किरिया खर्च खोज्दै खास्ता

khastaकाभ्रेपलाञ्चोक । भूकम्पमा परेका मृतक परिवारले पाँच महिनासम्म किरिया खर्च पनि पाएका छैनन् । सरकारले मृतकका प्रतिपरिवारलाई एक लाख र किरिया खर्चबापत ४० हजार दिने निर्णय तत्काल नै गरेको हो । तर, ५ महिनासम्म मृतक परिवारले किरिया खर्च पनि नपाएको गुनासो गर्न थालेका छन् । यसले नै नेपालको प्रशासन कति चुस्त छ भन्ने कुराको प्रमाण दिन्छ ।

काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा दर्शन गर्न आएका बेला बुधाबारे–८ झापा घर भई काठमान्डौ चाबहिलमा बस्दै आएका राजकुमार धिमालको गत वैशाख १२ गते आएको भूकम्पमा परेर मृत्यु भएको थियो । उनको मृत्य भएको ५ महिना बितिसक्दा पनि उनको परिवारले किरिया खर्च पनि नपाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेमा राजकुमारकी श्रीमती खास्ता धिमलाले किरिया खर्चबापत ४० हजार र प्रतिपरिवारलाई एक लाखका दरले छुट्ट्याएको रकम हालसम्म नपाएको गुनासो गरिन् । ‘सरकारले दिने भनेर घोषणा गरेको रकम ५ महिनासम्म पटकपटक लिन आउँदासमेत पाएकी छैन । एक लाख त के किरिया खर्चबापतको ४० हजार पनि पाएकी छैन । लास दाससंस्कार गर्नका लागि लिएको ५० हजार ऋण पनि तिर्न नसक्दा झनै पीडा थपिएको छ ।’ उनले गुनासो गरिन्, ‘२० हजारभन्दा बढी खर्च भइसक्यो । कहिले झापा जानु भन्छन् कहिले काभ्रे जा भन्छन्, दुईतिरको जिल्ला प्रशासन धाउँदाधाउँदा हैरान भइसकेँ । तर अहिलेसम्म हात लाग्यो शून्य छ ।’ उनलाई झापा जाँदा काभ्रे पठाउँछन् काभ्रे पुग्दा झापा जानू भन्छन् । ‘मैले कतिपटक हिँड्नु ? न त किरिया खर्च नै पाएकी छु न त राहत नै,’ उनले मलिनो स्वरमा आँखाभरि आँसु झार्दै भनिन् ।

khasta2काठमाडौँ चाबहिस्थित रिभेरा इन्टर नेसनल स्कुलको गाडी विगत १५ वर्षदेखि चलाउँदै आएका धिमाल शनिबार परेकाले पलाञ्चोक भगवती मन्दिर दर्शन गर्न आएका थिए । खास्ता भन्छिन्, ‘देवीको दर्शन गरेर आउँछु भन्नुहुन्थ्यो तर फर्किनुभएन । के गर्ने ? झन पीडामाथि पीडा थपिएको छ । प्रशासनका मान्छे दुःख दिने काम मात्रै गर्छन्, मेरो भन्नु कोही छैन, एक छोरा र एक छोरीबाहेक,’ उनले दुखेसो पोखिन् । छोराछोरीलाई राम्रोसँग पढाउनकै लागि उनी गलैँजा मजदुरी गर्छिन् श्रीमान् गाडी चलाउँथे । तर, भूकम्पका कारण श्रीमान्को ज्यान गएपछि अहिले उनलाई समस्याले थिचेको छ । उनी पीडा पोख्छिन्, ‘मलाई मर्नु न बाँच्नु भएको छ ।’ श्रीमान् गुमेकी उनलाई छोरा अनिश र छोरी अजिताको भविष्यबारे चिन्ता लाग्छ ।

सानो हुँदा हुर्काएर पढायो बुबा पनि नहुँदा एक्लैले कसरी हुर्काउने भनने चिन्ताले नलाई सताइरहन्छ । ‘के गर्ने ठूलो भए पनि छोराछोरीलाई जोगाउनै गाह्रो हुन्छ,’ उनी चिन्ता व्यक्त गर्छिन् । छोरा अनिश कक्षा ११ र छोरी कक्षा १२ मा पढ्छन् । तर, आफ्नो सन्तानको भविष्य निर्माणका लागि आमा भने काठमाडौंस्थित चाबहिलको गल्लीभित्र नङ मासु खियाउँदै छिन् । भूकम्पमा परी ज्यान गुमाएकाले किरिया खर्च पाए तर उनले पाइनन् । अहिले उनी सरकारले प्रदान गर्ने पाउँला अनि किरिया खर्चको लागि लिएको ऋण तिरौँला भन्ने आशामा छिन् । ‘के गर्नु ? पहुँच हुनेले सबै मिलाए, आफ्नो कोही छैन, त्यसैले सास्ती खेप्नु परेको छ,’ यसो भनिरहँदा उनको आँखाको गह आँसुले भरिएको थियो ।

प्रतिक्रिया