फेरि बढ्यो लोडसेडिङ

oकाठमाडौं, २ पुस । नदीमा पानीको प्रवाह घटेका कारण विद्युत् उत्पादनमा कमी आएका कारण नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङकोे समय बढाएको छ ।

प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी सातामा ७० घन्टाको दरले विद्युत्भार कटौती गर्न लागेको हो । नेपालमा हाल ४३ जलविद्युत् आयोजनाबाट ७ सय १८ मेगावाट उत्पादन हुँदै आए पनि सबै आयोजना नदी प्रवाहमा आधारित भएका कारण विद्युत् उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको छ ।

प्राधिकरणका आयोजनामध्ये कुलेखानी पहिलो र दोस्रो आयोजनाको कुल क्षमता ९२ मेगावाट भए पनि त्यसबाट विद्युत् उत्पादन गरिएको छैन । निजी क्षेत्रले उत्पादन गरिरहेका मध्ये सय मेगावाटभन्दा बढी विद्युत् भूकम्पका कारण राष्ट्रिय प्रसारण लाइनबाट विच्छेद भएको छ ।

प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल ३ सय मेगावाट मात्रै प्रवाह भइरहेको छ । भारतबाट हाल विभिन्न स्थानमा २ सय ३० मेगावाट विद्युत् आयात भइरहेको छ । नेपालभित्र उत्पादित र भारतबाट आयात गरिएको विद्युत् गरी कुल ५ सय २० मेगावाट मात्रै प्रवाह भइरहेको छ । भारतको अघोषित नाकाबन्दीपछि खाना पकाउने समयमा विद्युत्को अत्यधिक माग बढेपछि विद्युत्को माग १ हजार ८ सय मेगावाट पुगेको छ ।

प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भूवनकुमार खत्रीका अनुसार नदीमा पानीको सतह घटेको र माग अनुसार विद्युत् आपूर्ति गर्न नसक्दा लोडसेडिङ थप गरिएको हो । नयाँ तालिका अनुसार अब दैनिक १० घन्टा लोडसेडिङ हुनेछ । यसअघि प्राधिकरणले साढे ८ घन्टा आधिकारिक रूपमा विद्युत् कटौती गर्दै आएको भए पनि ट्रान्सफर्मर र कन्डक्टर जल्दा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा असीमित कटौती हुँदै आएको छ ।

विद्युत्को माग बढी हुँदा प्राधिकरणको प्रसारण प्रणालीमा नै समस्या थपिएको थियो । राजधानीभित्र र बाहिर गरी हालसम्म ५ सय ३० भन्दा बढी ट्रान्सफर्मर जलिसकेको छ । नागरिकले खाना पकाउने समयमा विद्युत् उपलब्धता होस् भनेर बिहान बेलुकाको समयमा भने विद्युत्भार कटौतीको तालिका भने मिलाइएको छ ।

प्रमुख खत्रीका अनुसार १ दिन बिहान र साँझमा भने खाना पकाउने समयमा विद्युत् उपलब्ध हुने छैन, अन्य दिनमा भने सकेसम्म उपलब्ध गराउने प्रयास गरिएको छ । ट्रान्सफर्मरमा अत्यधिक समस्या देखिँदा प्राधिकरणको ट्रान्सफर्मर मर्मत केन्द्र लैनचौरमा मर्मतसम्भार गर्न भ्याइनभ्याइ भएको छ ।

मर्मतसम्भार केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार मर्मतका लागि ल्याइएका ट्रान्सफर्मर मर्मत गर्न जनशक्तिको समेत अभाव हुँदा तोकिएकै समयमा फिर्ता गर्न समेत सकिएको छैन । उनले दैनिक एक दर्जनभन्दा बढी ट्रान्सफर्मर मर्मतका लागि आउने गरेको बताए ।

प्राधिकरणका अनुसार कतिपय स्थानमा ट्रान्सफर्मर बढी क्षमताको राख्दा कन्डक्टर र प्रसारण लाइनमा बढी भार पर्दा समस्या थपिएको छ । सामान्यतया १५ केभिएदेखि दुई सय केभिएसम्मको ट्रान्सफर्मर प्रयोगमा रहेको छ । बढी भार परेर जलेका ट्रान्सफर्मर, कन्डक्टर तथा फ्युज मर्मतको प्रयास जारी रहेको र राजधानीका सबै वितरण केन्द्रले मर्मत तथा क्षमता अभिवृद्धि गरिरहेका कारण केही दिनमा नै समस्या समाधान हुने र तोकिएको समयमा विद्युत् उपलब्ध गराउन कुनै समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको भनाइ छ । प्राधिकरणसँग मौज्दात रहेको ट्रान्सफर्मर तथा कन्डक्टर प्रयोग गरेर भए पनि विद्युत् उपलब्ध गराउने प्रयासमा लागिरहेको उनले बताए ।

प्रतिक्रिया