अस्तित्व रक्षाका लागि पुस्तक र सिनेमा

bekhmanसंविधानसभाबाट तयार पारेको संविधानमा नेपाललाई बहुजातीय राज्यका रुपमा परिभाषित गरिरहँदा पनि आफ्नो जातीय पहिचान र मौलिकता झन खतरामा परेको ठहर छ बेखामान बलामीको । नेवारहरुका विभिन्न प्राचीन जाति÷थरमध्ये पर्ने बलामी जातिको पहिचान र अस्तित्व नै सखाप हुने चिन्ता उनमा थपियो । त्यसैले त आफ्नो जातीय अस्तित्व र इतिहास बँचाउनकै लागि ‘बलामी’ शीर्षक राखेर पुस्तक लेख्न हौसिए लेखक बेखमान । उनी भन्छन्, ‘बलामी भाषा भनेको तामाङ भाषा भन्ने मान्छेको धारणा छ, त्यही धारणा परिवर्तन गर्न मैले पुस्तक लेखेको हुँ ।’
उनी भन्छन्, ‘बलामी जातिको पुरानो वासस्थान काठमाडौं उपत्यका भए पनि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा युद्धमा बलामीले सहयोग नगरेको आरोप लगाए । अनि, उनीहरुलाई काठमाडौंबाट बसाइँ सर्न बाध्य पारियो । उनीहरु चित्लाङ, कुलेखानी, फर्पिङ, थानकोट, इचन्गु, रामकोट, सितापाइला, बालाजु हुँदै नुवाकोट, टिस्टुङ आदि स्थानमा बसोबास गर्न बाध्य भए । यो यथार्थ इतिहास बलामी जातिको दुखद् कथा बनेको छ ।’

बेखामानले पुस्तकलाई एउटा छुट्टै पहिचान दिने कोसिस गरेका छन् । यसमा उनले बलामीको इतिहासलाई समेट्ने जमर्को पनि गरेका छन् । उनले तीन वर्ष बलामी जातिको अध्ययनपश्चात मात्र पुस्तक तयार पारेका हुन् । यसअघि नै उनी एउटा पुस्तक रचना गरेर लेखकका रुपमा स्थापित बनिसकेका छन् । त्यसमा उनले नेपाल र नेवारी इतिहासलाई समेट्ने प्रयास गरेका थिए । यो पुस्तकमा भने उनले विशेष रूपले बलामीलाई मात्र आफ्नो मूल विषयवस्तु बनाएका छन् ।

balami‘दोलखाको नेवारी भाषा नै बलामी भाषा हो तर यसलाई काठमाडौंमा तामाङ भाषा भनिँदो रहेछ,’ उनले भने, यसै गलत धारणालाई परिवर्तन गर्न मैले पुस्तक तयार पारेका हुँ ।’ लिच्छवी कालदेखि नै बलामी भाषा प्रचलनमा रहे पनि यसलाई लिखित रूपमा नराखेका कारण भाषा ओझेलमा रहेको बेखमानको भनाइ छ । तर लिखित रूपमा नरहे पनि बलामी भाषा संरक्षित रूपमा रहेकोमा उनी खुसी व्यक्त गर्दै भन्छन्, ‘काठमाडौंको नेवारी भाषाको निकट मानिन्छ बलामी भाषा ।’ काठमाडौंको नेवारी भाषा र दोलखाको नेवारी भाषामा धेरै फरक भए पनि लेखकको विचारमा काठमाडौंको नेवारी भाषाको निकट मानिन्छ बलामी भाषा । तर दोलखाली भाषाभन्दा निकै फरक देखिन्छ बलामीहरुको नेवारी भाषा । दोलखाली भाषामा तामाङ मिसिएको हुन्छ तर बलामी भाषा भनेको प्राचीन किरातकालीन भाषा हो । बेखामान भन्छन्, ‘काठमाडौंको नेवारी भाषा भनेको बुद्धिजीवीहरुले छाँटकाट गरी बनाइएको भाषा हो । त्यसैले यसमा भाषाको मिठासपन छ तर चित्लाङको नेवारी भाषा भनेको प्राचीन नेपाल भाषा हो, जसले आफ्नै पहिचान बोकेको छ ।’

