सीमामा फस्टाउँदै हुण्डी

काठमाडौं, २९ मंसिर । भारतीय रुपैयाँको अभावसँगै सीमावर्ती क्षेत्रमा हुन्डीको अवैध कारोबार भने फस्टाउँदै गएको छ । अभावका कारण हुन्डीमार्फत दैनिक २० देखि २५ करोड भारतीय रुपैयाँको कारोबार हुने गरेको सम्वद्ध व्यवसायीको दाबी छ । वीरगञ्जउपमहानगरपालिका क्षेत्रभित्र मात्र करिब ३ दर्जन हुन्डी व्यवसायी छन् । ती व्यवसायीले भारतका विभिन्न स्थानमा १ लाख भारतीय रुपैयाँ उपलब्ध गराएबापत नेपाली ७ देखि १० हजारसम्म कमिसन लिने गरेको व्यवसायीको भनाइ छ ।

बजारमा भारतीय रुपैयाँको अभाव भएकाले वीरगन्जका उद्योग व्यावसाय मात्र होइनन, शिक्षा र स्वास्थ्यजस्ता अति आवश्यक सेवासमेत प्रभावित भएका छन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली स्वास्थ्य उपचार, भ्रमण, तीर्थाटन र शिक्षा आर्जन लगायतका दैनिक कार्यका लागि भारततर्फ जानुपरेकाले उनीहरूलाई भारतीय रुपैयाँको आवश्यकता बढी पर्ने गर्छ । नेपाल राष्ट्र बैंकले भारतमा उपचार गराउन जाने बिरामी र तीर्थयात्री लगायतलाई आवश्यक कागजातका आधारमा न्यूनतम मात्रामा भारतीय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । अरू बेला नागरिकताका आधारमा २ हजार ५ सय भारतीय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यो रकम अत्यन्त न्यून हो । भारतीय रुपैयाँका अभावमा उनीहरूले हुन्डीमार्फत आफ्नो आवश्यकतालाई पूरा गर्दै आएका छन् ।

त्यस्तै उद्योगी व्यवसायीलाई नगद भारतीय रुपैयाँ नभई बैंक ड्राफ्टमार्फत मात्र उपलब्ध गराउँछ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया बैंकमार्फत मात्र नभई भारतीय पक्षसँग कतिपय व्यापार नगदमा पनि हुने गरेको बताउँछन् । त्यस्तो अवस्थामा व्यवसायीले हुन्डीमार्फत भारतीय पक्षलाई भुक्तानी दिनुपर्ने बाध्यता हुने गरेको उनको भनाइ छ ।

भारतीय रुपैयाँ सटही सुविधालाई कठिन बनाइएका कारण भारतमा स्वास्थ्य उपचार, तीर्थाटन र शिक्षाआर्जन गर्न जाने नेपालीका लागि यी सेवा उपयोग गर्नमा कठिनाइ भइरहेको वीरगञ्जउद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश सिकारिया बताउँछन् । भारतीय रुपैयाँँको अभावले आम उपभोक्ता र साना तथा मझौला व्यापार एवम् व्यवसाय गर्ने प्रभावित भएका छन् ।

सीमावर्ती क्षेत्रमा देखिएको भारतीय रुपैयाँँको अभावले सहजरूपमा व्यवसाय गर्न सक्ने वातावरण निर्माण हुन सकिरहेको छैन् । विशेषगरी भारतीय सामानमा आधारित वीरगञ्जको उद्योग व्यवसाय भारतीय रुपैयाँँका अभावमा बढी प्रभावित भएको छ । भारतीय रुपैयाँँको अभावसंँगै भारतीय बजार रक्सौलका व्यपारीले आफूखुसी नेपाली रुपैयाँँको अवमूल्यन समेत गर्ने गरेका नागरिक समाजका अगुवा अधिवक्ता पन्नालाल गुप्ता बताउँछन् ।

नेपाल राष्ट्र बैंकले भारतीय १ सय रुपैयाँँको विनियमय दर १६० नेपाली रुपैयाँँ कायम गरेको भए पनि रक्सौलका व्यापारीले नेपाली उपभोक्ताबाट १ सय ६५ देखि १ सय ७० रुपैयाँँसम्म असुल्ने गरेका छन् । रक्सौलमा नेपाली रुपैयाँँको अवमूल्यनसँगै नेपाली र भारतीय उपभोक्ताका लागि बजार मूल्यसमेत फरकफरक तोक्ने गरेका छन् ।

सामान खरिद गर्दा नेपाली उपभोक्ताबाट नेपाली रुपैयाँँ लिए त्यसको विनियमय दर ती व्यापारीले आफैं तोक्ने गर्छन । एउटै पसलमा उही वस्तुको फरक फरक मूल्य नेपाली उपभोक्ताले तिर्नु परिहरहेको छ । विरोध गर्दा उनीहरूले भारतीय रुपैयाँँ माग्ने गर्छन् । भारतीय रुपैयाँँको अभावमा नेपाली उपभोक्ताले भारतीय व्यापारीले तोकेको विनिमय दरमा नै नेपाली रुपैयाँँ दिने गर्छन् ।

कतिपयले भारतीय रुपैयाँँ जम्मा गरेर बढी मूल्यमा बेचेर लाखौं रुपैयाँँ कमाउने गरेका छन् । अर्कोतिर भारतीय रुपैयाँ सटही गर्ने अनुमती पाएका सटही काउन्टरलेसमेत भारतीय रुपैयाँ सटही गर्दा उपभोक्ताबाट १ सय रुपैयाँमा ५ रुपैयाँभन्दा बढी कमिसन लिने गरेका छन् । तर सम्बन्धित निकायले त्यस्तो सटही काउन्टरका सञ्चालकलाई कानुनको दायराभित्र ल्याई कारबाहीसमेत गर्न सकेको देखिदैन । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने मुलुकमा थप आर्थिक अराजकता ल्याउन सक्ने दाबी उद्योगी व्यवसायीको छ ।

बजारमा भारतीय रुपैयाँको अभाव भएयता खरिद दर ह्वात्तै बढेको छ । प्रतिसयकडा ५ देखि ८ रुपैयाँसम्म कमिसनमा भारतीय रुपैयाँ खरिद भएको पाइएको छ । भारतीय रुपैयाँ सटही गर्ने अनुमति पाएका सटही काउन्टरलाई नेपाल राष्ट्र बैंकले दैनिक २५ हजार भारतीय रुपैयाँ मात्र सटहीका लागि उपलब्ध गराउने गरेको बताइएको छ । भारतीय रुपैयाँको अभावले उत्पन्न समस्याको निराकरण गर्न र यसको सहज आपूर्तिका लागि यथाशीघ्र आवश्यक व्यवस्था मिलाउन सीमावर्ती क्षेत्रका नेपाली नागरिक र उद्योगी व्यवसायीले सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया