थानकोट डिपोबाट वितरण बन्द

काठमाडौं, ९ मंसिर । आयल निगमले थानकोट डिपोबाट उपभोक्तालाई पेट्रोलियम पदार्थ बिक्री गर्न रोक लगाएको छ । उपभोक्ताको नाममा अस्पताल, होटेल, दूध, कर्पोरेट क्षेत्र, संचारमाध्यमलाई पेट्रोलियम पदार्थ डिपोबाटै दिने गरिएको थियो ।
निगमको केन्द्रीय कार्यालय र थानकोट डिपो प्रमुखको मिलेमतोमा डिपोबाटै महँगो मूल्यमा तेल बिक्री गरेको उजुरी परेपछि वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको निर्देशनमा उपभोक्ताको नाममा बिक्री हुने पेट्रोलियम पदार्थ रोकिएको हो । विगत तीन दिनदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएर नयाँ योजना ल्याउने गृहकार्य भएको थियो ।

बुधवारदेखि पेट्रोल पम्प नै तोकेर उपभोक्तालाई ड्रम र ग्यालिनमा पेट्रोलियम पदार्थ दिइने निगमले जनाएको छ । ‘थानकोट डिपोबाट उपभोक्ताको नाममा पेट्रोलियम पदार्थ दिन रोकिएको छ,’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने, ‘अब पम्प नै तोकेर अत्यावश्यक सेवालाई पेट्रोलियम पदार्थ दिइनेछ ।’ उनका अनुसार अस्पताल, दूध कारखाना, फोहोरमैला व्यवस्थापनका लागि भाँडोमै पेट्रोलियम पदार्थ दिइनेछ ।

निगमले संचारमाध्यामलाई संचारमन्त्रालयको सिफारिशमा पेट्रोलियम पदार्थ दिने जनाएको छ । संचारकर्मीहरूले सूचना विभागको प्रेसपासका आधारमा प्रत्येक शुक्रबार तोकिएको पम्पबाट तेल पाउने छन् । ‘हामीले संचारकर्मीलाई प्रत्येक शुक्रबार पेट्रोल दिने व्यवस्था गरेका छौँ,’ घिमिरेले भने, ‘दुई पांग्रे सवारी साधनले तीन लिटर र चार पाँग्रेले १० लिटर पेट्रोल पाउनेछन्   त्यसका लागि सूचना विभागको प्रेस पास अनिवार्य हुनेछ ।’ भारतको अघोषित नाकाबन्दीपछि भारत र चीनबाट आएको पेट्रोलियम पदार्थको समानुपातिक वितरण नभएको भन्दै आलोचना भएको थियो ।

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आफू अनुकुलका संस्थालाई तेल दिन सिफारिश गर्ने र थानकोट डिपोबाट महँगो मूल्यमा बिक्री भइरहेको उजुरी परेको थियो । निगमबाटै महँगो मूल्यमा तेल बिक्री गरेर कालोबजारी गरेको भन्दै संसदीय समितिले समेत छानविन अघि बढाएको थियो भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अभावको मौकामा भष्ट्राचार भएको भन्दै अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया