भूमिगत जीवनदेखि व्यवसायीसम्म

rekha_bastolaदशवर्षे जनयुद्धमा नेपाली जनताले धेरै कुरा गुमाए । कसैले परिवार गुमाए, कसैले आधा शरीर गुमाए, कयौँले आफ्ना जीवनका महत्वपूर्ण क्षण गुमाए । हिजो क्रान्ति र परिवर्तनबाहेक केही नदेख्नेहरू धेरै थिए । आज तिनै राजनीतिक परिवर्तनका संवाहकहरू कुखुरा पालन, बँगुर पालन, तरकारी खेती, चिया पसल गरेर आजीविका गरिरहेछन् । वैदेशिक रोजगारीमा जानेको संख्या पनि ठूलो छ । बन्दुकको नालसँग जुध्दै मृत्युलाई जितेकाहरू आज विगत सम्झेर पछुताउँदै छन् । कतिपय श्रम गरेर खानुपर्छ, श्रमबिना बाँच्नु गलत हो भन्ने धारण बनाएका छन् । हिजो बन्दुक समाएका हातले कुटो र कोदालो चलाएर सिर्जनात्मक कार्यमा संलग्न छन् । मुलुकले भोगेको दशवर्षे युद्धमा लाग्दा जीवन साथी गुमाएकी र अहिले राजनीतिलाई भन्दा आत्मनिर्भरताका लागि व्यावसायिक तरकारी खेतीमा व्यस्त रेखा बाँस्तोला उदाहरणीय बनेकी छिन् । सौर्य दैनिकसँगको कुराकानीमा यसरी आफ्ना विचार राख्छिन् :

पार्टीमा लाग्दा सोचविचार गरेर लागेँ । पारिवारिक सहयोग र साथले युद्धमा होमिएकी थिएँ । कसैको बहकाउमा लागेको होइन । कलेज पढ्दै गर्दा अखिल क्रान्तिकारीमा संगठित भएर राजनीति सुरु गरेकी हुँ । मुलुकमा विद्यमान पुरानो राज्यसत्ता ध्वस्त पारेर नयाँ राज्य व्यवस्था ल्याउन क्रान्तिमा लागेकी थिएँ । मेरा लागि क्रान्तिबाहेक केही थिएन । पहिलो प्राथमिकता क्रान्ति र परिवर्तन थियो । त्यसैले पूर्ण रूपमा लागेँ । उतिबेला माओवादीको युद्धमा लाग्ने सबै अध्ययन गरी आन्दोलनको मर्म बुझेर लागेका थिएनन् । केही मात्र साँच्चै मर्म बुझेर लागेका थिए । त्यसरी लाग्नेहरु अहिले पनि पार्टीको सिद्धान्तमा विचलित छैनन् ।

कतिपय इगोले लागेका थिए, जसको निजी स्वार्थ पूरा गर्ने उद्देश्य थियो । तस्रोथरि, रमाइलो र बाहिरी कुराको आकर्षणले लागेका थिए । मचाहिँ पूर्णरूपेण बुझेर लागेकी थिएँ र आज पनि पार्टीसिद्धान्तबाट विचलित छैन ।

सोलुखुम्बुबाट उच्च शिक्षाका लागि काठमाडौं आएँ । क्यापसमा पढ्नु भन्दाबढी राजनीति हुन्थ्यो, म पनि त्यही माहोल र विचारबाट प्रेरित भएँ । राजनीतिमा संलग्न भएपछि अनेक साथी भेटिए । त्यस्तै साथीहरूबीच विचार र भावना मिल्ने देखेपछि पार्टीकै सल्लाहमा ०५९ पुषमा भीम गिरीसँग बिहे गरेँ । जनताको राज्य व्यवस्था स्थापना गर्ने हामी दुवैको चाहना थियो । हामी आफ्नाबारे भन्दा पार्टीको काममा व्यस्त हुन्थ्यौँ तर सुरक्षाका कारण सँगै बस्ने अवस्था थिएन । दुवैको जीवनको भर पनि त थिएन नि ।

कहिलेकाहीँ सोच्दै नसोची भेट हुन्थ्यो । आ–आफ्ना परिवारलाई भेट्ने सम्भावना थिएन । कसको घर कहाँ भन्नेसम्म थाहा थियो । ०६० मंसिर १७ गते क्षेत्रपाटीबाट उहाँलाई सेनाले गिरप्mतार गरेर बेपत्ता पा¥यो । आजसम्म कुनै खबर छैन । बेपत्ताको पगरीबाहेक राज्यले केही दिएको छैन । म भने हिजो क्रान्तिमा होमिएका दिन र प्राप्तिको मूल्यांकन गरेर बसेकी छु । परिवार बेपत्ता भएको पीडामा कुण्ठित मजस्ता हजारौँ छन् ।

मैले पाँच वर्ष खुला रूपमा संगठनको आन्तरिक काम गरेर ०५७ मा भूमिगत भएँ । पार्टी नै भूमिगत थियो, त्यसैले पूर्णकालीन कार्यकर्ताको नाताले भूमिगत हुनु स्वाभाविकै थियो । उपत्यकामै जनमुक्ति सेनाको भ्याली स्पेसल फोर्समा जिम्मेवारी लिएकी थिएँ । भीमजी पनि जनमुक्ति सेनामै काम गर्नुहुन्थ्यो । दुवै एउटै पार्टी र क्षेत्रमा भए पनि भेटघाट कमै हुन्थ्यो । मुलुक परिवर्तन गर्न हिँडेका हाम्रो अगिपछि मृत्युले छायाजस्तै पछ्याउँथ्यो ।

हामीजस्ता हजारौँ योद्धा कफन बाँधेर मोर्चामा थिए तैपनि हामी क्रान्तिप्रति इमानदार थियौँ । मृत्युको चिन्ता रत्तिभर थिएन । ‘जिते संसार, हारे यो ज्यान’ भन्ने मनमा थियो ।’ मर्न होइन, जित्न क्रान्तिमा होमिएकाले मृत्यसँग डराउन छाडेका थियौँ । कतिपटक मुत्यु हाम्रो नजिकबाट गयो, मृत्युको अनुभूति पनि भयो तर हामीले मृत्युलाई त्यसबेला जित्यौँ ।

राजनीतिमा लागेर पछुताउने केही साथीहरू देख्दा मलाई चित्त बुभ्mदैन । म पनि कफन बाँधेर होमिएकी थिएँ । आवश्यक परे पार्टी र देशका लागि फेरि होमिन तयार छु । मान्छे अजम्बरी छैन, मृत्यु अवश्यंभावी छ, प्रश्न कसरी भन्ने मात्र हो ।

अहिले म पार्टी सदस्यता जोगाउँदै व्यावसायिकतातिर लागेकी छु । मेरो विचारमा हिजो पार्टीले चलाएको क्रान्ति र शान्तिप्रक्रिया अनि आज म जे गर्दै छु, ती सब ठिक लाग्छ । समय र आवश्यकताअनुसार पार्टी चलेको छ । म पनि आवश्यकताले व्यवसायमा लागेकी हँु । हिजो मेरा लागि पार्टी सबै कुरा थियो, आज म श्रमजीवी भएकी छु । पार्टीको कुनै जिम्मेवार निकायमा छैन ।

जीवनमा आफ्नै निर्णयले काम गरेकाले कहिल्यै पछुतो लाग्दैन बरु गर्व लागेको छ । पार्टीमा केही पाउँला भनेर नलागेकाले पार्टीसँग गुनासो पनि छैन ।

भीमजीलाई बेपत्ता पारियो । म उहाँको घर गएकी थिइनँ, कसैसँग चिन जान पनि थिएन । राजनीति खुला भएपछि उहाँको परिवारका सदस्यहरु बझाङदेखि खोज्दै आउनुभयो । भेटघाट भयो, व्यवहार राम्रो छ । म पनि बझाङ गएँ, जाउ आउ हुन्छ, सबै ठिकै छ ।

