आयोजक प्राइम र जेभियरलाई उपाधि

prime cup basketball winnersकाठमाडौं, २५ मंसिर । आयोजक प्राइम कलेज र जेभियर इन्टरनेसनल कलेजले १३औँ प्राइम कप उच्च मावि बास्केटबल प्रतियोगिताको उपाधि शुक्रवार हात पारेका छन् ।

नयाँबजारमा भएको पुरुषतर्फको फाइनल खेलमा आयोजक प्राइमले जेभियरलाई ४०–३२ को स्कोरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । पहिलो र अन्तिम क्वाटरमा पछि परे पनि दोस्रो र तेस्रो क्वाटरको मद्दतले प्राइमले जेभियरलाई पराजित ग¥यो । पहिलो क्वाटर ६–७ ले पछि परे पनि प्राइमले दोस्रो १४–४ र तेस्रो क्वाटर १३–७ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटर ७–१४ ले गुमाएको थियो । प्राइमको जितमा सुरज खड्गीले सर्वाधिक १६ स्कोर गर्दा पराजित टिमका रोमन शाहीले ९ स्कोरको योगदान पु¥याएका थिए । प्रतियोगितामा पुरुषतर्फको मस्ट भ्यालुएबल प्लेयर विजेता टिम प्राइमका निश्चल महर्जन भए ।

त्यसैगरी महिलातर्फको खेलमा जेभियरले गोल्डेनगेटलाई ३९–३४ ले हराउँदै उपाधिमाथि पहिलोपटक कब्जा जमायो । जेभियरले पहिलो ६–४, दोस्रो १३–६ र अन्तिम क्वाटर ११–१० ले अग्रता लिएको थियो भने ५ अकंले पराजित गोल्डेनगेटले तेस्रो क्वाटर १४–९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

विजयी टिमकी माया राईले सर्वाधिक १६ स्कोर गरिन् । उनी नै प्रतियोगितामा महिलातर्फ मस्ट भ्यालुएबल प्लेयर चुनिइन् । पराजित टिम गोल्डेनगेटकी विष्णु मगरले टिमका लागि महत्वपूर्ण ८ स्कोर गरे पनि टिमलाई पराजयबाट बचाउन सकिनन् । प्रतियोगितामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप उपाध्यक्ष एवं एनओसिका महासचिव लामा टेन्डी शेर्पालाई खेलक्षेत्रबाट गरिमामय स्थानमा पुग्न सफल हुनुभएकोमा शुभकामनासहित प्राइम कलेज प्राचार्य नरेशप्रसाद श्रेष्ठले प्रशंसापत्रबाट सम्मान गरेका थिए । समापन समारोहका प्रमुख अतिथी श्रेष्ठ, विशिष्ट अतिथी शेर्पा प्राइम कलेजका प्राचार्य श्रेष्ठ र जेभियर कलेजका सिइयो लोकबहादुर भण्डारीले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।

विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने पुरुषतर्फको विजेता टिमले नगद १५ हजारसमेत प्राप्त ग¥यो । प्रतियोगितामा पुरुषतर्फ १८ तथा महिलातर्फ ७ कलेजको सहभागिता थियो । यस संस्करणदेखि टेबलटेनिस पनि समावेश गरिएकामा आयोजक प्राइम कलेज क्लिन स्विप गर्दै च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया