कार्यान्वयनको सुरुवात भयो

onsari_gharti copyमाओवादी जनयुद्ध सुरु हुँदा नै रोल्पाबाट छापामार युद्धमा होमीएकी ओनसरी घर्ती सामान्य पारिवारिक पृष्ठभूमिकी हुन् । उनी भर्खरै व्यवस्थापिका संसदको सभामुखमा निर्वाचित भएकी छन् । ‘जनताको शासन’ स्थापना गर्ने सपना बोकेर हिडेकी उनलाई जीवनमा यति ठूलो जिम्मेवारी काँधमा आउला भन्ने कहिल्यै लागेन । ‘एक दिन पुरानो सत्ता ढल्नेछ र नयाँ व्यवस्था आउनेछ’ भन्ने विस्वासले युद्ध मोर्चामा कमिसारसम्मको जिम्मेवारी पूरा गरेकी घर्तीसामु अहिले धेरै चुनौति छन् । यही सेरोफेरोमा घर्तीसँग चमिना भट्टराईले गरेको कुराकानी :

यति ठूलो जिम्मेवारी पाउनुभएको छ, कस्तो महसुस गर्नु भएको छ ?
गैरवान्वित अनुभूति गरेकी छु । जीवनमा यति ठूलो पदमा पुगौंला भन्ने कल्पना गरेको थिइनँ । सामान्य परिवारमा जन्मे हुर्केको म यतिबेला राष्ट्रको गरीमामय पदमा जिम्मेवारी पाएको छु । पुरुष प्रधान हाम्रो समाजमा महिलाले यति ठूलो जिम्मेवारी पाउनु सामान्य होइन । यो उपलब्धीलाइ मैले मात्र होइन सारा नेपाली महिला, जनजातिले गौरवको रुपमा लिएका छन् भन्ने लागेको छ ।
अब सारा महिलाले समानताको अनुभूति गर्छन् त ?
एक दुईजना ठूलो पदमा पुग्दैमा सबैले अधिकार पाए भन्ने होइन । सोचाइमा परिर्वतन आयो कि आएन भन्ने कुरा ठूलो हो । केही दिनयता भएको सभामुख र राष्ट्रपतिको निर्वाचनको परिणामले संविधान कार्यान्वायनको सुरुवात गराएको छ । यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ भन्ने ठान्छु । हिजोसम्म महिलालाई समावेश मात्रै गराइने समाजमा निर्णायक ठाउँमा महिलालाई विस्वासले जिम्मा दिनु सोचाइमा आएको परिवर्तन हो । यो सोचाइ अब सबैतिर जानेछ र हरेक ठाउँमा महिला नाम मात्रका लागि होइनन् कामका लागि पनि हो भन्ने मान्यता स्थापित हुने छन् । आफूले पाएको जिम्मेवारी र राजनीतिक पार्टीहरुले गरेको विस्वासलाई पूरा गर्ने कुरामा मैले कुनै कसर बाँकी राख्ने छैन ।
छामामार युद्धमा होमिएको बेला यति ठूलो पदमा पुगिएला भनेर कल्पना गर्नुभएको थियो ?
युद्धमा लड्दै गर्दा एउटा कुराको विस्वास थियो । एक दिन सामामन्तवादी राज्यव्यवस्था अन्त्य हुनेछ र जनताका छोराछोरी देशको निर्णायक स्थानमा पुग्ने छन् भन्ने । तर, को कति बेला कहाँ पुग्छ भन्ने थिएन । त्यसैले म आफैँलाई यति ठूलो पद पाउँला भन्ने लागेको थिएन । समाज परिवर्तन गर्नेबाहेक केहि सोचिएन । त्यतिबेला कहाँ कहिले मर्ने हो भन्ने मात्र थियो । त्यसैले मरेपछि आफूलाई ओडाउने झन्डा साथैमा लिएर हिड्थ्यौँ हामी । परिवर्तनका लागि लड्ने र मर्नेबाहेक केहि थिएन उतिबेला हाम्रो अगाडि ।
यो जिम्मेवारीलाई अवसर वा चुनौति कुन रुपमा लिनु भएको छ ?
