‘यी ढुंगेधारा सुक्न नदिनु
यी ठाँटी–पाटी ढल्न नदिनु
चैतको कुनै आँधी–हुरीमा
घरको धुरी उड्न नदिनु
भन्छन् सधैँ सपनीमा
मलार्ई मेरा पुर्खाहरूले ।’
पृथ्वीमा मानिस अगाडि जन्मियो कि गीत ? अर्थात् यस लोकमा मानिसले गीत जन्मायो कि गीतले मानिसलार्ई बाँच्न सिकायो ? सोच्न आवश्यक छ । धेरै कुरा यस कारण कि, सोचाइबाटै जन्मने सच्चाइद्वारा मात्र पराजय सम्भव छ जीवन र जगतका तमाम असत्यहरूको । दाबी गर्न सक्छौँ हामी कि, मानिसभन्दा पछाडि जन्मिएको हो गीत । तर, आवाज जो मानिसभन्दा अघि पनि थिए, पृथ्वीमा । जब ब्रह्माण्ड टुक्रिएर ग्रहहरू र ग्रहहरू टुक्रिएर उपग्रहहरू बने, यसरी ग्रहहरू या उपग्रहहरू टुक्रिने क्रममा चोइटिँदा या एक आपसमा ठोक्किँदा जो आवाज (घर्षण) पैदा भए । तिनै आवाज हुन् ब्रह्माण्डको प्रथम ध्वनि । पछि पृथ्वीले स्वाभाविक आकार ग्रहण गरेसँगै अस्तित्वमा आएका खोला, नदी, बतास, जीव र चराचुरुंगीहरूले तिनै ध्वनिलार्ई आ–आफ्नो शैलीमा उनेर गाए । प्रकृति, जीव र चराचुरुंगीबाट टिपेर मानिसले फेरि आवाजहरूलार्ई आफ्नो संवेदनामा भरे । जीवन बनाए । सुसेले । हाँसे खुसीहरूमा । रोए पीरहरूमा । कहालिए विपत्मा । मानिसले यसरी आफूलार्ई अनेक तरहले अभिव्यक्त गर्ने पहिलो माध्यम आवाजलार्ई बनाए । कालान्तरमा जब भाषाको विकास भयो तब मानिसले आफूसँगै बचाएको आवाजमा शब्दहरू खिले र आवाजले निश्चित लय समात्यो । वास्तवमा लयको जन्मदाता मानिस होइन, बरु तिनलार्ई मानिसले सुन्दर आकार दिए । आफ्नो समाज, संस्कृति र सग्लो जीवन पद्धति अनुकुल उजिल्याउन कठोर मिहिनेत गरे । अन्नतः ती मानिसका प्राण जस्ता भए । ती लयको धागोमा खिलिने हेरक शब्द फूलहरूका जन्मदाताचाहिँ फेरि मानिस नै हुन् ।
यसर्थ, मानिसभन्दा अघि जन्मिएका आवाज र मानिसभन्दा पछाडि जन्मिएका शब्दको सुन्दर सम्मिलनबाट जन्मिएको हो, गीत । जोे आजपर्यन्त जन्मिरहेछ ।
प्रश्न उठ्न सक्छ– ‘सुन्दर गीत के हो ?’ अथवा ‘कति हुन्छ गीतको आयतन र गहिराइ ?’ यसको स्पष्ट जवाफ म त के अब्बल मानिएका गीतकारहरू स्वयंले पनि दिन सक्दैनन् । अर्को प्रश्न फेरि उठ्न सक्छ– ‘अब्बल गीतकारचाहिँ कस्तोलार्ई भन्ने त ?’ के धेरै संख्यामा गीत लेखि आएकालार्ई ? या मिडियामा धेरै चलेकालार्ई ? उच्च ओहोदाका सरकारी जागिरेलार्ई ? कि भीमकाय ज्यान भएका सुकिला धनाढ्यलार्ई ? कि गीतै लेखेर केस फुलाएकालार्ई ? यसको जवाफ पनि आफूसँग छैन भन्नुहोला तपाईं, तर छ मसितचाहिँ जवाफ । कि असलमा जसको गीतले सदा संघर्ष गर्न प्रेरित गर्छ र सपना देख्न सिकाउँछ । जुन गीतभित्र मानिस छ र तिनको आँसु, हाँसो, छटपटी र विश्वासको पर्याप्त अंश छ । जहाँ समय, समाज र सिंगो राष्ट्र छ, तिनै गीत र गीतकार नै अब्बल लाग्छन्, मलार्ई । प्रकृति जस्तै हाम्रो जीवनको पनि अँध्यारो र उज्यालो पाटो छ । जसले हाम्रो जीवनलार्ई जीवनजस्तो बनाएको छ । तथापि, हामीसित हाम्रै सुन्दर जीवनलार्ई भत्काउने र पुनर्निर्माण गर्ने सपनाहरूका यस्ता अजस्र शृंखला छ कि जुन सपनाको एउटा पहिरो जसोतसो छिचोल्यो तुरुन्तै अर्कोले बाटो छेक्छ । जसरी यात्रामा कति कष्टले एउटा डाँडा नाघिन्छ तत्कालै अघिल्तिर देखिन्छ अर्को डाँडा । यिनै स्वप्न–डाँडाहरूमा निर्धक्क उभिएर गीत लेख्ने सामथ्र्यवान् गीतकार हुन्, टीका चाम्लिङ ।