गुनासो राज्यसँग छ । बेपत्ता पारेका योद्धाबारे सार्वजनिक नगरेकोमा । हामीले आन्दोलन ग¥यौँ । सरकारलाई पटकपटक भन्यौ तर कसैले सुनेन । पार्टी सत्तामा रहँदा पहल नभएको होइन, सरकार नयाँ भए पनि राज्यको संयन्त्र पुरानो थियो । पार्टीले चाहेर वा सरकारले चाहेर मात्र सेनाभित्रका वास्वविकता बाहिर आउँदो रहेनछ । अहिले पनि हाम्रो माग यथावत् छ– बेपत्ता भएकाहरू जे–जस्तो अवस्थामा छन्, सार्वजनिक गर्नुपर्छ, बेपत्ता पार्ने अपराधीलाई कारबाही हुनुपर्छ, ती योद्धाको योगदानको कदर गरिनुपर्छ र परिवारलाई राज्यले संरक्षण दिनुपर्छ ।’

मलाई नजिकबाट चिन्ने र जान्नेहरूले भन्छन्– ‘त्यति लामो समय पार्टीमा लागेकी मान्छे अहिले कुटो कोदालो गरेर बसेकी छे ।’ म सधैँ देशको अर्थतन्त्रको बारेमा सोच्थेँ ! यहाँका युवा वा श्रम गर्नसक्नेहरुले बसीबसी खाएको पटक्कै मन पर्दैनथ्यो । आफूले सकेको र सक्ने काम सबैले गर्नुपर्छ भन्ने मान्यता थियो । त्यसो भए मात्र मान्छेको व्यक्तिगत जीवनका साथै राज्य समृद्ध हुन्छ ।

यही सोचका साथ सहयोद्धा साथी भगवती प्रधानसँग मिलेर तरकारी खेतीमा लागेँ । यति बेला ललितपुरको धापाखेलमा दश रोपनी जमिन भाडामा लिएर हामी आत्मनिर्भर हुने कोसिसमा छौँ । करिब अठार महिना भयो, तरकारी खेती सुरु गरेको । हामीप्रति सद्भाव राख्ने र माया गर्ने साथीहरूसँग ऋण लिएर काम थालेका हौँ । आफ्नै माटोमा कुटो र कोदालो गर्दा हामीलाई गर्व छ । वर्षको लाख रुपियाँमा जमिन भाडामा लिएका छौँ, अरु दश लाख लगानी भइसक्यो । श्रम नगरी छोटो समयमा धनी हुने आकांक्षा होइन, पाखुरा बजारेर खाने हो । नेपालमा धेरै सम्भावना छ भन्ने देखाउन चाहन्छौँ । नेपाली युवा श्रम र सीप यही माटोमा पोखिनु पर्छ भन्ने सन्देश सबैलाई दिन चाहन्छौँ ।

नेपाली राजनीतिमा पछिल्लो समय काम गरेर खान लाज मान्नेको बाहुल्य छ । दिनभरि बेकाम बस्ने र सुविधाभोगी जीवन बाँच्न चाहनेको संख्या बढ्दै छ । अहिलेका बिनाकाम विलासी जीवन बाँच्ने युवाहरूबाट राष्ट्रका लागि हितकर हुँदैन । हामी तिनै युवावर्गलाई चुनौती दिन चाहन्छौँ । नेताहरूको पछि लागेर वा अन्य कुनै बाटोबाट आएको पैसाले जीवन चलाउन खोज्नु गलत हो । हरेक पार्टीले आफ्ना कार्यकर्तालाई आत्मनिर्भर बनाउनु आवश्यक छ । अझ युवाहरूलाई त श्रमजीवी बन्न निर्देशन दिनुपर्छ ।

पार्टीका लागि भोट माग्न भाषण गर्दै जुन जनताबीच जान्थेँ, आज तिनै जनतालाई तरकारी बेच्छु । बारीमा आफूहरूले सकेको र भ्याएको काम हामी आफैँ गर्छौं । कुटोकोदालो पुर्खाले पनि समातेका थिए । हमीले जे गरेका छौँ, ठिक छ तर जीवनै नै यही हो भन्नेचाहिँ होइन । आवश्यकता परे जहाँ, जे गर्न पनि तयार छौँ ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया