श्रीकृष्ण जन्माष्टमी र तानसेन भगवतीको जात्रा

भगवान् श्रीकृष्ण यस जगत्का उत्पत्ति, स्थिति र प्रलयका कारक हुन् । श्रीकृष्ण सच्चिदानन्द स्वरूप हुन् । यस्ता भवगवान् श्रीकृष्णलार्ई सबैले वन्दना गर्नुपर्छ, मान्नुपर्छ भनी शास्त्रमा वर्णन गरिएको छ ।

करिब पाँच हजार दुई सय वर्षअघि भाद्र कृष्ण अष्टमी बुधबारका दिन रोहिणी नक्षत्रमा उत्तर भारतका सुरसेन नामक देशको राजधानी मथुराको झ्यालखानामा मध्यरातको १२ बजे वासुदेवकी श्रीमती देवकीको गर्भबाट परब्रम्ह परमेश्वरको पूर्ण अंशसहित श्रीकृष्ण अवतारको रूपमा अवतरण भएको मानिन्छ ।

krishna copy

महाभारत युद्धमा मुख्य भूमिका खेलेका श्रीकृष्णलार्ई नेपालका नेवारहरूले अत्यन्तै कूटनीति गर्न जान्ने धूर्त र छलीको रूपमा लिइँदै आएको पाइन्छ । किनभने काठमाडौंका किरात राजा यलम्बरलार्ई महाभारत युद्ध हेर्न जाँदा कृष्णले छल गरेर यलम्बरको टाउको काटी दिएका हुन् । कौरव र पाण्डवहरूबीच भएको युद्धमा जो हार्छ उसैको पक्षमा युद्ध लड्ने भन्दै नेपालबाट युद्ध मैदान कुरुक्षेत्रमा पुगेका राजा यलम्बरले हार्नेका तर्फबाट युद्ध लडिरह्यो भने महाभारत युद्धको अन्त्यै नहुने ठानेर कृष्णले छल गरेर राजा यलम्बरको टाउको छिनाइदिएका हुन्, भनिन्छ । अन्तिम अवस्थामा तिम्रो इच्छा के छ भनी कृष्णले सोध्दा ‘मैले यो महाभारतको युद्ध हेर्न पाउँ’ भन्दा यलम्बरलार्ई छिनिसकेको टाउकोबाटै आकाशमार्गमा रहेर युद्ध हेर्ने मौका दिएका थिए । महारभातको युद्धपश्चात् राजा यलम्बरको टाउको उडेर आई (हालको इन्द्रचोक, त्यसबेला यहाँ दोभान थियो बागमती र विष्णुमति नदीको) दोभानमा खसेको देखी जनताहरू सबैले ‘हाम्रा राजाको टाउको’ भन्दै सम्मानपूर्वक त्यसैको मूर्ति बनाई स्थापना गरेका हुन्, भनिन्छ । राजा यलम्बरलार्ई नेवारहरूले आजुधः भन्दै मान्दै आएका छन् । हरेक वर्ष इन्द्रजात्राको पर्वमा आजुधःको मन्दिरअगाडि आजुधःको मूर्ति प्रदर्शन गरिन्छ । आजुधः अर्थात् नेवारहरूका जिजुबाजे देवता हुन् । आजुधः को टाउको प्रदर्शन गरेर राखिँदा मूर्तिको मुखमा जोडेको पाइपबाट हाथु हाकेगु भन्दै जाँड झार्ने गरिन्छ । अनि भक्तजनले प्रसादस्वरूप जाँड खान तँछाड र मछाड गर्छन् ।

हरेक वर्ष कृष्णाष्टमीका दिन विभिन्न कार्यक्रमका साथ जात्रा मान्दै आएका श्रीकृष्णलार्ई द्वापरयुगदेखि मान्दै आएको हो, भनिन्छ । तर, नेपालमा भने नेपाल संवत् ७५७ मा राजा सिद्धिनरसिंह मल्लले ढुंगैढुंगाबाट बनाइएको २१ वटा गजुर भएको विश्व प्रसिद्ध कृष्ण मन्दिर पाटन दरबार सामुन्ने स्थापना गरेपश्चात् श्रीकृष्णको महिमा र महत्व बढ्दै गएको हो ।

कृष्ण मन्दिरभित्र महाभारत र रामायणका विभिन्न किसिमका चित्र अति नै मिहिनेत गरेर कलात्मक ढंगले ढुंगामा कुँदिएका छन् । त्यस्तै मन्दिरको चारैतिर ढुंगाका विष्णुको दश अवतार मत्स्य, कूर्म, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कीको कवितात्मक भावमा स्थापना गरिराखेको छ ।

कृष्ण मन्दिरभित्र मुख्य देवताको रूपमा श्रीकृष्ण र सत्यमायाको मूर्ति रहेको छ । नेपाल भाषाको रञ्जना लिपिमा विभिन्न घटनाका विवरण मन्दिरमा लेखिएका छन् । श्रीकृष्ण भगवान्ले राजा सिद्धिनरसिंहलार्ई मेरो र सत्यमायाको मूर्तिप्रतिष्ठा गरी मन्दिर बनाउनु भनी सपनामा आज्ञा भएकाले गुरु हरिवंश उपाध्यायको सल्लाहअनुसार मूर्ति प्रतिस्थापना गरी मन्दिर बनाई ठूलो मेला चलाएका हुन् । कृष्ण मन्दिरमा कृष्णाष्टमीका दिन रातभर जाग्राम बसी भक्तजनहरूले पूजा, पाठ, भजनकीर्तन गर्छन् । बिहान राष्ट्रप्रमुख पनि श्रीकृष्णको दर्शन गर्न आउने र भक्तजनहरूको भीड लाग्ने कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । कृष्णाष्टमीको रातमा पाटनका टोल–टोलमा कृष्णको खट जागा गरिन्छ ।

भगवान् श्रीकृष्णका विभिन्न लीलाको सम्झनास्वरूप हरेक वर्ष कृष्णाष्टमीका दिन देशभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । श्रीकृष्णको जन्म दिन भएकाले पनि देशभर रातभर जाग्राम बसी भक्तजनहरूले भाद्र कृृष्ण अष्टमीका दिन व्रत बसी भगवान् कृष्णको पूजा आराधना गर्दै आएका छन् ।

काठमाडौंको असन, भोटाहिटीलगायतका विभिन्न टोलमा भक्तजनले श्रीकृष्णको तस्वीर प्रदर्शन गरी भजन गाउने र कृष्णको पूजा गर्ने गर्दछन् । बटुवाहरूलार्ई र त्यहाँ प्रदर्शनमा राखिएका श्रीकृष्णका तस्वीर हेर्न आउनेहरूलार्ई पनि टीका लगाई प्रसाद बाँड्ने गरिन्छ । उपत्यकाका विभिन्न स्थानमा श्रीकृष्णको जन्म दिन भव्य रूपमा मनाई भजनकीर्तन गर्ने चलन छ । उपत्यकाका विभिन्न स्थानमा श्रीकृष्णको खट जागा गर्ने र झाँकी पनि प्रदर्शन गरिन्छ ।

भक्तपुरमा टोलैपिच्छे राधाकृष्ण र कृष्णको बाललीला प्रदर्शन गरिन्छ भने दत्तात्रय मन्दिरमा पनि भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ । कृष्णाष्टमीलार्ई मुख्य पर्वको रूपमा मान्ने सन्दर्भमा काठमाडौं ठमेलमा रहेको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, कृष्णप्रणामी, इस्कोन बुढानीलकण्ठ, कृष्ण सेवा केन्द्र, इमाडोल, रामकृष्ण वेदान्त समाज पाटन, साइबाबा केन्द्र नक्साल नारायणचौर एवं टोखा, साँखुलगायतका स्थानमा कृष्णको खटजात्रा, कृष्णको झाँकी बनाएर प्रदर्शन गरी नगरपरिक्रमा गराइन्छ । काठमाडौंको नारायणहिटी राजदरबारअगाडि रहेको नारयाणस्थानबाहिरको मूल सडकमा सबै धार्मिक संस्था जम्मा भई श्रीकृष्णको झाँकी भएको गाडी र बाजागाजासहित नगरपरिक्रमा गरी खुला मञ्चमा भेला भई धार्मिक कार्यक्रम गरेपश्चात् श्रीकृष्णको रथयात्रा समापन गरिन्छ । त्यस्तै कलात्मक विशाल मन्दिर नभए पनि काठमाडौंको वसन्तपुर दरबारसामुन्ने आठ सय आठ कुना परेको श्रीकृष्णको मन्दिर बनाइएको छ । नेपला संवत् ७६९ मा राजा प्रताप मल्लका ३० वटी रानीमध्ये अत्यन्तै मनपर्ने दुईवटी रानी राजमती र अनन्तप्रियाको एकैचोटी मृत्यु हुँदा दुःखी भइरहेका राजाले आफूलार्ई श्रीकृष्ण र रानीहरूलार्ई राधिकाको प्रतीकको रूपमा स–साना कलात्मक मूर्ति निर्माण गरेर च्यासी कृष्णको खट जात्रा चलाएका हुन् । तर, वर्षेनी चल्दै आएको श्रीकृष्णको खट जात्रा रोकिँदै आएको थियो । पछि काठमाडौं दरबार स्क्वायर क्लिनिङ क्लबका अध्यक्ष राजेशप्रसाद श्रेष्ठको सक्रियतामा नेपाल संवत् १११७ अर्थात् वि.सं. २०५४ देखि धिमेबाजासहित कृष्णको खट जात्रा चलाइँदै आएको हो ।

यसरी विभिन्न कार्यक्रम गरेर श्रीकृष्णाष्टमी देशभर मनाइन्छ । धःला (पोडे) समाजको अध्यक्षतामा हरेक वर्ष नागपञ्चमीदेखि चल्ने भतिगा लाखे नाच सबलबहालमा कृष्णाष्टमीका दिन समापन गरिन्छ ।

ने.सं. २६२ मा मरुसत्तल काष्ठमण्डप एउटै रुखको काठले बनाएपछि बाँकी रहेको काठबाट सिंल्यँ सत्तल बनाइएको रहेछ । तर, त्यहाँ कुनै पनि देवता भने राखिएको थिएन । ने.सं. १०४० मा सिंल्यँ सत्तलनजिकै तहविलमा रहेको धमना साल्मीको घर आगलागी भई नयाँ घर बनाउन जग खन्दा चार हात भएको कृष्ण नारायणको धातुको मूर्ति भेटिएछ । त्यस बेलाका राणा सरकारसँग स्वीकृति लिई भेटिएको कृष्णनारायण भगवान्को मूर्ति स्थापना गरी छानाको चार कुनामा उड्दै गरेको सिंह बनाई सिंल्यँ सत्तल बनाइएको रहेछ । त्यही सिंल्यँ सत्तलको नाम सिंह सत्तल रहन गएको हो ।

यसरी देशभर कृष्णजन्माष्टमी मनाइरहेको समयमा नेवारहरूको बस्ती भएको पाल्पा तानसेनामा भने रणउजेश्वरी भगवतीलार्ई राँगाको बली दिएर खट जात्रा गरिन्छ । भगवतीले महिषासुर दैत्य वध गरेको खुसियालीको रूपमा राँगा, बोका, हाँस, कुखुरा, भेँडा र सुँगुरको बली दिएर दाफा भजनसहित रणउजेश्वरी देवीको भव्य रूपमा रातभर जात्रा गरिन्छ । भोलिपल्ट नवमीका दिन रातभर दियो बोक्ने, देवीको खट बोक्ने र जात्रामा सहभागी भई सघाउने सबैलार्ई भगवतीलार्ई भोग दिएको राँगाको मासु राखी भोज खुवाइन्छ । भोज खुवाइसकेपछि देवीको खट बोक्नेहरूलार्ई बेताली (फेटा) रातो क्वखा र टीका लगाइदिएर दिउँसो रणउजेश्वरी देवीको सिन्दूरजात्रा मनाइन्छ ।

यस जात्रामा प्रहरीले सलामी दिँदै तोप पड्काएर बधाइ दिन्छन् । ढोलक, झ्याली, पञ्चेबाजा, बौद्ध बाजा बजाएर भगवतीको खटलार्ई नगर परिक्रमा गराइन्छ ।

पाल्पा तानसेनाको यो भगवतीको जात्रा अंग्रेसँग भएको युद्धसँग सम्बन्धित छ । ई.सं. १७३४ देखि १७९७ सम्म नेपाल र अंग्रेजबीच युद्ध हुँदा पाल्पाका वडा हाकिम कर्णेल उजीरसिंह थापाले तानसेनका भगवतीसँग प्रार्थना गरेका रहेछन् । युद्धमा विजयी हुन सकेमा राजकीय सम्मानका साथ देवीको जात्रा मनाउँछु भनी भगवतीको प्रार्थना गरेपछि कर्णेल उजीरसिंह थापाले बुटवलको तिनाउ नदी वारि भएको मणिमुकुन्द सेनको पुरानो भग्नावशेष दरबारलार्ई किल्ला बनाएर दुईपटक अंग्रेजका जनरल उडलार्ई युद्धमा हराउन सफल भए । ई.सं. १८१६ मार्च ३ तारिखका दिन सुगौली सन्धि भइसकेपछि भगवतीको सानो मन्दिरलार्ई ठूलो बनाई राजकीय सम्मानसहित जात्रा चलाएको हो भन्ने किंबदन्ती पाइन्छ ।

अंग्रेजसँग युद्ध जितेर उजीरसिंहले स्थापना गरेको देवी भएर रणउजेश्वरी नाम हुन गएको हो, भनिन्छ । यो रणउजेश्वरी भगवतीको जात्रा पाल्पाको मौलिक परम्परागत जात्रा हुन गएको छ । यसै दिन पाल्पामा काजी अमरसिंह थापाले चलाएको लक्ष्मी नारायणको खट जात्रा मनाउने चलन छ ।

प्रतिक्रिया