मेरो लागि अवसर र चुनौति दुवै हो । अवसर प्राप्त नभई चुनौतिको सामान गर्न सकिँदैन । मलाई ठूलो अवसर प्राप्त भएको छ । यसलाई चुनौतिपूर्ण रुपमा सामाना गर्नुपर्छ । अवसरले प्रदान गरेको चुनौतिलाई अत्यन्त्यै कुशलतापूर्वक सामाना गर्नुपर्छ भन्ने लागेको छ । हरेक हिसावले सभामुखको पद गम्भीर हुन्छ । नेपालको इतिहासमा पहिलोपटक मैले यो अवसर पाएको छु । आइपर्ने सबै खाले चुनौतिलाई सामाना गरेर देखाउने छु ।
पहिला उपसभामुख र अहिले सभामुख हुनुहुन्छ, भूमिकामा के फरक पाउनुभयो ?
उपसभामुखको जिम्मेवारीमा रहेर संविधानसभा चलाउँदा मेरो सहयोगीको भूमिका मात्र हुने गथ्र्यो । आफ्नो विवेक र निर्णयले काम गर्नु पर्दैनथ्यो । कहिले काहिँ सभामुखलाई सहयोग गर्ने काम मात्र हुन्थ्यो । त्यतिबेला सबै निर्णय आफ्नो हुँदैन थियो । तर, यतिवेला जे गरिन्छ आफ्नो विवेकले काम गर्नुपर्छ । सभामुख भएपछि पहिलोपटक जिम्मेवारी सम्हाल्दा आफँैलाई अति असहज महसुस भयो । सोचेँ, मेरो थाप्लोमा ठूलो भारि छ यसलाई कुशलतापूर्वक अगाडि लैजानुपर्छ । बाहिरबाट हेर्दा ठूलो अवसर लाग्न सक्छ तर, मेरोसामु चुनौति धेरै छन् । यो व्यवस्थापिका संसदले धेरै ऐन र कानुन निर्माण गर्नु छ र वनेका कानुनलाई कार्याव्यन गर्नुछ । ती कामहरु सामान्य छैनन् त्यसैले पनि म हरेक बखत आफूलाई कसरी राम्रो रुपमा प्रस्तुत गर्न सकिन्छ भनेर सोच्ने गर्छु ।
तपाई सभामुख भएसँगै सकारात्मक र नकारात्मक धेरै कुरा आए यसलाइ के भन्नु हुन्छ ?
यसलाई मैले सामान्य रुपमा लिएकी छु । मलाई शुभकामना दिने, नयाँ इतिहासको सुरुवात भयो भनेर खुसी हुँदै यो उपलब्धीलाई सकारात्मक रुपमा लिनेहरु पनि छन् । यससँगै मेरो योग्यता र क्षमतामाथि प्रश्न उठाउनेहरु पनि देखिएका छन् । कयौं टिक्का टिप्पणी आएको सुनेको छु । नेपालको इतिहासमा पहिलोपटक एउटा महिला त्यो पनि जनजाति, सामान्य परिवारको छोरीले यति ठूलो जिम्मेवारी पाएको भनेर सकारात्मक सोच राख्ने र मेरो क्षमतामा प्रश्न उठाउनेहरु सबै मेरो प्रेरणाको स्रोत हुन् । संविधानसभामा धेरै दिग्गज व्यक्तित्वहरु छन् । राजनीतिक अनुभव र अन्य कुरमा उनीहरुको अगाडि म सामान्य लाग्न सक्छु । यसले कसरी काम गर्छे भनेर प्रश्न उठ्न सक्छ । मलाई शंका र आलोचना गर्नेहरुकै कारण म अझ सचेत छु । उनीहरुको त्यही भावनाले मलाई काममा अझ बढी सचेत बनाउने छ । यसलाई मैले हाम्रो समाजको सामाजिक बनोटको रुपमा पनि लिएकी छु । आलोचकहरुले सधै मलाई सचेत बनाउने छन् । जिम्मेवार बन्न प्रेणा दिनेछन् भन्ने ठानेकी छु । सामान्य हुँ र हरेक प्रकारका अवसर र चुनौति सामना गर्न तयार छु । मैले मात्र होइन राजनीति गर्ने सबैले त्यसको लागि तयार हुनु पर्छ ।
तपाईको प्राथमिकता के–के हुन् ?
संविधानको कार्यान्वयन र यसको सम्मृद्धि मेरो प्राथमिकता हो । संविधान जारी हुँदैमा सबै समास्या सामाधान भएका छैनन् । यसलाई कार्यान्वयन गर्न धेरै कानूनहरु निर्माण गर्नु जरुरी छ । त्यसका लागि सरकारले ल्याएका विधेकहरु पारित गर्दै जानुपर्छ । सरकार र राजनीतिक पार्टीको बीचमा रहेर  सभामुखले गर्नु पर्ने जिम्मेवारी पूरा गर्ने छु । यसका लागि हरेक ढंगले क्रियाशील हुनेछु । अहिलेको प्राथमिकता भनेको संविधानको कार्यान्वयन र ऐन कानुनहरुको निर्माण हो ।
संविधानप्रति विमति राख्नेहरूले आन्दोलन गरिरहेका छन्, यस्तो अवस्थामा कार्यान्वयन कत्तिको सहज देख्नु हुन्छ ?
यो संविधान सबैको साझा दास्तावेज हो । नेपालको इतिहासमा यति राम्रो र प्रगतिशील संविधान कहिल्यै बनेको थिएन । समाजका सबै जाति, भाषी, वर्ग र लिंगलाई यसले सम्मान गरेको छ । यो संविधानको अर्को सकारात्मक पक्ष भनेको समय र आवश्यकताअनुसार संविधान संशोधन गर्नेबाटो खुल्ला हुनु हो । यसलाई सबैले सकारात्मक रुपमा लिएर अगाडि बड्नुपर्छ । विभिन्न जातजातिको हितलाई ध्यानमा राखेर बनेका आयोगमार्फत पनि धेरै कुराहरु पूरा हुन्छन् । संविधानमा समेटिएका कुराको प्रयोग गर्दै आवश्यक मागहरु समेट्दै जान सबैलाइ आग्रह गर्न चाहन्छु । यसले सबैको हित हुनेछ । म सबै भन्दा पहिला यसलाई गहनरूपमा अध्ययन गरेर आफ्ना मागहरु विधिसम्वत रुपमा समावेस गर्ने ठाउँमा आउन सबैलाई आग्रह गर्छु । जहाँसम्म तराइमा चलेको आन्दोलनको कुरा छ, उहाँहरुको भावनमा ठोस पुग्ने कुनै कुरा संविधानमा छैन । उहाँहरुको पनि ठाउँ छ आएर वार्ता–संवाद गरेर सबै समस्या सामाधान गर्न सकिन्छ । सबै प्रकारका असहजतालाई सहजतामा बदल्नु पर्छ ।
कार्यान्वयनमा सबै दलको एकता होला भन्नेमा विस्वास गर्नु भएको छ ?
संविधान सबैको साझा दस्तावेज हो । हिजो जसरी ९० प्रतिशत सभासद्को मतले संविधान जारी भयो । त्यसैगरी यसको कार्यान्वयनमा सबै पार्टी नेता व्यवस्थापिका संसदको सदस्यहरुको एकता हुन्छ भन्नेमा म ढुक्क छु । आफ्ना विमतिहरुलाई सहमतीमा बदल्दै सबै एकै ठाउँ उभिनु पर्छ । यो इतिहासले दिएको सुनौलो क्षण हो यसको सकारात्मक रुपमा सबैले प्रयोग गर्नुपर्छ । सामान्य कमीकमजोरी छन् भने सुधार गरेर जाने एकताको भावना सबैले राख्नेछन् भन्नेमा म विस्वस्त छु ।
धेरै शंकाहरु उठेका छन्, निवारण गर्न के गर्नुपर्छ ?
नेपालको इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान जारी भएकोले शंका उठ्नु सामान्य हो । तर, संविधान जारी भएको महिना दिन नबित्दै यसको कार्यान्वयनको सुरुवात भएको छ । त्यो पनि सामान्य रुपमा होइन महत्वूर्ण ढंगले कार्यान्वयन भएको छ । यसले केहि हदसम्म शंका चिरेको छ भन्ने लाग्छ । मेरो जिम्मेवारीसँगै राष्ट्रपतिको गरीमामय जिम्मेवारीमा पहिलोपटक महिलाले जिम्मेवारी पाउनु भएको छ । यो नयाँ संविधानको कार्यान्वयनको सुरुवात हो । देशले नयाँ इतिहास कोरेको छ पार्टीहरुले महिलालाई विस्वास गर्ने वातावरणको विकास भएको छ । यो सारा महिलाका लागि सकारात्मक हो यसले भोलीका दिनमा महिलाका लागि तलतलसम्म बाटो खुल्यो भनेर बुझ्न सकिन्छ । हामी तल्लो वर्गले राज्यको माथिल्लो निकायमा स्थान पाउनुपर्छ भन्थ्यौँ त्यसको सुरुवात भएको छ । यसले तलतलका महिला जनजातिमा आत्मविश्वासको विकास भएको छ भन्ने मलाई लागेको छ । कुनै पनि कुरा एकैपटक हुँदैन विस्तारै हुने हो । नेपालमा पनि यसको सुरुवात भयो यसलाई कसैले रोकेर रोकिँदैन । यसको मतलव यो होइन, सभामुख र राष्ट्रपति महिला हुने वित्तिकै सबै समस्या सामाधान भए । तर, सुरुवात भयो भनेर बुझनुपर्छ ।
महिलालाई महत्वपूर्ण जिम्मेवारी दिन गाह्रो मान्ने समाजमा यति ठूलो जिम्मेवारी के कारणले पाए“ भन्ने ठान्नु हुन्छ ?
अहिले पनि हाम्रो सामाजिक संरचना महिलालाई विस्वास गर्ने र जिम्मेवारी दिने सवालमा दसौँ पटक परीक्षण गर्ने सोचबाट मुक्त छैन । पुरुषलाई जति सजिलै विस्वास गरिन्छ महिलालाई गरिँदैन । यस्तो समाजमा संवैधानिक रुपमा महिलाले यति ठूलो जिम्मेवारीमा पाउनु सामान्य कुरा होइन । मैले पनि एकै पटकको परीक्षणबाट यति ठूलो जिम्मेवारी पाए भन्ने लाग्दैन । सायद मेरो पनि धेरै परीक्षण भए होलान् । यो सारा नेपाली महिलाको भोगाई हो । आज म महत्वपूर्ण ठाउँमा छु, राष्ट्रपति पनि महिला हुनुहुन्छ अब सबै महिलाले सम्मानको साथ अवसर पाए भनेर चित्त बुझाउने होइन । अझै धेरै प्राप्त गर्नुछ । साथसाथै अझ बढी जिम्मेवारीका साथ आफ्नो दायीत्व पूरा गर्नुछ । त्यसैले हरेक निर्णय गर्दा बढी सोच्ने गरेकी छु । महिलाले पाएको जिम्मेवारी कुसलतापूर्वक पूरा गर्न सक्छन् भनेर सिद्ध गर्नुछ ।
भावी चुनौति कसरी सामाना गर्ने विचारमा हुनुहुन्छ ?
मलाई जुन विस्वासले संसदमा भएका महत्वूर्ण पार्टीको सहमतीमा जिम्मेवारी दिइयो, त्यसरी नै उहाँहरुको साथ र सहयोग पनि सधै रहि रहन्छ भन्ने ठानेको छु । म आफैं एक्लैले सबै कुरा सम्भव छैन । पार्टीहरु बीच भएका एकता र सद्भावले मुलुक चल्ने हो र ऐन कानून बनाउने कुरा मेरो एक्लै विचारले हुँदैन । मैले सबैको साझा व्यक्तिको रुपमा समन्वयकर्ताको भूमिका निर्वाह गर्ने हुँ । त्यसका लागि म आफ्नो क्षमताले भ्याएसम्म गर्ने छु ।

प्रतिक्रिया