गायनका ‘राजकुमार’

rajkumar_pradhanकाठमाडौं । नेपाली गीत तथा संगीतका क्षेत्रमा राजकुमार प्रधान नौलो नाम पक्कै होइन । त्यसैले त आफ्नो एकल एल्बम ‘जीवन’ बजारमा आएसँगै उनी चर्चामा तानिए । २८ वर्षीय प्रधानको गायन खुबीलाई नजिकबाट नियालेका वरिष्ठ संगीतकार अम्मर गुरुङ भन्छन्, ‘राजकुमारमा साधना व्यापक छ । उनको छोटो अवधिमै सफलताको शिखर चढ्नुका पछाडि उनमा भएको साधना नै प्रमुख कारण हो । यसबाहेक लगनशीलता उनको अर्को पाटो हो । उनीसँग प्राकृतिक रुपमै गायन क्षमता बेजोड छ । भविष्यमा उनले नेपाली गायन क्षेत्रमा अझै राम्रो गर्न सक्छन् ।’

प्रधानको क्षमतालाई विश्वास गरेरै अमरले आफैँले शब्द–रचना, संगीत तथा संयोजन गरेका तीनवटा गीत उनलाई गाउन लगाएका छन् । अमर गुरुङको शिष्य भन्न पाउँदा गर्व गर्ने प्रधानले साधना कला केन्द्रमार्फत आफूलाई तिखारेका हुन् । उनलाई मिलन मोक्तानले झन्डै ६ महिना साधना कला केन्द्रमा संगीतसम्बन्धी प्रशिक्षण दिए । त्यसपछि पनि उनले धेरै ठाउँमा संगीतको प्रशिक्षण लिए । यो क्रमलाई उनले निरन्तरता दिइरहेका छन् ।

राजकुमार भन्छन्, ‘संगीत र गायन एकैदिन बुझिने विषय होइन । यसलाई जति धेरै गहिरोसँग बुझ्यो । त्यति नै बुझ्न मनलाग्छ । त्यसैले सिक्ने क्रम सायद जीवनभर जारी रहन्छ ।’ एकल एल्बम ‘जीवन’ सार्वजनिक गर्नुअघि पनि प्रधानले थुप्रै गीतमा स्वर भरेका थिए । उनको पहिलो एल्बम जीवनमा संग्रहित ‘छोडी जाँदै छ’, ‘तिम्रो  याद आउँछ’, ‘त्यो चिसो हावाले’, ‘तिम्रो सम्झनामा’, ‘मनभित्र तिमी छौँ’ लगायत गीतहरु अहिले चर्चामा छन् । ‘जीवन’ एल्बममा वियोगान्त गीत गाएका प्रधान वास्तविक जीवनमा भने लजालु र रोमान्टिक स्वभावका छन् ।  उनी भन्छन्, ‘मेरो चाहना संगीतमा समर्पित हुने हो । संगीतमा स्थापित हुनकै लागि संघर्षरत छु ।’

झापा बाहुँनडाँगीमा बाबु रणबहादुर र आमा प्रेमकुमारी प्रधानको कोखबाट जन्मिएका राजकुमार बाल्यकालदेखि नै संगीत भनेपछि हुरुक्कै हुन्थे । झापाबाटै कक्षा तीनसम्मको पढाइ पूरा गरेका राजकुमारले आफ्नो संगीत मोहलाई काठमाडौं आएपछि अझै तिखारे । बाबुको जागिरका सिलसिलामा काठमाडौं आएका उनी चाबहिलस्थित बाबा बोर्डिङमा कक्षा चारमा भर्ना भए । त्यही विद्यालय उनको संगीतको जननी बन्यो । काठमाडौं आएपछि उनलाई विद्यालय तथा छिमेकका दाइदिदीहरुले संगीतमै लाग्न प्रेरणा दिए । यसपछाडिको कारण थियो, राजकुमारको सुरिलो आवाज र संगीत भनेपछि हुरुक्कै हुने बानी । उनको गीत सुन्नका लागि छिमेकका दाइदिदीहरु चकलेट बोकेर आउने गरेका थिए, राजकुमारले पनि आफ्नो आवाज सुनाएर बाल्यकालदेखि नै टोलमा चर्चा बटुले ।

संगीतकै कारण विद्यालयमा सबैको प्यारो हुने गरेका राजकुमार म्युजिक कक्षामा सधैँ सबैको आर्कषणको केन्द्र बन्ने गरेका थिए । छोराको संगीतप्रतिको लगाव देखेरै बाबु रणबहादुरले उनलाई हर्मोनियम किनिदिए । त्यसदिन आफ्नो जीवनकै सर्वाधिक खुसीको क्षण रहेको राजकुमार बताउँछन् । बाबुले हार्मोनियम किनिदिएपछि संगीतमा लाग्न थप हौसिएका राजकुमारले त्यसयता दैनिक साधना गर्न थाले । प्रायः कम बोल्ने राजकुमार गीत भने निकै गाउँथे । उनको गायनप्रतिको सौख र लगावले धेरै साथीहरु उनीसँग निकट हुन्थे । उनले कक्षा आठ पढ्दै गर्दा अन्तरविद्यालय गायन प्रतियोगितामा उत्कृष्ट गीत गाएर आफ्नो स्कुललाई विजयी बनाए । त्यतिबेला बाबा बोर्डिङका प्रिन्सिपलले उनलाई नगद ५ हजारसहित सम्मानित गरेका थिए । प्रिन्सिपलबाट सम्मान स्वरुप पाएको पैसाले वाकम्यान टेपरेकर्डर किनेका राजकुमारले नियमित रुपमा गीतहरु सुन्ने र त्यही वाकम्यानमा रेकर्ड गर्ने क्रम जारी राखे । उनी स्वर्गीय नारायण गोपाल र तारादेवीका गीतहरु बढी मनपर्ने बताउँछन् । भावनात्मक र मर्मस्पर्शी शब्द, बेजोड संगीत तथा अद्भुत गायनका कारण नै नारायणगोपाल र तारादेवीका गीतहरु चर्चामा रहेको राजकुमारको बुझाइ छ । राजकुमारले विद्यालय जीवनकै दौरान सन् १९९९ मा काठमाडौँस्थित दशरथ रंगशालामा आयोजना भएको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (सार्क गेम्स) को उद्घाटन समारोहमा राष्ट्रिय गीत गाएका थिए ।

सबैबाट प्रशंसा र सम्मान पाउन थालेपछि संगीतमा लाग्न निरन्तर ऊर्जा मिलेको बताउने राजकुमार स्थानीय बाजा र लोकधुनको संरक्षणमा समेत लागेका छन् । आधुनिक, पप–रक तथा लोकगीतमा समेत उस्तै आवाज दिनसक्नु उनको विशेषता हो । नेपालमा लोपोन्मुख अवस्थामा पुगेका बाजागाजाको संरक्षण गर्नु आधुनिक पुस्ताको समेत कर्तव्य रहेको राजकुमारको भनाइ छ । ‘आजकल लोकधुनहरु विस्थापित हँुदै गएका छन् । हाम्रा परम्परागत मौलिक धुन र बाजागाजा लोप हुनु भनेको हाम्रो संस्कृति लोप हुनु हो । त्यसैले आधुनिक गीतहरुसँगै परम्परागत र मौलिक संस्कृति तथा गीत–संगीतको पनि संरक्षण जरुरी छ,’ राजकुमारको भनाइ छ ।

