कोषका कर्मचारीका लागि सरकारले रकम छुट्याएको छैन

पशुपतिनाथ मन्दिरको रकममा पशुपति विकास कोषले मनोमानी गरेको आरोप लागेपछि कोषका सदस्य सचिव डा.गोविन्द टण्डनले त्यस आरोपको खण्डन गरेका छन् । आफ्नो कार्यकाल स्वच्छ छवि बनाएरै पूरा गर्ने अभिलाषाले आपूmले काम गरेको धारणा उनले राखेका छन् । त्यसकै आधारमा आपूmमाथि लागेको आरोपको पनि खण्डन गरे । पशुपति विकास कोषमा जम्मा भएको रकमले त्यहीँका कर्मचारी पाल्न गाह्रो हुने गरेको उनको भनाइ छ । पशुपति विकास कोष र यसको आर्थिक पक्षसँग सम्बन्धित भएर उनीसँग गरिएको कुराकानीको सार संक्षेप :

hqdefault copyपशुपतिनाथ मन्दिर र वरपरका क्षेत्रबाट वार्षिक आम्दानी कति हुन्छ ?
पशुपतिनाथ मन्दिर र त्यस क्षेत्र वरपरबाट १३ करोड आम्दानी हुने गरेको छ । त्यस रकममा पनि विशेष पूजा, चन्दा, भेटीबाट ८ करोड आम्दानी हुने गरेको छ भने बाँकी रकम वरपरको क्षेत्रबाट उठ्ने गरेको छ । जस्तै : पार्किङ, वरपरका पसलको भाडा आदि ।

पशुपतिनाथ मन्दिर र पशुपत परिसरबाट वार्षिक ३० करोड आम्दानी हुन्छ रे नि ?
पशुपतिनाथ मन्दिर र पशुपति परिसरबाट वार्षिक ३० करोड आम्दानी हुन्छ भन्ने आरोप मात्र हो । पशुपतिनाथको सबै रकम पारदर्शी छ । पशुपतिनाथ मन्दिर र त्यस क्षेत्र वरपरबाट मात्र १३ करोड आम्दानी हुने गरेको छ ।

त्यो रकम कहाँकहाँ खर्च हुन्छ त ?
सरकारले लुम्बिनी विकास कोष, जनकपुर विकास कोषका कर्मचारीका लागि बजेट छुट्टयाए पनि पशुपति विकास कोषका कर्मचारीको लागि कुनै रकम छुट्याएको छैन । जसका कारण कर्मचारीको पूरा जिम्मेवारी कोष आफैँले लिनुपरेको छ । त्यस्तै, हरेक चाडपर्व, जात्रा सबै कोषको खर्चबाट नै चलाउने गरिएको छ । कोषले ४६ लाख रकम भट्ट भण्डारीको तलबमा मात्र खर्च गर्ने गरेको छ । त्यस्तै, पशुपतिनाथ मा ५२ वटा भैरव पर्वहरु मनाइन्छन् । ती सबै पर्वका लागि विकास कोषले नै खर्च जुटाउने गरेको छ ।

त्यस्तै, यहाँका भण्डारीहरुका लागि सेवा भत्ता, प्रसूति भत्ता, शैक्षिक खर्च, क्रिया खर्च आदि दिने गरिएको छ । यसैगरी, भण्डारी कल्याण कोषमा २७ लाख दिने गरिएको छ । जसका कारण भण्डारीहरुका लागि मात्र १ करोड १३ लाख ४९ हजार रुपैयाँ खर्च हुन्छ । पहिले त विवाह खर्च पनि दिने चलन थियो तर बिहे आपूmखुसी गरिने भएकाले अहिले त्यो रकम भने दिने गरिएको छैन ।

भनेपछि पशुपति विकासका लागि रकम खै त ?
पशुपति परिसरको विकासका लागि रकम सरकारले दिने गरेको छ । अरू खर्च भने आपैmँले पु¥याउनुपर्छ तर कोषले ५२ वटा पर्वबाहेकका नयाँ पर्वहरुलाई भने कुनै पनि रकम दिँदैन । पशुपति परिसरमा छठ पर्वलाई समेत रकम दिने गरेको छ । नयाँ पर्वलाई रकम नदिँदा त्यही निहुँले कोषलाई आक्षेप लगाउने गरेका छन् ।

कर्मचारी पनि अनावश्यक राखेको आरोप छ नि त ?
२०६६ सालदेखि कुनै पनि कर्मचारी राखिएको छैन । यहाँ योग्यता भएको मान्छले जागिर पाउँछ । जो कोहिले जागिर खायो भन्नु आरोप मात्र हो । यहाँ भर्ना भएका कर्मचारी पनि नियम, नियमावलीमा व्यवस्था भएको प्रक्रिया पूरा गरेर नै आएका हुन् ।