१३औँ शताब्दीमा पाटनका राजा जितारी मल्लले बलामीहरुलाई लखेटेको भनाइ छ । बेखमान भन्छन्, ‘बलामीहरुले प्राचीन संस्कृति अहिलेसम्म छोडेका छैनन्, उनीहरुको आफ्नै पहिचान झल्काउने परम्परा र रीतिरिवाज छ ।’ बलामीहरु हिन्दु धर्ममा नै विश्वास गर्छन् । उनीहरुको विशेष पर्व भनेको हिलेनाच, कार्तिक नाच, सुन्तिप्याँख, महालक्ष्मीको रथयात्रा र महाचुनी जात्रा नै हो । यो उनीहरुको आफ्नै विशेषता भएको पर्व पनि हो । जसले बलामीलाई आफ्नो पहिचान देखाउन सहज भएको छ । बेखमानको पुस्तकमा यी सबै कुरालाई समेट्ने प्रयास गरिएको छ । उनको ‘बलामी’ पुस्तकमा नेपाल भाषा, दोलखाली भाषा, भक्तपुरको भाषा, बलामी भाषा र काठमाडौंको भाषाबीचको भिन्नतालाई दर्साउने प्रयास गरेका छन् ।

उनी भन्छन्, ‘जबदेखि बुझ्ने भएँ त्यही बेलादेखि यो बलामी जातिसम्बन्धी केही लेख्नुपर्छ जस्तो लाग्थ्यो ।’ उनले बाल्यकालदेखि नै कुनै पनि फारम भर्दा ‘नेवार’ लेख्नुपथ्र्यो । तर कुन नेवार, कुन खलकका नेवार आदि प्रश्न तेर्सिएपछि उनले बलामीसम्बन्धी अध्ययन गर्ने जमर्को गरेका थिए । अध्ययनमा सांस्कृतिक पक्षले हेर्दा नेवारमै सबैभन्दा धनी बलामी जाति भएको पाइएको उनले उल्लेख गरेका छन् । त्यसैले उनले पुस्तकमा यी सब पक्षलाई समेटे । उनले बलामीको परिचयदेखि इतिहास समेट्ने कोसिस गरे । उनले विशेष गरी भाषा चिनाउन बलामी भाषाको साथै अंग्रेजीलाई पनि राखेका छन्, जसले पाठकलाई पढ्न अझ सहज होस् भन्ने उनको अभिप्राय हो । उनी भन्छन्, ‘भाषा पढ्दा रमाइलो होस् भनेर संवाद राखिएको छ ।’ पुस्तकमा एउटा पर्यटक घुम्न जाँदा उसले प्रयोग गर्ने भाषाको बारेमा संवाद गरी भाषाको ज्ञान बढाउने विश्वास गरिएको छ । पुस्तकमा क्रियापदबाहेक झन्डै अन्य शब्दकोश पनि समेटेको छ । पुस्तकले उनले बलामीसम्बन्धी जानकारी दिने विश्वास गरेका छन् ।

त्यस्तै, उनले बलामीबारे अझ धेरै जानकारी दिन फिल्म पनि बनाउने सुर कसेका छन् । उनी भन्छन्, ‘बलामीको मुख्य पेसा भनेको कृषि नै हो । त्यसैले फिल्ममा एउटा जेहेनदार र मेहनती युवाको कथा समेट्ने बताए । जसले सहरको बसाइ कठिन भएपछि गाउँमा गएर कृषि पेसा गरी एउटा सफल कृषक बनाएको कथा छ । उनले यस चलचित्रबाट पनि निकै अपेक्षा राखेका छन् । उनी भन्छन्, ‘निकै कम बजेटमा फिल्म बनाउने सोच राखेका छौँ, जसले बलामी जातिलाई चिनाउन पनि सक्षम हुनेछ ।’

प्रतिक्रिया