नेपाली खेलकुदको भविष्य

bothकाजानमा भएको विश्व पौडी च्याम्पियनसिपमा नेपालबाट सहभागी तीन जना खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गरे । गौरीका सिंह, शिरीष गुरुङ र स्नेहा शाहले काजानमा राष्ट्रिय कीर्तिमान कायम गरे । अन्तर्राष्ट्रिय स्तरमा एकदमै कमजोर रहँदै आएको नेपाली पौडी यी तीनको सफलतापछि अलिकति भए पनि आशावादी हुने ठाउँ देखिएको छ ।

किर्गिस्तानको बिस्केकमा भएको एपएफसी यु–१६ फुटबल प्रतियोगितामा छनोट चरण पार गर्दैै नेपाल अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । योभन्दा केही समयअघि काठमाडौंमा भएको दक्षिण एसियाली यु–१९८ फुटबल प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । यी यावत् सफलताका बाबजुद नेपाली खेल प्रशासन जुन ढंगले चलेको छ त्यसबाट ढुक्क गर्न सकिने अवस्था त छैन तथापि पछिल्ला पुस्ताका केही खेलाडीको प्रदर्शनले नेपाली खेलकुदमा आशा गर्न सकिने ठाउँ जगाएको छ ।

रुषको काजानमा भएको १५औँ फिना विश्व पौडी च्याम्पियनसिप संसार भरी अमेरिकी दबदबाको अन्त्य भएको पौडी च्याम्पियनसिपको रूपमा चिन्छन् । त्यसै पौडी च्याम्पियनसिपमा केटी लेडेक्कीको वरपर अमेरिकी पौडी रहेको थियो । अमेरिका च्याम्पियन त भयो तर विगत २० वर्षको सबैभन्दा कमजोर प्रदर्शनको रूपमा रह्यो । नेपालीभन्दा धेरै माथिल्लो स्तरको यो प्रतिस्पर्धाले नेपाली खेल क्षेत्रलाई खासै प्रभाव राख्दैनथ्यो । आफ्नै स्तरमा रूमल्लिइरहेको नेपाली पौडीले सन्तोष गर्ने ठाउँ भेटेको थियो । प्रतियोगितामा सहभागी तीनै नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान गर्न सफल भए । तीनै खेलाडी १५ वर्षभन्दा मुनिका भएका कारणले यिनको थप उन्नति हुने सम्भावनाले नेपाललाई अझ बढी आशावादी बनायो ।

यी तीन खेलाडीको पृष्ठभूमि भने अलि फरक थियो । स्नेहा र शिरीष ओलम्पिक परियोजनाअन्तर्गत विदेशमा प्रशिक्षण गरिरहेका खेलाडी हुन् भने गौरिका लन्डनमा बस्दै आएकी छिन् । प्रतियोगिताको दौरान मात्र नेपाल आउने गरेकी उनले हरेक प्रतियोगितामा आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान आफँैले भंग गर्दै आएकी छिन् । उनकी आमा गरिमा सिंहकै अनुसार उनी १६ वर्ष पार गर्दा बेलायतको राष्ट्रिय टोलीमा रहन सक्ने क्षमताकी हुने छिन् । त्यसो भएमा पनि गौरिकाले सधैँ नेपालको प्रतिनिधित्व गर्ने उनी बताउँछिन् । गरिमाकै कुरालाई आधार मान्दा गौरिका कमसेकम दक्षिण एसियाली वृत्तमा प्रभाव पार्नसक्ने खेलाडीको रूपमा स्थापित हुने छिन् ।

kazolगएको वर्ष युवा टेनिस खेलाडीले पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरे । कतारमा भएको एसियन जुनियर टेनिसमा नेपालले तेस्रो स्थान हात पा¥यो । टोलीमा रहेका संरक्षक भूषण बज्राचार्यले पनि त्यसपछि थाइल्यान्डमा भएको एक टेनिस प्रतियोगितामा स्वर्ण पदक जिते । उनको प्रदर्शनले अन्तर्राष्ट्रिय टेनिस जगत् पनि अचम्ममा प¥यो । उनको प्रदर्शनको त एसियाका लागि आइटिएफ डेभ्लपमेन्ट अफिसर सुरेश मेननले समेत खुलेर प्रशंसा गरेका छन् । महिलातर्फ ऐरा राउत र एनी माथेमा एसियाली स्तरको प्रतियोगितामा फाइनल प्रवेश गरे । थाइल्यान्डमा गत महिना प्रशिक्षणको दौरान भएको प्रतियोगितामा पनि नेपाली खेलाडीले उत्तिकै सानदार प्रदर्शन गरे ।

नेपाली तेक्वान्दोको विगत अत्यन्त गर्विलो छ । त्यो गर्विलो इतिहास र सनसनीपूर्ण प्रदर्शनको शृंखला खस्कँदै जादा मलेसियामा भएको एक प्रतियोगितामा अस्मिता खड्का र काजल श्रेष्ठले स्वर्ण पदक जिते । प्रतियोगितामा काजल उत्कृष्ट खेलाडी घोषित भइन् । जुनियर तहमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी काजल नै नेपाली तेक्वान्दोको भविष्यको स्टार हुनेमा उनका प्रशिक्षक नवीन श्रेष्ठ आशावादी रहेका छन् । ‘उनीबाट आशा गर्न सकिने धेरै ठाउँ छ । तथापि भविष्य चुनौतीपूर्ण पनि छ ।’ तेक्वान्दोका साहयक मुख्य प्रशिक्षकसमेत रहेका श्रेष्ठ भन्छन् ।

यसबीचमा नेपालले उमेर समूहमै दक्षिण एसियाली स्तरको प्रतियोगितामा सफलता हात पा¥यो । जुन सफलता नेपालले २२ वर्षमा पाएको पहिलो सफलता थियो । १५ वर्षमै राष्ट्रिय टोलीमा स्थान बनाएका विमल घर्ती मगरको नेतृत्वमा उपाधि जितेका नेपाली टोलीका अनन्त तामाङ र अञ्जन विष्ट अन्य हेर्नलायक खेलाडी बने । बेल्जियममा रहेर त्यहाँको क्लबमा अभ्यास गरिरहेका विमलले त्यो अनुभवको पूर्ण उपयोग गरेपछि नै नेपालको उपाधि यात्रा सम्भव भएको थियो ।

विश्वकप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको छनोट चरणमा नेपाली टोली फितलो साबित भयो । यसका बाबजुद जर्सीसँगको खेलमा मात्र मौका पाएका सिद्धान्त लोहनीले त्यस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफूमा थुप्रै सम्भावना भएको पुष्टि गरे ।

जहाँसम्म जुडोको प्रसंग छ, राष्ट्रिय टोलीमा व्यापक परिवर्तन भयो । नयाँ पुस्ताको उदय भएको छ । यो नयाँ पुस्तामा मनीता प्रधान अर्की प्रतिभाशाली खेलाडीको रूपमा उदाइन् । यसै वर्ष चेसमा रूपेश जयसवाल र विवेक थिङले उत्कृष्ट प्रदर्शन गरे । एसियन जोनल थ्री प्वाइन्ट टुमा उत्कृष्ट प्रदर्शन गर्दै रूपेश फिडे मास्टर बन्न सफल भए । उनी यो वर्ष २२०० रेटिङ पार गर्न सफल भए । विवेकले भने भारतमा भएको दिल्ली ओपनको सुरुआतमा सानदार प्रदर्शन गरे । लगातार पाँच चरणसम्म अपराजित रहँदै उनले नेपालीको माझमा कीर्तिमान कायम गरे । यी दुवै खेलाडी विश्व बुद्धिचाल महासंघ (फिडे)का अध्यक्ष किर्सानको पहलमा रुसमा चेस छात्रवृत्ति पाएर अध्ययनका लागि गइसकेका छन् । ६ वर्षे कोर्स पूरा गरेर फर्कंदा यी दुवै खेलाडी ग्रान्डमास्टर हुने अपेक्षा नेपाल बुद्धिचाल संघले गरेको छ । यसै वर्ष एमच्योर च्याम्पियन भएका क्षितिज भण्डारी एक वर्षअघिसम्म नेपाली चेसमा चर्चामा रहेका थिएनन् । पछिल्लो समय उनको प्रदर्शनले क्षितिज पनि हेर्न लायक खेलाडीका रूपमा उदाउने सम्भावना देखिएको छ । उनी घरेलु बुद्धिचालमा प्रभाव जमाइरहेको थापाथली चेस पार्कका उत्पादन हुन् ।

भलिबलको महिला स्पर्धामा न्यू डाइमन्ड क्लब खेलाडी उत्पादनका सवालमा अग्रणि मानिन्छ । त्यसै न्यू डाइमन्डकी प्रतिभा माली १३ वर्ष हुँदा नै नेपालको हेर्नलायक खेलाडीका रूपमा स्थापित भएकी छिन् । उनकै कारण न्यू डाइमन्ड अहिले पनि हेर्नलायक टोलीको रूपमा रहेको छ । नेपाली खेलकुदको विगत हेर्दा उमेर समूहको स्तरीयता राष्ट्रिय तहमा कमै देख्न पाइन्छ । राज्यको प्रस्ट नीतिको अभाव र प्रशिक्षण शैली एवं सही समयमा एक्स्पोजर नपाउने जस्ता कुराले उमेरअनुसारको स्तर वृद्धिमा कठिनाइ भएको जानिफकारहरू बताउँछन् । यसबीच यी स्टारहरूको भविष्य पनि निश्चित छैन । परन्तु गत वर्षको स्तरीयताले यी खेलाडीबाट आशा गर्न सकिने ठाउँ भने देखिएको छ ।

प्रतिक्रिया