विकास कोषमा स्थानीय मान्छे एक प्रतिशत मात्र छन् भन्ने आरोप छ, अरू सबै बाहिरका छन् रे ? अहिले देश विभिन्न प्रदेशमा सीमांकित भयो । अब स्थानीयले अवसर पाउलान् त ?
संविधानअनुसार नै हुन्छ । संविधान भर्खर मात्र आएको छ । अब यसले नियम, नियमावली बनाउँछ अनि त्यहीअनुरूप सबै काम हुन्छ । अहिले यही हुन्छ भन्ने हुँदैन । अब सब संविधानमा उल्लेख भएअनुरूप हुन्छ । नियमभन्दा माथि त कसैले पनि जान मिल्दैन नि ।

अहिले कोषअन्तर्गत सञ्चालित नेपाल वेद विद्याश्रमका शिक्षकले आन्दोलन र धर्ना गरिरहेका छन्, उनीहरुको माग के हो ?
यो समस्या भनेको ७ वर्षअगाडिको हो । उहाँहरु तत्काल निर्यण होस् भन्ने चाहना राख्नुहुन्छ तर यो सम्भव हुँदैन । हरेक कामको एउटा प्रक्रिया हुन्छ । त्यही प्रक्रियामा रहेर हामीले आफ्नो काम कारबाही गर्नुपर्ने हुन्छ तर उहाँहरु प्रक्रियामा पुग्ने समयसम्म पनि कुर्नुहुन्न र आन्दोलन, धर्ना जस्ता क्रियामा जानुहुन्छ । उहाँहरुको माग भनेको अरू शिक्षकसरह सुविधा पाउनुपर्ने, सञ्चय कोष, उपदान सेवा हुनुपर्ने, शिक्षकलाई उनीहरुको योग्यताअनुरूप स्थायी गर्नुपर्ने आदि जस्ता माग छन् । जुन मागहरु कतिपय पूरा भइइसकेका छन् भने कतिपय मागमा निर्णय हुन मात्र बाँकी छ ।

नेपाल वेद विद्याश्रम किन विकास कोषद्वारा सञ्चालित भयो ? यसअघि कसले हेथ्र्यो ?
पशुपति विकास कोषभन्दा अगाडि गुठी संस्थानले यसलाई हेर्ने गरेको थियो । तर ७ वर्षदेखि कोषले हेर्ने गरेको छ । कोषले लिएदेखि यहाँ केही सकारात्मक परिवर्तन भएको छ । केही परिवर्तन हुन बाँकी छ । जस्तै शिक्षकको बारेमा केही निर्णय हुन सकेको छैन । यस्तै अरु केही विषयहरु पनि छन्, जसका बारेमा हामी समयसान्दर्भिक परिवर्तन गर्दै जानेछौँ ।

पशुपति वरपरका व्यापारी व्यवसायीले मान्छेहरुलाई ठग्ने र नकारात्मक सन्देश दिने काम गरिरहेका छन् भन्ने सुनिन्छ नि ? यसबारे कोषको के धारणा छ ?
यसबारेमा धेरै नै गुनासो आउने गरेका छन् । यो उनीहरुको आआफ्नो व्यापार व्यवसाय हो । यसलाई हेर्ने जिम्मेवार निकाय भनेको स्थानीय प्रशासन हो । प्रशासनले नै हेर्नुपर्ने हो । तर, विकास कोषले पनि समय समयमा हेर्ने गरेको छ । धेरैै हेर्न सम्भव पनि छैन तर विकास कोषका कर्मचारीले निरीक्षण गर्दा अगाडि नठग्ने पछि चाहिँ ठग्ने, जबरजस्ती सामान किन्न लगाउने जस्ता काम गरिरहेको पाइएको छ ।

अहिले विकास कोषले पशुपति क्षेत्र विकासका लागि के काम गरिरहेको छ त ?
अहिले मुख्य काम भनेको विद्युतीय शवगृह बनाउने थियो । अहिले यो काम पूरा भएको छ । अस्ति दुईवटा शव जलाएर सफल परीक्षण गरिएको छ । अब यसको उद्घाटन कसले गर्ने भन्ने हो । यसको उद्घाटन गरेपछि यो विद्युतीय शवगृहले काम गर्न थाल्छ । त्यस्तै अहिले अर्को मुख्य काम भनेको पशुपति वरपरको बाटो बनाउनु पनि रहेको छ । यही काम अहिले भइरहेको छ । वरपरको बाटो तयार भए पछि पशुपति परिसरको मुहार नै अर्को हुन्छ । हामी निरन्तर यसको विकास, संरक्षण र संवद्र्धनका क्षेत्रमा क्रियाशील छौँ ।

प्रस्तुति : सरला बैजु

प्रतिक्रिया