ambar_rajkumarसन् २०१० मा पहिलोपटक उनले आफ्नो आवाज रेकर्ड गराए । प्लस स्टुडियोमा रेकर्ड गरिएको ‘हिस्सी तिम्रो’ बोलको उनको उक्त गीत निकै चर्चामा थियो । उक्त गीतको शब्द, रचना तथा संयोजन समेत उनी आफैँले गरेका थिए । त्यसपछि उनलाई गीत गाइदिन थुप्रैले अनुरोध गर्न थाले । राजकुमार भन्छन्, ‘भर्खरै करियरको सिँढी चढ्दै गरेको त्यो अवस्थामा कुन गीत गाउने र कुन नगाउने भन्ने ठूलो द्विविधा थियो । त्यसैले छानेर केही गीतमात्रै गाएँ ।’ पछिल्लोपटक बजारमा आएको आफ्नै एल्बम ‘जीवन’ भने राजकुमारको चिनारी नेपाल सांगीतिक फाँटमा स्थापित गर्न पर्याप्त रह्यो । मानिसको जीवनमा आइपर्ने उतारचढावका घटनालाई समेटेर एल्बम तयार पारेका राजकुमारले यसपछि अझै राम्रो प्रतिक्रिया र दर्शकको हौसला पाए । सामाजिक काममा समेत सक्रिय प्रधान हाल बस्दै आएको चावहिलस्थित टोलका विभिन्न क्लबले आयोजना गरेका कार्यक्रममा वाद्यवादनसमेत गर्दछन् । उनी  महाभूकम्पपश्चात विभिन्न ठाउँमा गएर राहत वितरण कार्यमा सक्रिय भए । कर्म नेपाल नामक संस्थामार्फत उनले भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको ‘अ डे फर नेसन’ अर्थात् ‘राष्ट्रका लागि एकदिन’ नामक सांगीतिक कार्यक्रममा आफ्नो गायन प्रस्तुत गरे ।

रेडियो नेपाल, गोर्खा एफएम, कान्तिपुर एफएमलगायत थुप्रै नाम चलेका रेडियोमा आफ्नो आवाज पस्किसकेका राजकुमारले सन् २००६ मा ग्यालेक्सी मोडलिङ एजेन्सीले १०औँ साग खेलकुदका पदक विजेताहरुको सम्मानमा आयोजना गरेको कार्यक्रममा आफ्नो बेजोड प्रस्तुति पेस गरेका थिए । उनले नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय नाचघरले आयोजना गर्ने कार्यक्रममा समेत आफ्नो गायन प्रस्तुति पेस गर्दै आएका छन् । नेपाल टेलिभिजनले वार्षिक रुपमा आयोजना गर्ने एनटिभी नाइट, शुभारम्भ नाइटलगायत थुप्रै चर्चित सांस्कृतिक कार्यक्रममा उनले आफ्नो गायन कला प्रस्तुत गर्दै आएका छन् । थुप्रै गायन प्रतियोगितामा निर्णायकको भूमिकासमेत निर्वाह गरिसकेका राजकुमार स्टेज कार्यक्रम तथा कन्सर्टहरुमा समेत रुचाइएका गायक हुन् ।

अमर गुरुङको रचना, संगीत तथा संयोजन गरेको ‘जुन तारासँग दोहोराई सोधी रहेछु, मधुवनभरि म उनलाई खोजी रहेछु’ नामक नयाँ गीत अब राजकुमारको स्वरमा छिट्टै बजारमा आउनेछ । यसबाहेक वरिष्ठ गायक अमर गुरुङकै शब्द–रचना, संगीत तथा संयोजनमा तयार पारिएका थप दुई गीतमा राजकुमारको स्वर कस्तो सुनिएला ? अहिले उनका थुप्रै प्रशंसकहरुलाई यसको व्यग्र प्रतीक्षा छ । राजकुमार भन्छन्, ‘नेपाली सांगीतिक फाँटका एक अमर तारासँग काम गर्न पाउनु साँच्चै मेरा लागि ठूलो अवसर र चुनौती पनि हो । म उहाँसँग काम गर्न पाउनुलाई ठूलो भाग्य ठान्दछु र उहाँकै आशीर्वादले धेरै लगनशील र मिहिनेती भएर उहाँका गीतमा काम गरिरहेको छु । आशा छ, यसपटक पनि मेरा प्रिय दर्शकहरुलाई मैले न्याय गर्न सक्नेछु ।’

प्रतिक्रिया