गाँउगाउँमा बिऊ बैंक

बाजुरा, ५ पुस । स्थानीय बिऊको वंशानुगत संरक्षण तथा कृषकहरूको कृषि अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ एचआसी र पीसबिन बाजुराको सहयोगमा गाउँगाउँमा बिऊ बैंक सञ्चालनमा आएको छ । बाजुराको कोल्टी क्षत्रमा पर्ने वाई – २ जेरा र कोल्टी –४ सिराडामा बिऊ बैंक सञ्चालन भएपछि स्थानीय कृषकलाई राहत मिलेको छ । यो सँगै त्यहाँका अधिकांश कृषकले धान, गहँु, मकैलगायत स्थानीय स्तरमा उत्पादन हुने अन्नबालीको बिऊ नपाउँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यताबाट छुटकारा पाउने भएका छन् ।

बिऊ नपाउँदा हरेक वर्ष आफ्नो जमिन बाँझै राख्ने गरेको तर गाउँमै बिऊ बैंक स्थापना भएदेखि आफूलाई मुगु, हुम्लाजस्ता नजिकका जिल्लातिर जानु नपरेको बताउछन् वाई २ जेराका वीरेन्द्र शाही । उनी भन्छन्, ‘पहिले गाउँमा पहिले बिऊ पाइन्नथ्यो तर आज भोली चाहिए जति बिऊ पाएका छौँ ।’ पैसा नभएका कृषकलाईसमेत बिऊ बैंकले बिऊ उपलब्ध गराएको छ । स्थानीय किसानले वैशाखमा बिऊ लिएपछि कात्तिकमा पैसा तिर्ने गरेका छन् । कात्तिकमा लिए बिऊ बैंकलाई रकम जेठमा बुझाउनु पर्ने छ । एक पाथी बिऊ लिने किसानले बिऊ बैंकलाई एक पाथी दुई माना तिर्ने गरेका छन् ।

गाउँमा बिऊ बैंक स्थापना भएपछि निकै राहात भएको कोल्टी ४ सीराडीकी तारा बोगटीले बताएका छन् । ‘पहिले यो गाउँका कृषकले बिऊ नपाउँदा सवै जग्गा बाँझै राख्ने गरेका थिए, कृषिमा बिऊ थोरै मात्र पाइन्थ्यो तर आज भोली अवश्यकताअनुसार बिऊ गाउँमै पाएका छौँ’, बोगटीले भने । त्यसै गरी सोही गाउँकी गौंथली कामीले गाउँमा तीन वर्षदेखि सञ्चालनमा रहेका बिऊ बैंकले आसपासका कृषकलाई समेत राहात दिएको बताउछिन् ।

स्थानीय बिऊ बैंकबाट ल्याएको बिऊ बढी फल्ने र स्थानीय जातबाट उत्पादन गरिएको हुँदा बिऊ बैंकबाट बिऊ खरीद गर्नेको संख्यामा बढेको वाई तीन जेराका हरियाली कृषक समूहका सदस्य जनसरा शाहीले बताए । उनी भन्छन्, ‘सुकाढीक गएर बिऊ किनेर ल्याउथ्यौँ तर आजभोलि सुकाढीकका कृषकले हामीकहाँबाट लाने गरेका छन् ।’

प्रतिक्रिया