केरुङ होइन सिगात्सेबाट

काठमाडौं, १४ मंसिर । उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई केरुङबाट नभई सिगात्सेबाटै इन्धन लैजान प्रस्ताव गरेको छ । भारतको अघोषित नाकाबन्दीपछि केरुङबाट अनुदानमा तेल दिएको चीनले व्यापारिक रूपमा भने सिगात्सेबाट लैजान प्रस्ताव गरेको हो ।

केरुङ नेपाल–चीन सीमानाका रसुवागढीबाट मात्र २६ किलोमिटरको दुरीमा छ । तर, चीनको नयाँ प्रस्ताव अनुसार सिगात्सेबाट तेल ल्याउने हो भने नेपाली ट्यांकरले झन्डै ५ सय ४८ किलोमिटर दुरी पार गर्नुपर्छ । काठमाडौंबाट सिगात्से ६ सय ८५ किलोमिटरको दुरीमा छ । ‘सधैँ माइनस ६ र ७ डिग्री सेल्सियस तापक्रम रहने र त्यो पनि लामो दुरीको हिमाली बाटो भएकाले सिगात्सेबाट तेल ल्याउन तत्काल सम्भव छैन’ आयल निगमका एक अधिकारीले भने, ‘नेपाली ट्यांकर पनि त्यसअनुरूपका छैनन् र चालकहरू पनि हिउँ जम्ने बाटो हुँदै सिगात्से पुगेर तेल ल्याउन तयार भइहाल्छन् भन्नेमा हामी विश्वस्त छैनौँ ।’

नेपाली टोली रित्तो हात फर्कंदै
नेपालका सरकारी अधिकारीहरूका अनुसार इन्धन खरिदको व्यापारिक सम्झौताको वातावरण बनाउन चीन गएको नेपाल आयल निगमको टोली सोमबार स्वदेश फर्कंदै छ । चीनबाट हुने तेल आयातमा दोहोरो कर हटाउने, मूल्य निर्धारण गर्ने, तेल आयातको प्रवन्ध मिलाउनेलगायत प्राविधिक विषय टुंग्याउन निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई र निमित्त निर्देशक दीपक बराल चीन गएका हुन् । टोलीले सम्झौताका विषयमा चीनको चाइना नेसनल पेट्रोलियम कर्पोरेसन र चीन सरकारका अधिकारीसँग छलफल गरेको छ । टोलीसँग चीनले आफूले बेच्ने इन्धन अनुदानको जस्तैगरी केरुङसम्म आफ्नै ट्यांकरमा ल्याइदिन नसक्ने जनाएको निगम स्रोतले बतायो ।

यो टोलीले चीनमा गरेको छलफलमा इन्धनको मूल्यमा पनि ठोस सहमति हुन सकेन । नेपाल र चीनबीच इन्धन आपूर्तिका लागि समझदारी भए पनि व्यापारिक सम्झौता हुन बाँकी छ । नेपाल सरकारले भारतले अहिले दिइरहेको मूल्यमा नबढ्ने गरी तेल दिन चीनलाई प्रस्ताव गरेको छ । यसका लागि कर छुट गर्न नेपालले औपचारिक रूपमा नै चीनसँग आग्रह गरेको थियो । तर, चीनले भने कर छुटबारे औपचारिक जवाफ दिएको छैन । बरु केरुङको सट्टा सिगात्सेबाट तेल लैजान नयाँ प्रस्ताव राखेको छ । ‘सिगात्सेमै नेपाली ट्यांकर पुगे तेल दिन चीन तयार देखिएको रिपोर्टिङ चीन गएको टोलीले गरेको छ । त्यसबारे थप कुरा टोली फर्किर्एपछि नै थाहा हुन्छ’ आयल निगमका अधिकारीले भने ।

प्रतिक्रिया