३ हजार बढी तालिवान मारिए

पेसावर, १ पुस । पाकिस्तानको पेसावरस्थित एक विद्यालयमा तालिवानहरूले अन्धाधुन्ध गोली हानी बालबालिकाको हत्या गरेको बुधबार वर्षदिन पूरा भएको छ । त्यस आक्रमणमा परी १५० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसमा प्रायः बालबालिकाहरू नै परेका थिए । उक्त क्रुर आक्रमणमा परी कम्तीमा पनि १३४ जना बालबालिका मारिएका थिए ।

गत वर्षको डिसेम्बर १६ मा सो त्रासदीपूर्ण घटना भएको थियो । आज सो घटनाको एकवर्ष पुगेको छ । पाकिस्तानी नागरिकले बुधबार सो त्रासदीको स्मरण गरेका छन् । घटना पछि पाकिस्तानी सेनाले सो क्रुर आक्रमणपछि पाकिस्तानमा तालिवानहरूको खोजी र कारबाही अभियानलाई सशक्त बनाएको थियो ।

त्यस यताको कारबाहीका क्रममा कम्तीमा पनि ३ हजार ४०० जना तालिवान मारिएको जनाएको छ । सेनाले बालबालिकामाथि भएको सो हमलापछि तालिवानको खोजी अभियानलाई सशक्त बनाएको जनाएको हो ।

त्यसैगरी सो कारबाही र पाकिस्तानमा सेनाले गरेको जवाफी कारबाहीका कारण त्यस यता तालिवानहरूको धाकधम्की भने घटेको जनाएको छ । सेनाले गएको एक वर्ष यताको अवस्थामा तालिवानहरू कमजोर भएको र उनीहरूको क्रियाकलापलाई पाकिस्तानी सेनाले सुरक्षा चुनौतीका रूपमा कमैमात्र लिन थालेको जनाएको हो ।

उक्त हमलालाई आतङ्कवादी क्रियाकलापको रूपमा लिई सरकारले त्यसमा सम्लग्नहरूमध्ये केहीलाई मृत्युदण्डसम्मको सजाय दिएको छ । पाकिस्तान सरकारले यसअघि पाकिस्तानबाट मृत्युदण्डको सजाय खारेज नै गरेको भएपनि सोही घटनापछि पुनः सुरु गरेको हो ।

तथापी मारिएका बालबालिकाका आफन्तहरूले उक्त घटनाको सत्यतथ्य छानबीनका लागि एकजना वरिष्ठ न्यायाधीशको संयोजकत्वमा छानबीन समिति गठन गर्न माग गरेका थिए । सो मागभने सरकारले पूरा भएको छैन ।

सोआतङ्कवादी हमलामा सम्लग्नताको प्रमाणका आधारमा सरकारले केही व्यक्ति पक्राउ गरेर अनुसन्धान पनि थालेको छ । सरकारले सबैजनालाई पक्राउ गरिसकेको जनाइएको छ । सोही घटनामा सम्लग्न भएको आधारमा पक्राउ परेकामध्ये चारजनालाई यही डिसेम्बर २ मा मृत्युदण्ड दिइसकेको छ । त्यस्तै एकजनालाई भने आजन्म काराबासको सजाय सुनाएको छ ।

त्यस्तै बाँकी रहेका अरू दोषीलाई पनि मृत्युदण्डको सजायको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पाकिस्तानी सरकारले आफ्ना सन्तान गुमाएका अभिभावकहरूलाई धैर्य गर्न पनि आग्रह गरेको छ ।

पाकिस्तानी सेनाले दिएको जानकारीअनुसार सो आक्रमणपछिको कारबाहीका क्रममा अफगानिस्तानको सीमा क्षेत्रतर्फ बनाइएका पाकिस्तानी भूभागका तालिवानका करिब ९०० वटा आश्रयस्थल पनि ध्वस्त बनाइएको छ ।

प्रतिक्रिया