केपी दाजुबाट घडी उपहार पाएकी छु

केपी दाजुले अहिलेसम्म मलाई एउटा घडी उपहार दिनुभएको छ । त्यो पनि मैले किड्नी दिनु अगाडि कताबाट आउँदा हो एउटा घडी ल्याइदिनुभएको थियो । नत्र केही लिएकी छैन ।
                                                – अञ्जना ओली, प्र.म. केपीका मृर्गौलादाता

feature (1) copyएमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको शरीरलाई आवश्यक महत्वपूर्ण अंग मृगौला दिन गरेकी अञ्जना ओलीलाई यतिबेला सबैले एउटै कुरा भन्छन्, ‘तेरो किड्नीले देशको शासन चलाउँदैछ ।’ अञ्जना नाताले प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन् । परिवारको सदस्य र आफूले सानैदेखि मनपराएको नेतालाई किड्नी दिएर बचाउन पाएकोमा अञ्जना निकै खुसी छन् । दुई सन्तानकी आमा अञ्जना आफ्ना कारण परिवारको सदस्य र देशको नेता बचाउन पाएकामा अत्यन्तै खुसी छन् । पहिलेभन्दा उनको चर्चा अहिले बढेको छ, ओली प्रधानमन्त्री बनेपछि । अहिले अञ्जनालाई कस्तो महसुस हुन्छ त ? उनले सौर्यसँग आफ्नो भावना यसरी पोखिन् ः

‘ए, अञ्जना तेरो किड्नीले त देश पो चलाउदै छ है, यहि बेला हो आफूले सकेको काम गर्ने, हामीलाई पनि केहि गरी दे है !’ चिनेजानेका र थाहा पाउने जो कोहीले पनि भेट्ने वित्तिकै यसै भन्छन्, अञ्जनालाई । धेरैलाई लाग्दो रहेछ मैले मृगौला दान गरेवापत ठूलै लाभ लिएँ हुला भन्ने अझ कत्ति मान्छे ठान्दा रहेछन् केपी दाजुसँगको पारिवारिक सम्बन्ध र उहाँलाई किड्नी दिएका कारणको यसलाई भनेपछि जे पनि हुन्छ भन्ने । यो सबै मान्छेहरूको भ्रम हो । मैले केही पाउला भन्ने लालचमा किड्नी दिएकी होइन । अरूले भनेजस्तो मेरो किड्नीले देश चलाएकोमा दम्भ छैन । तर, मैले उहाँलाई किड्नी दिने बेला धेरै सोचेर वा कुनै प्रभावमा परेर दिएको होइन । एउटा मान्छेले आफू पनि बाँचेर अरूलाई बचाउन सक्ने काम मात्र गरेकी हुँ । त्यसैले मैले आफ्नो किड्नीको कुनै मूल्य राखिनँ र राख्ने छैन । त्यतिबेला दाजुलाई म्याच हुने किड्नीको आवश्यकता थियो, मैले दिएँ । थाहा थिएन त्यो किड्नी कहाँकहाँसम्म पुग्छ भनेर । अहिले उहाँको शरीरमा भएपछि त्यो उहाँको नै हो । म सम्झिरहन पनि चाहन्न मेरो शरीरमा कतिवटा किड्नी छ भनेर । तर, सम्झाइदिने मान्छे आइरहन्छन् ।

आठ वर्ष वितेछ, मलाई त ख्यालै छैन सम्झेर हिसाब गर्नुपर्छ । नाताले जेठाजु पर्ने हुँदा बिरामी एमाले नेता केपी ओलीलाई भेट्न उहाँको निवास वालकोट गएकी थिएँ । उहाँ निकै गलेको अवस्थामा सुतिरहुनुभएको थियो । अरूबेला जस्तै सामान्य रूपमा सोधेँ, ‘के भयो तपाईलाई भनेर ?’ उहाँले गाह्रो शब्दमा भन्नुभयो, ‘डाक्टरले भनेको किड्नी फेल छ रे ! फेरि सोधेँ एउटा कि दुवै ? उस्तै पारामा फेरि भन्नु भयो दुवै । म एकैछिनमा छाँगाबाट खसेजस्तै भएँ, सोच्दै नसोचेको कुरा सुन्नु पर्दा । उहाँको कुरा सुनेपछि बिना सोच विचार फ्याट्टै भनेँ, ‘म दिन्छु तपाईलाई आफ्नो किड्नी ।’ मेरो कुरा सुनेर उहाँले हाँसेर उडाउँदै भन्नु भयो, ‘तँ हिजोको फुच्चीले मलाई किड्नी दिने ! सानो बच्चा छ, सुत्केरी मान्छेले कसरी दिने ! फेरि तेरो यो उमेरको मान्छेले मलाई किड्नी दिने हुन सक्दैन ! तैले चाहेर मात्र हुन्छ र ? मिल्नु पनि पर्छ ।’ उहाँको कुरा टुंगिन नपाउँदै मैले भनेँ, ‘भोली नै जचाउन जान्छु । मलाई विश्वास छ मेरो किड्नी तपाईलाई मिल्छ । म बचाउछु तपाईलाई ।’

किड्नी दिने निर्णयमा पुगेपछि मलै आफ्नो स्वास्थ्य परीक्षण गराएँ । डाक्टरले उहाँसँग मेरो किड्नी मिल्छ भने । किड्नी दिन पाउने कुराले मलाई अत्यन्तै खुसी लाग्यो । एउटा पवित्र काम गर्ने अवसर पाएँ भनेर दंग परेँ । नमिलेको भए मैले चाहेर मात्र हुँदैन थियो । मैले किड्नी दिने निर्णय र मिल्ने कुराले परिवारमा सबै खुसी भए । म उहाँसँगै किड्नी प्रत्यारोपण गर्न भारत गएँ । किडनी दान गर्ने मान्छे म त स्वस्थ थिएँ । लामो समयदेखि रोगले थलिनु भएका दाजु निकै गल्नु भएको थियो । किड्नी प्रत्यारोपण गरेको पाँच दिनपछि उहाँलाई भेट्न अस्पतालको बेडमा गएँ । दाजु कस्तो छ तपाईलाई ? भने मुसुक्क हाँस्दै भन्नुभयो, ‘तँ साह्रै जिद्धीवाली रहिछस्, तेरो जिद्धीले मलाई बचायो ।’ उहाँको कुरा भन्दा पनि स्वास्थ ठीक हुने भएकोमा म निकै खुसी थिएँ । दाजु त सधै रमाइलो ठट्टा गर्ने मान्छे बिरामी भएर बस्दा होस् वा दुःखमा सधै अरूलाई हसाउने स्वभाव छ । उहाँ ठीक हुने कुराले उहाँकी श्रीमती भएको कारण राधा भाउजुको खुसीको सीमा थिएन । उहाँले मलाई आभार व्यक्त गर्नुभयो । परिवारका सबै खुसी भए । म आफू भए परिवारको सदस्य भएको कारण त्यति गर्न सकेकोमा खुसी थिएँ ।

केपी दाइलाई किड्नी दिँदा मेरो उमेर २२ वर्षको थियो । काखमा पन्ध्र महिनाको बच्चा । परिवारमा कसैसँग सल्लाह नगरी एक्लैले उक्त निर्णय गरेकी थिएँ । मेरो निर्णयले घर र माइती दुवैतिरका परिवार खुसी भए । सबैले सहमति दिए । सबैले ‘राम्रो काम गर्न लागिस्, ठीक गरिस्’ भने । आफूलाई पनि एउटा राम्रो काम गर्न सकेकोमा खुसी लाग्यो । तर, अहिले अरूले भनेजस्तो ममा मेरो किड्नीले देश हाँकेको छ भनेर गर्व वा दम्भ छैन । मात्र खुसी लागेको छ । पहिला राम्रो गरेँजस्तो लाग्थ्यो, अहिले झन् ठूलो काम गरेछु भन्ने लागेको छ । उहाँलाई किड्नी दिएवापत केही पाउनुपर्छ वा लिउँ भन्ने कहिल्यै लागेन । पारिवारको जिम्मेवार व्यक्ति भएको कारण गर्नुपर्ने कर्तव्यबाहेक केही गर्नु भएको छैन । जहिले पनि भेट हुँदा दाजुले भन्नु हुन्छ, ‘के छ, केही गर्नु परे भन् है, घर परिवार कसरी चलेको छ ?’ उहाँको माया र सद्भाव नै ठूलो कुरा हो । मैले केहि मागेको छैन । मेरा लागि उहाँ र अरू दाजुहरू समान हुनुहुन्छ र उहाँहरूले गर्ने व्यवहार पनि समान छ ।

