६० डलर दिएर डुंगा प्रयोग गर्दै सामुद्रिक यात्रा गरेका थिए । मुस्किलले आठजना अट्ने डुंगामा १६ जना हालेर यात्रा गरेका कारण उनीहरूको डुंगा डुबेको थियो । दुर्घटनामा बालकसँगै आमा रेहना र ५ वर्षीय दाइ घलिबको मृत्यु भएको थियो भने बुबा अब्दुल्लाह मात्र बाँच्न सफल भएका थिए ।

त्यो तस्विर सार्वजनिक भएसँगै युरोपमा आप्रवासीलाई सहजरूपमै प्रवेश दिनुपर्छ भन्ने मत चर्को रूपमा उठ्यो र विभिन्न स्थानमा प्रदर्शनसमेत भए । योे घटनापछि धेरै युरोपेली राष्ट्रहरूले आफ्नो आप्रवासीसम्बन्धी नीतिमा केही खुकुलो प्रावधान ल्याए । तर, त्यो उत्साह धेरै टिक्न सकेन ।

आप्रवासीलाई युरोपमा शरण दिनुपर्छ र दिनुहुन्न भन्ने बहसले युरोप तरंगित भइरहेको छ । आप्रवासीको बढ्दो संख्याले युरोपेली संघ (इयू)मा ठूलो राजनीतिक विवाद निम्त्याएको छ । केही मुलुकले इयूको खुला सीमा नीति (सेन्जेन क्षेत्र)लाई उल्लंघन गरेर आफ्ना सीमामा काँडेतार राखेका छन् भने केहीले सीमा नियन्त्रण बढाएका छन् । इयूले यसैवर्ष आप्रवासी आउने मुख्य बिन्दु ग्रिसमा ‘फ्रन्टेक्स’ सीमा सुरक्षाकर्मीको संख्या बढाउने सहमति जनाएको थियो । इयु राष्ट्रहरू कहिले शरणार्थीका लागि छुट्टै सेन्टर निर्माण गर्नुपर्ने त कहिले यसको साझा नीति तय गर्नुपर्नेजस्ता विषयको बहसमा लागेका छन् ।

जर्मनीका चान्सलर एन्जेला मार्केलले आफ्नो शासनकालको सबैभन्दा ठूलो समस्याको रूपमा आप्रवासी रहेको अभिव्यक्ति दिनुले पनि यो समस्याको गहिराई सहजै बुझ्न सकिन्छ । उनले आप्रवासीको समस्या ग्रिसको आर्थिक संकटभन्दा पनि ठूलो समस्या भएको बताएकी छन् ।

इयूका नेताहरू मानवतस्करविरुद्ध सैनिक कारवाही गर्नुपर्ने विषयमा समेत छलफल गरीरहेका छन् । इटालीका प्रधानमन्त्री माटेओ रेन्जीले समुद्री यात्रा थाल्नुअघि नै मानव तस्करले प्रयोग गर्ने डुंगाहरू नष्ट गर्ने म्यान्डेटका निम्ति अन्य युरोपेली राष्ट्रहरूसँग आग्रह गरेका छन् । जसमा फ्रान्सलगायतका देशले समर्थन गरेका छन् । युरोपेली राष्ट्रहरूले मानवतस्करविरुद्ध आफ्नो मुलुक छिर्ने नाका र भूमध्यसागरमा गस्ती, पेट्रोलिङ, अपरेसन गर्न संयुक्त संयन्त्रको निर्माण गरिरहेका छन् ।

युरोपेली क्षेत्रमा ठूलो आप्रवाशको लर्काेले अर्थतन्त्र र सामाजिक संरचना नै खलबलाउने चिन्ता बढेको पाइन्छ । विश्वभर शरणार्थी अधिकार, आप्रवासी कामदारको अधिकार र मानवअधिकारको चर्को वकालत गर्दै आएको युरोप अहिले आएर भने आपैmँले शरणार्थी अधिकार दिनुपर्ने परीक्षामा सामेल हुनुपरेको छ । उता संयुक्त राष्ट्रसंघको हालैको एक अध्ययनले पनि सन् २०१६ मा आप्रवासी समस्याले अझै विकरालरुप लिने देखाएको छ । त्यसैले आप्रवासनको समयस्या अझै केही वर्ष युरोपको प्रमुख टाउको दुखाइको विषय बन्ने संकेत देखिएको छ । (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया