दिल्लीमा सिबिआइको छापा

नयाँ दिल्ली, २९ मंसिर । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको प्रशासन मुख्यालयमा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले छापा मारेको बताएका छन् । मुख्यमन्त्री केजरीवालले आफ्नो कार्यालय तथा दिल्लीको प्रशासनमाथि छापा मारिनुलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक प्रतिशोध लिनका लागि गरिएको काम भनी टिप्पणी गरे । केजरीवालले यो घटनालाई भारतीय प्रधानमन्त्रीको ‘मनोरोगग्रस्त’ राजनीतिक प्रतिशोधको उपजका रूपमा आएको प्रतिक्रिया भएको दाबी गरे ।

छापाबारे बिस्तृतमा ब्याख्या नगरिकनै सिविआईले उसका अनुसन्धान अधिकारीले दिल्ली सचिवालयअन्तर्गत केही कार्यालयहरू अनुसन्धानका लागी नियन्त्रणमा लिइएको बताएको छ । मुख्यमन्त्रीको कार्यालयका एक कर्मचारीमाथि अनुसन्धान अघि बढाएको सिविआई प्रवक्ता आरके गौरले बताए । अनुसन्धान समूहले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको नभई छानविनका लागि केही क्षेत्रमा प्रवेशमा कडाइ गरेको जानकारी गराएको छ । केजरीवालले भने केन्द्र सरकारप्रति उत्तरदायी सिबिआईको दाबी झुठो भएको बताएका छन् । उनले आफ्नै कार्यालयमा केन्द्र सरकारको मातहतमा रहेको सिबिआइले गरेको खानतलासी अर्थपूर्ण रहेको जनाएका छन् । सिबिआईले आफ्नै अफिसमा छापा मार्नु अर्थपूर्ण रहेको केजरीवालले बताएका छन् ।

प्रधानमन्त्री मोदीले हेर्न चाहेको फाइलको आफूलाई जानकारी नभएको मुख्यमन्त्रीले बताएका छन् । मुख्यमन्त्री केजरीवालले मोदीले आम आदमी पार्टी (आप) सँग राजनीतिकरूपमा प्रतिवाद गर्न नसकेपछि यो कायरता देखाएको आरोप लगाए ।

सिबिआइले भने मुख्यमन्त्रीको भनाई झुठो भएको बताएको छ । ‘मुख्यमन्त्रीको कार्यालयमा सिबिआईले छापा मारेको आरोप झुठो हो, सिबिआई यस्तो हल्लाको खण्डन गर्दछ,’ सिबिआईका प्रवक्ता देवप्रित सिंहले भने, ‘हाम्रो छानविनलाई प्रभावित गर्न यस्तो हल्ला फिँजाइएको छ, सिबिआई भ्रष्टाचारविरुद्ध नियमअनुसार कारबाही गर्न प्रतिवद्ध छ ।’

सिबिआईको छापापछि केजरिवालले दिएको बयानप्रति भारतीय जनता पार्टी (बिजेपी) आक्रामक बनेको छ । केन्द्रीय मन्त्री तथा बिजेपीका वरिष्ट नेता रविशंकर प्रसाले आम आदमी पार्टीमाथि ‘भ्रष्टारको विषयमाथि राजनीतिक गरेको’ र प्रधानमन्त्रीमाथि अमर्यादिन टिप्पणी गरेको आरोप लगाएका छन् । ‘म केजरिवालको भनाइप्रति भृत्र्सना गर्दछु,’ रविशंकर प्रसादले भने, ‘लोकप्रिय प्रधानमन्त्रीसँग केजरिवालले माफी माग्नुपर्छ ।’

रविशंकर प्रसादले पत्रकार सम्मेलनमा सिबिआईले दिल्लीका मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको भन्ने कुराको झुठो भएको बताइसकेको छ । सिबिआईले सचिव राजेन्द्र गुप्ताको कार्यालयसहित दिल्लीमा कूल १४ स्थानमा छापा मारेको हो । उनले भने, ‘राजेन्द्र गुप्ताले विभन्न सरकारी ठेक्कामा आफूनिकटका व्यक्तिहरूलाई पदको दुरूपयोग गरेर फाइदा पु¥याएका छन् । उनीमाथि भ्रष्टाचारको धेरै गम्भीर विषयहरू छन् ।’

सिबिआईले कानुनअनुसार ‘सर्च वारेन्ट’ लिएर छापा मारेको उनको दाबी थियो । ‘मलाई भन्नुहोस्, कुन कानुनमा लेखिएको छ कि सर्च वारेन्द्र जारी भएपछि कुन सचिवमाथि छापा मार्न मुख्यमन्त्रीको अनुमति लिनु जरुरी पर्छ ?’ उनले भने, ‘सचिव कुनै संवैधानिक पद होइन ।’ रविशंकरले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले प्राय भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने गरेको उल्लेख गर्दै सिबिआईले एक भ्रष्ट अधिकारीमाथि छानविन गर्नु कुनै भूल नभएको बताए ।

केजरीवाल र भारतीय प्रधानमन्त्रीलाई कटू प्रतिद्वन्द्वीका रूपमा चिनिँदै आइएको छ । उनीहरूबीच गत वर्ष भएको आम चुनाबमा वाराणासीको निर्बाचन क्षेत्रमा प्रतिस्पर्धा भएको थियो । केजरीवाललाई प्रधानमन्त्री मोदीले भारी मत अन्तरले पराजित गरेका थिए । राज्यसभा निर्वाचनमा भने मोदीको भारतीय जनता पार्टीलाई आपले अकल्पनीय बहुमतद्वारा पराजित गरेको थियो ।

प्रतिक्रिया