‘जीवन यस्तो कहानी हो
पढी कहिल्यै नसकिने
जीवन यस्तो उकाली हो
चढी कहिल्यै नसकिने
एउटा पाना पढिसक्यो
अरू पाना बाँकी हुन्छ
एउटा घुम्ती काटिलग्यो
अर्को डाँडा बाँकी हुन्छ
जीवन यस्तो क्षितिज हो
पुगी कहिल्यै नसकिने ।’
गीत लेख्नु एउटा कुरा हो । तर, जीवन्त गीत लेख्नु अर्कै कुरा हो । उत्कृष्ट चिज सिर्जना गर्नुअघि हरेक सर्जकमा कठोर त्याग, बोध, साधना र समर्पण अपरिहार्य छ । जसरी बुद्धले शान्ति प्राप्तिका खातिर महान् त्याग गरे । त्यस्तै त्याग हरेक स्रष्टामा लागू हुन अत्यावश्यक छ । म यहाँ प्रसंग जोड्दै छु, यस्तै त्यागी गीतकार टीका चाम्लिङको । जसले गीतकै खातिर त्यागेका हुन् खाँदा खाँदैको जागिर, विदेश मोह र अनेकौँ अवसर । यदि जागिरै खाइरहेका भए या विदेश गएका भए गीतकार चाम्लिङले यतिबेला आफँैलार्ई कहाँनेर छु भनेर खोज्नुपर्ने स्थिति बन्न सक्थ्यो होला । तर, आज उनले आफूलार्ई खोज्नु पर्दैन । हजारौँ गम्भीर श्रोता वा पाठकले उनको खोजी गरिरहेका छन् । जुन खोजी युगौँसम्म जारी रहने छ । लगभग दुई दशकअघि नै गीत जस्तो गीत लेखेर नेपाली गीति क्षेत्रमा आफ्नो दर्विलो उपस्थिति जनाइसकेका गीतकार चाम्लिङ मलार्ई स्वयं गीत जस्तै शालिन र भव्य लाग्छन् । जसकोे कोमलता र भव्यतालार्ई वर्षौं अघिबाटै सुक्ष्म ढंगले केलाइरहेको मेरो मस्तिष्क र हृदयको सफेद क्यानभासमा हाम्रो प्रियकर सहयात्राको यस्तो अमिट दृश्यचित्र छ, जुन दृश्यचित्रमा चाम्लिङ कतै गाढा त कतै फिका पोखिएका छन् । कतै बरफजस्तो जमेका छन् त कतै मैनजसरी पग्लिएका छन् ।
मानिसको समग्र जीवन, जगतका सत्य, रहस्य अनि प्रकृतिका अनुपम आभाहरूलार्ई गीतको नाभीमा जोड्न सक्ने हैसियत राख्ने चाम्लिङ सर्वोत्कृष्ट गीतकार–२०६१ (रेडियो नेपाल), खोटाङ प्रतिभा पुरस्कार–२०७१ (खोटाङ सेवा समाज, बेलायत) तथा छत्र–विष्णु कृति सम्मान पुरस्कार–२०७२ द्वारा सम्मानित÷पुरस्कृत भइसकेका सशक्त गीतकार हुन् । उनको गम्भीर गीतिकाव्यचेतना, इमानदारी र सहृदयी स्वभावप्रतिको मेरो आत्मिक सम्मानको दियोमा अरू तेल थप्ने काम गरेका छन् उनको पछिल्लो समय प्रकाशित गीति संग्रह ‘मुन्दुम र मालिंगो’ ले ।
जुन कृति उनले हालसम्म लेखेका गीतहरूको महारूप अर्थात् पूर्ण दस्तावेज हो भन्ने कुरा कृतिमा संग्रहित उनको आफ्नो आत्मस्वीकृतिबाट थाहा हुन्छ । बाहिर शीर्षक सरसर्ती हेर्दा विशुद्ध किरात दर्शन केन्द्रीत जस्तो लागे पनि यो संग्रह सिंगो नेपाली जातजातिको संघर्ष र सपनाहरूको केन्द्र हो । यसभित्र संग्रहित गीतहरूको गन्तव्य मानिसदेखि मानिससम्म छ । आयतन जन्मदेखि मृत्युसम्म छ । तर, आयु मानिसको मृत्युभन्दा परसम्म छ ।
‘दिनसँग रुँदै छुटिरहेको साँझ कहाँ हुँ र
हातबाट झरी फुटिरहेको काँच कहाँ हुँ र ।’
अन्त्यमा, म सिर्जना कर्ममा लाग्ने हरेक सर्जकहरूले स्वस्थ र सापेक्षित अहम् पाल्नैपर्ने, जीवन, समय र समाजप्रतिको मौलिक दृष्टिकोण हरेक सर्जकले निर्माण गर्नैपर्ने साथै आफूले गरिरहेको कामविशेषको ज्ञान, महत्व र गरिमालार्ई अन्तस्करणबाट बोध गर्दै सदैव प्रेम गरिरहनुपर्ने मान्यता राख्ने गीतकार टीका चाम्लिङको सशक्त कलमलार्ई लेखन निरन्तरताको कामनासहित सदा नमन गर्दछु ।
प्रतिक्रिया