मोदीखोला जलविद्युत सुचारु

काठमाडौं, २३ मंसिर । पर्वतको पातीचौरस्थित १४ दशमलव ८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत केन्द्रबाट प्रभावित ८ गाविसमा तीन सातापछि विद्युत सञ्चालन सुचारु भएको छ ।

मोदी सबस्टेसनमा जडित तीन एमभिए क्षमताको ट्रान्सफर्मर मर्मतपछि मंगलबार साँझदेखि विद्युत सञ्चालन भएको हो । गत ३० कात्तिकदेखि विग्रिएको ट्रान्सफर्मर हेटौंडामा मर्मतका लागि पठाइएको थियो । विद्युत सञ्चालन भएसँगै नाकाबन्दीले प्रताडित स्थानीयवासीले राहत महसुस गरेका छन् ।

तीन हप्ताभन्दा बढी समयसम्म मर्मत नभएकाले स्थानीयवासी आन्दोलितसमेत बनेका थिए । कात्तिक ३० गते ट्रान्सर्फमरमा समस्या आएपछि नाकाबन्दीबाट प्रभावित स्थानीयवासी विद्युत नहुँदा थप समस्यामा परेका थिए । आन्दोलनमा उत्रिएका स्थानीयवासी र मोदीखोला सबस्टेसनका बीचमा तीन दिनभित्रमा विद्युत आपूर्ति सञ्चालन गर्ने सहमतिपछि स्थानीयवासीले आन्दोलन समेत स्थगित गरेका थिए । पातीचौरस्थित सबस्टेसनमा रहेको ट्रान्सफर्मर बिगे्रपछि देउपुर, देउराली, बाजुङ, तिलहार, राम्जादेउराली, चित्रे, आर्थरडाडाँखर्क र भूकदेउराली गाविसमा विद्युत अवरुद्ध भएको थियो । उक्त केन्द्रमा नयाँ ट्रान्सफर्मर गएको वैशाखमा मात्रै जडान गरिएको थियो । जडान भएको सात महिनामा नै बिग्रिएपछि त्यसको गुणस्तरमा समेत समस्या हुन सक्ने भएकाले छानबिन हुनुपर्ने माग मोदीखोलाका कर्मचारीले गरेका छन् । (सौस)

प्रतिक्रिया