पहिलो पुस्ताकी महिला जुडो खेलाडी आशा

judo aasha-ogha7काठमाडौं । ५० को दशक नेपाल मार्सल आर्टिस्टहरूको देशको रूपमा छबी बनाउन सफल भएको थियो । ४० को दशकमा नेपालमा मार्सल आर्टले व्यापकता पाउन थालेपछि यसको असर ५० को दशकमा देखापरेको हो । ४० को दशकमै नेपाली महिलाहरूको मार्सल आर्ट क्षेत्रमा व्यापक उपस्थिति रह्यो । यसरी उपस्थिति देखाउने क्रममा ४० को दशकमै आशा ओझा नेपाली मार्सल आर्टमा उदाइन् ।

०४१ मा नेपाल प्रहरीबाट प्रतिनिधित्व गर्ने १८ वर्षिया आशा जुडोमा प्रवेश गरिन् । केही टिनएजरहरू यो खेलमा प्रवेश गरेपछि नेपालमा बिस्तारै महिलामा पनि यो खेलको प्रभाव बढ्न थाल्यो । महिलाको पनि राष्ट्रिय च्याम्पियनसिप हुन थालेपछि केही समयपछि आशा सुरुआतमा ४७ किलो तौल समूहमा राष्ट्रिय च्याम्पियन भइन् । पछि यो क्रम बढ्दै गएर ५० किलो र ५५ किलोमा पनि कायम रह्यो । उनी मिहिनेत गर्दै गइन् । सफलताहरूले उनलाई पछ्याउँदै गयो ।

यसै क्रममा सन् १९८९ मा दिल्लीमा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा उनले काश्यपदक जितिन् । लखनउमा भएको च्याम्पियनसिप उनले गुमाइन् । घरेलु प्रतियोगिताको हकमा ०५१ मा नेपालगञ्जमा भएको छैटौँ राष्ट्रिय जुडो प्रतियोगिताको स्वर्णपदक उनका लागि महत्वपूर्ण रह्यो । नेपाली खेलकुदका केही वातावरण असहज भएको पनि महसुस उनलाई नभएको होइन । तथापि निरन्तर खेलमै लागिरहेकी उनको जीवनको सम्पूर्ण अंग अन्ततः जुडोसँग नै जोडिन पुग्यो । साफ स्वर्णधारी रमेस बस्ेनतसँग उनी वैवाहिक जीवनमा बाँधिएको दुईदशक पार गरिसकेको छ । यसैकारण उनलाई जीवनमा जुडोले नै सबै चिज दिलाएको अनुभव हुन्छ ।

नुवोकोट जिल्लाको नामबाट उनको परिचय खुलेको हो । संयोगवश नेपाली खेलकुद, त्यस पनि मार्सल आर्टमा अत्यधिक महत्वपूर्ण उपलब्धी दिलाउने नुवाकोटकै आशाको बाल्यकाल भने अस्थिर रह्यो । बाबु भारतीय सेनामा जागिरे भएका कारण बाल्यकालका धेरै समय उतै बिताएकी थिइन् ।

काठमाडौं आएपछि सिद्धीगणेश स्कुलमा अध्ययन, प्रहरीको जागिर र जुडो खेल ३ वटै सँगै लैजान सफल उनी खेलाडीको रूपमा यावत सफलतापछि बीचमा जुडोबाट टाढा भएकी थिइन् । बिदसिएकी उनी नेपाल फर्केपछि फेरी जुडोमा सक्रिय भइन् । ०६० को दशकको आधा समय सकिएपछि उनी फेरी जुडोमा सक्रिय भइन् । यसपछि उनले दोस्रो डान ग्रेडिङ गर्नुका साथै राष्ट्रिय रेफ्रीको प्रशिक्षण लिइन् । लगातार प्रतियोगिता कन्डक्टमा व्यस्त उनी थप कोर्ष गर्दै अन्तर्राष्ट्रिय रेफ्री बन्ने चाहनामा छिन् ।

नेपाली जुडोको यो लामो इतीहासमा थुप्रै स्टारको उदय भएको छ । थुप्रै सफलता नेपाली जुडोले पाएको छ । उल्लेख्य जनशक्ति पनि छ । यसमा महिला जुडोकर्मीको भूमिका पनि उत्साहजनक छ । परन्तु, नेपालमा जुडो खेलको विकासक्रमको चर्चा गर्दा पहलो पुस्ताकी महिला जुडो खेलाडी आशा बिर्सन नहुने नाम बनेकी छिन् । (सौस)

प्रतिक्रिया