केपी ओलीलाई मैले स्कुल पढ्दादेखि चिन्दथेँ । मेरो माइती चितवन र परिवारमा सबै कम्युनिस्ट भएका कारण उहाँप्रति मेरो झुकाव थियो । चितवनमा केपी ओली आउने रे ! भाषण छ भनेको सुनेपछि स्कुल छोडेर साथीहरूसँगै उहाँको भाषण सुन्न जान्थेँ । उहाँको प्रष्ट बोल्ने बानी साह्रै मन पथ्र्यो । अझ परिवारको सदस्य भएपछि नजिकबाट थाहा पाए । उहाँको मुखमा एउटा मनमा अर्को छैन । पारिवारिक सदस्यको नाताले आउजाउ बढी नै हुन्थ्यो । उहाँ प्रधानमन्त्री भएपछि जाने क्रम कम भएको छ । उहाँको व्यस्तता र जिम्मेवारीको कारण कम जान्छु । उहाँलाई काम गर्न दिनुपर्छ सानातिना कुरामा अल्झाउनु हँुदैन भन्ने लाग्छ । देश यतिबेला संकटमा छ । यस्तो बेला उहाँको अगाडि धेरै चुनौतीहरू छन् । त्यसमा सबैले साथ दिनुपर्छ भन्ने लागेको छ ।

कतिलाई लाग्दो रहेछ, म परिवारको सदस्य त्यसमाथि उहाँलाई किड्नी दिएको कारण निकै लिए होला भन्ने । तर, मैले व्यक्तिगत रूपमा केहि आसा गरिनँ । अहिले पनि छैन उहाँले चाजे जे पनि गर्नु होला । तर, म त्यो चाहन्न । चाहेको भए धेरै गर्न सक्थे हुँला । केपी दाजुले अहिलेसम्म मलाई एउटा घडी उपहार दिनुभएको छ । त्यो पनि मैले किड्नी दिनु अगाडि कताबाट आउँदा हो एउटा घडी ल्याइदिनुभएको थियो । नत्र केहि लिएकी छैन । जे छ पारिवारिक सहयोग हो अरू दाजुहरूले पनि गर्नु हुन्छ । केहि दिए हुन्थ्यो भन्ने कहिल्यै लागेन ।

उहाँलाई किड्नी दिएपछि मेरो दोस्रो बच्चा जन्मियो । अहिले म पूर्ण रूपमा स्वस्थ छु । समयसमयमा स्वास्थ्य जाँच गराउँछु । कुनै समस्या छैन । मान्छेले भन्दा मात्र ‘ए मेरो एउटा किड्नी छैन’ भन्ने लाग्छ नत्र त्योबारे सोच्दा पनि सोच्दिनँ । महसुस पनि हुँदैन ।

मैले केपी दाइ ठूलो मान्छे भनेर किड्नी दिएको होइन उहाँको ठाउँमा अरू पनि कोही असल मान्छेलाई चाहिएको भए पनि दिन्थेँ । मान्छे एउटा किड्नीले राम्रोसँग बाच्न सक्छ भने अरूलाई बचाउनु जो कोहिको कर्तव्य हो मैले त्यही मानवीय कर्तवय पूरा गरेकी हुँ । किड्नी कहाँ जान्छ के गर्छ मेरो सरोकार होइन । उहाँले जे गर्नुपर्ने हो त्यही गर्नु हुन्छ । यो देश मेरो किड्नीले मात्र होइन पार्टी र नेताले चलाएको छ । नेतृत्व मात्र दाजु केपीले गर्नुभएको हो । उहाँको क्षमता नभएको भए मेरो किड्नीले मात्र केही गर्न सक्दैनथ्यो ।
(चमिना भट्टराईसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया