संखुवासभावासीका लागि आम्दानीको राम्रो स्रोतको रूपमा रहेको रुद्राक्षको कारोबार सुरु भएको छ । अघिल्ला वर्षहरूमा रुद्राक्षको व्यापार असोजबाट सुरु हुने भए पनि यस वर्ष भने भदौको पहिलो साताबाटै सुरु भएको खाँदबारीका व्यापारी सञ्जय न्यौपानेले बताए । ‘व्यापारीहरूले रुद्राक्षको बगैँचा ठेक्कामा लिन सुर गरिसकेका छन्,’ उनले भने । अघिल्लो वर्षभन्दा यो वर्ष रुद्राक्ष कम फलेको र लगातार पानी परिरहेकाले टिप्न समस्या भएको उनले बताए ।
किसानहरूका अनुसार मुखअनुसारको रुद्राक्षको किनबेच हुने गरेको छ । जति धेरै मुख त्यति नै बढी मूल्य तोकिने भएकाले मुखका आधारमा रुद्राक्षको किनबेच हुने गरेको नेपाले डाँडाका कृषक सौगात गौतमले बताए ।
नेपालका शिक्षाका ज्योतिका रूपमा परिचित बालागुरु षडानन्दले भारतबाट रुद्राक्ष ल्याई भोजपुरको दिङ्लामा रोपेको र त्यसैबाट रुद्राक्ष फैलिएको विश्वास छ । भोजपुरको उत्तरी १० भन्दा बढी गाविसका किसानको मुख्य आम्दानीको स्रोत रुद्राक्ष हो ।
विशेषगरी रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गरेको छ । मुख र आकारले रुद्राक्षको मूल्य निर्धारण गर्ने हँुदा यसको मूल्य मुख र आकारका आधारमा कम र बढी हुने गरेको व्यपारीको भनाइ छ । सामान्य गत वर्ष दुईमुखेलाई २० देखि ३० हजार र तीनमुखे तीन सयदेखि पाँच सय सम्म, पाँच मुखेलाई ४० रुपैयाँ देखि एक सय सम्म, सात मुखेलाई पाँच सयदेखि हजार रुपैयाँसम्ममा किनबेच हुने गरेको छ ।
यसैगरी आठमुखेलाई १५ सयदेखि तीन हजारसम्म, ९, १० र ११ मुखेलाई पाँच हजारदेखि १० हजारसम्म र १२ मुखेलाई सात हजारदेखि १२ हजार सम्म, १३ मुखेलाई १० हजारदेखि १५ हजारसम्म, १४ मुखेलाई २५ हजारभन्दा बढीमा बिक्री भएको कृषकले बताएका छन् । २० मुखे लाई पाँच लाखदेखि १५ लाखभन्दा माथि, २७ र २८ मुखेलाई ४० लाखभन्दा माथिमा खाँदबारी बजारमा कारोबार हुने गरेको छ । संखुवासभामा वार्षिक अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यापारीहरू बताउँछन् । ‘तीन वर्षयता ४, ५ र ६ मुखेको रुद्राक्षको माग अत्यधिक बढेको छ,’ खाँदबारीका व्यापारी बातकृष्ण तामाङले भने, ‘भोजपुरको दिङ्लाक्षेत्र र संखुवासभामा फलेको एउटै रुद्राक्ष ५० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने र बजारमूल्य पनि राम्रो भएकाले कृषकले खेतियोग्य जमिन मासेर रुद्राक्षखेती गरेको खाँदबारीका सुरशे थापा बताउँछन् । रुद्राक्ष भोजपुरका उत्तरी गाविस र संखुवासभामा अत्यधिक फल्ने गरेको छ । भोजपुरमा रुद्राक्ष अत्यधिक उत्पादन हुने भए पनि यसको पहिलो बजार संखुवासभाको खाँदबारी र तुम्लिङटार नै हो ।
खाँदबारीमा खरिद हुने रुद्राक्ष तराईका जिल्ला, काठमाडौं र भारतमा समेत निर्यात हुने गर्दछ । यस्तै हाल चीन, युरोप र अमेरिकालगायत कामुलुकमा समेत रुद्राक्ष निर्यात हुने गरेको छ । तीन वर्षयता चिनियाँ व्यापारीले चार, पाँच र ६ मुखे रुद्राक्षसमेत माग गर्न थालेपछि किसानहरू थप उत्साहित देखिन्छन् । रुद्राक्षको कारोबार फस्टाउन थालेपछि केही वर्षदेखि श्रेणी विभाजन गरी जिविसले कर लिन थालेको छ । जिविसले एक हजारभन्दा बढी व्यापारीलाई लाइसेन्स वितरण गरेको छ ।
प्रतिक्रिया