‘कोषको काम पैसा कमाउने मात्र भयो’

विगत ३५ वर्षदेखि पशुपतिनाथ मन्दिरमा भट्टका रूपमा कार्यरत केदारमान भण्डारी हालको व्यवस्थादेखि असन्तुष्ट छन् । उनले अनुभवले त्यहाँ हाल भएको व्यवस्थामा परिवर्तन नगरेसम्म पशुपतिनाथ मन्दिरको विकास सम्भव छैन । त्यसका लागि आर्थिक पारदर्शिता मुख्य हुन आँउछ । पशुपतिनाथको आर्थिक स्रोतको पारदर्शिता नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत दर्ता गरिएको थियो । सर्वोच्च अदालतले पनि उक्त मुद्दामा फैसला गरिसकेको अवस्था छ । सर्वोच्च अदालतले दिएको आदेशबमोजिम पूजा व्यवस्था, सफाइ, पुनर्निर्माण र आयस्रोतको समेत पारदर्शिता हुन नसकेको भन्दै साउन १७ गतेदेखि थालिएको एक महिने अल्टिमेटम आन्दोलनका बारेमा जानकारी लिन पशुपति मन्दिरका केदारमान भण्डारीसित गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ :

kedar_bhandariसाउन १७ गतेदेखि थालिएको एकमहिने अल्टिमेटम आन्दोलनको उपादेयताबारे बताइदिनुहुन्छ कि ?
०७१ असोज २२ गते सर्वोच्च अदालतले दिएको आदेशबमोजिम पूजा व्यवस्था, सफाइ, पुनर्निर्माण र आयस्रोतको समेत पारदर्शिता हुन सकेको छैन । अमालको कचहरी जयवागेश्वरी भण्डार तहबिल र पशुपति भण्डारलाई एउटै द्वारबाट सञ्चालन गर्ने योजनाअनुरूप पशुपति क्षेत्र विकास कोषले पहिलो कुरा पाशुपत क्षेत्रमा सञ्चालित वर्षको २२ वटा भन्दा बढी जात्रा पर्वका लागि खर्च र पशुपतिको धर्मस्व, देवस्व जात्रा, पर्व संरक्षक स्थानीय ९ जातका नेवारहरूको रक्षार्थ कुनै खर्च दिने गरेको छैन । फलस्वरूप, हामीले पाशुपत क्षेत्रका संरक्षक भट्ट, भण्डारी, विशेट, ज्यापु, द्योला, राजभण्डारी, वैद्य, कुस्ले, कपालीलगायतको अस्तित्व रक्षा हुने कार्य नभएपछि कोषका अध्यक्षसमेत रहेका संस्कृतिमन्त्रीसमक्ष ११ सूत्रीय माग राखी आन्दोलनमा उत्रिएका हौँ ।

यहाँ उठेको रकम कहाँ जान्छ र कसरी खर्च हुन्छ ?
हामी भट्ट, भण्डारी नै हौँ पशुपति क्षेत्रको मूल ढुकुटीको साँचो समाउने । तर सुन, चाँदी र अरू भौतिक सम्पत्तिको जिम्मेवारी मात्र भट्टहरूले लिनुपर्छ । एउटा सानो मात्र सामान हरायो भने पनि भट्ट, भण्डारीको निजी सम्पत्तिबाट विकास कोषले असुल्छ । तर, आर्थिक हिसाब किताबमा हाम्रो कुनै सहभागिता रहँदैन । आर्थिक हिसाब किताब सबै पशुपति विकास कोषले नै गर्छ । जसका कारण त्यहाँभित्रको पैसा कहाँ कति गयो भन्ने हामीलाई कुनै जानकारी हुँदैन ।

पशुपतिमा रहेका भट्ट भण्डारीहरूको काम के हो ? उनीहरूको लागि कति पैसा खर्च गरिन्छ ?
हामी भट्ट, भण्डारी पशुपति परिसरमा देखिन्छौँ । तर हाम्रो लागि विकास कोषले कुनै काम नै दिएको छैन । १२ वर्षमा एकपटक एउटा भट्ट, भण्डारीको मन्दिरभित्र बस्ने पालो आउँछ । भट्ट भण्डारीको काम भनेको त्यही एकपटक मात्र हो । विकास कोष उनीहरूलाई १२ वर्षको एकपटक मात्र तलब दिन्छ । जसबापत उनीहरूको तीन जनाको समूहलाई ३ लाख रुपैयाँ दिने गर्छ र भागमा १ लाख पर्छ । एउटा भट्ट वा भण्डारीले विकास कोषबाट पाउने भनेको त्यही एक लाख हो, १२ वर्षमा एकपटक । पशुपतिमा नियमित काम गर्ने कर्मचारी भनेको स्थानीय छैन भने पनि हुन्छ । त्यहाँ भएका सबै कर्मचारी बाहिरबाट वा भनौँ राजनीतिक आधारमा नियुक्त गरिन्छ । स्थानीय १ प्रतिशत मात्र कर्मचारी स्थानीय छन् ।

सरकारले दिने बजेट नै नपुगेर पशुपति क्षेत्र विकास कोषले ती पर्वका लागि खर्चहरू दिन नसकिएको भनिएको छ नि ?
सरकारी बजेटको त हामीले प्रश्न उठाएका छैनौँ, चन्दा भेटीबाट मात्र मासिक दुई करोड उठ्छ । विशेष पूजाबाट तीन करोड, पर्यटक शुल्कबाट पाँच करोड, किरियापुत्री सेवा शुल्कमार्फत् एक करोड ५० लाख, आर्यघाटमा लास जलाएबापत एक करोड रुपैयाँ मासिक उठ्छ भने पार्किङबाट दुई करोड, पसल कबलबाट कम्तीमा एक करोड रुपैयाँ, जग्गा, कुट÷एयरपोर्ट जग्गाभाडाबापत पाँच करोड रुपैयाँ, भोज भागवत आदिबाट दुई करोड ५० लाख र गोठाटारको बालुवा खानीबाट बालुवा ठेक्काबापत पाँच करोड रुपैयाँसमेत गर्दा सरकारी बजेटबाहेक मासिक तीस करोड रुपैयाँभन्दा बढी उठ्छ तर देवस्व÷धर्मस्व, रक्षाका लागि एक पैसा पनि खर्च गरिएको छैन ।

पशुपति विकास कोषले के काम गर्छ त ?
कोषको काम भनेको नै राजनीतिक आधारमा नियुक्त गरिएका ६ सय जनाभन्दा बढी कर्मचारीलाई तलब खुवाउने हो । अरू कुनै काम गरेको छैन । त्यहाँ भएको कुनै कर्मचारीले काम गर्दैनन् । पर्यटकबाट प्रतिव्यक्ति एक हजार लिने मात्र काम गर्छ । तर पर्यटकका लागि कुनै सुविधा छैन । न त बाटो न त शौचालयको नै सुविधा दिन सकेको छ विकास कोषले । पार्किङ पनि उस्तै अस्तव्यस्त छ । यसप्रति विकास कोषले कुनै चासो लिएको छैन । पर्यटकले त्यति पैसा तिरेर हेर्ने भनेको लास जलाउने मात्र हो । त्यसैले विकास कोषले यससम्बन्धी पनि चासो लिनुपर्ने हो । तर विकास कार्यमा उसलाई चासो छैन, पैसा कहाँबाट उठाउने भन्ने मात्र चिन्ता छ ।

देवस्व/धर्मस्व, जात्रा पर्वमा कोषले खर्च गर्दैन भन्नुभयो, कसरी चलिरहेका छन् पशुपति क्षेत्रका जात्रा पर्वहरू ?
वैशाखमा वनकाली जात्रा, जेठमा त्रिशूल जात्रा, भलभल अष्टमी पूजा, असार महिनामा गंगामाई खटजात्रा, गुरुपूर्णिमाका दिन दक्षिणामूर्ति पूजा, साउनमा गंगामगल जात्रा, गाईजात्रा, खड्गजात्रा, जनैपूर्णिमा (तिकिचा जात्रा), कृष्णजात्रा, गँुला धर्मजात्राहरू आ–आफ्नै गुठी वा स्वतन्त्र रूपमा सञ्चालित छन् । त्यसैगरी भाद्र महिनामा हुने तीज, इन्द्रजात्रा, मच्छिन्द्रनाथको पूजा, असोजमा हुने घटस्थापनादेखि ९ दिने गुह्श्वरी जात्रा, कात्तिक महिनाको भिन्तुना ¥याली, महालक्ष्मी कलश जात्रा, मंसिरमा बालाचतुर्दशी, पुस महिनाको भक्तपुर नवदुर्गा जात्रा, योमरी पूर्णिमाका दिन भण्डारी गुथी पूजा र माघ महिनाको माधवनारायण ¥याली स्वस्थानी व्रत, औँशी÷प्रतिपदा पूजामा कोषले उल्टै आम्दानी गर्छ । त्यसैगरी, फागुन महिनामा पर्ने शिवरात्रि र शिवरात्रिअगाडि पशुपतिनाथलाई बुद्ध मुकुटको छाया दर्शन गराउने तिकिचा जात्रा हुन्छ भने चैत्र महिनामा देशोद्धार पूजा (९ थरका नेवारद्वारा पीठपूजा), पाहाँचह्वेत्छलेश्वरी/बजे्रश्वरी जात्रा सञ्चालनका लागि हाम्रा पुर्खाले छोडेर गएको गुठीस्वबाटै चलिरहेको छ । कोषले आर्थिक कारणले बन्द भएका जात्रा पर्वलाई पुनः सञ्चालनका लागि सहयोग गरिदिनुपर्छ भन्ने हाम्रो माग हो ।

अन्त्यमा आन्दोलनले मागेको गाँठी  कुरा चाहिँ भनिदिनोस् न ?
भट्ट र भण्डारीलगायत श्रीकों सेवामा सम्बन्धित हामी एक सय ९३ जनाको संयुक्त हस्ताक्षर गरी कोषका संरक्षक, प्रधानमन्त्री, अध्यक्ष रहेका संस्कृतिमन्त्री र कोषलाई गराएको ज्ञापनपत्रमा खर्च चुस्त दुरुस्त राखी पारदर्शी गर्नुपर्ने, कोषमा पशुपतिसँग प्रत्यक्ष संलग्न भण्डारीलाई प्रतिनिधित्व गराउनुपर्ने, भूकम्पले ध्वस्त संरचनालाई पुनर्निर्माण र पाशुपत क्षेत्रको आयस्रोत सार्वजनिक हितमा लगानी गर्नुपर्ने माग गरेका छौँ ।

प्रतिक्रिया