उपत्यकाको सायाः गाईजात्रा

हरेक वर्ष भाद्र कृष्णपक्ष प्रतिपदाका दिन उपत्यकाका नेवारद्वारा त्यस वर्षमा मृत्यु भएका घरबाट गाईजात्रा निकाल्ने गरिन्छ । यो परम्परा धेरै पहिलादेखि चल्दै आएको छ । नेवारहरूको यो परम्परा नेवार समुदायमा मात्र सीमित नभई पछि गएर व्यंग्यात्मक हाँस्यव्यंग, प्रहसन नाटक मञ्चनका साथै गाईजात्रे पत्रिका प्रकाशित गर्ने अनि अन्य सञ्चारमाध्यमबाट पनि हाँस्यव्यंगका कार्यक्रम चलाएर चाडपर्वको रूपमा मान्दै आएको देखिन्छ ।

gajrndoj copyनेवारहरूको यो सायाः अर्थात् गाईजात्रा निकाल्ने चलन कहिलेदेखि चलेको हो भन्ने निश्चित तिथिमिति केही नभए पनि एउटा भनाइअनुसार नेपाल संवत् ५७५ मा राजा प्रताप मल्लका कान्छा छोरा चक्रवतिन्द्र मल्ल दादुरा आई मरेछन् । आफ्नो प्यारो छोरा मरेकाले रानी राजमतिले गरेको शोकलार्ई राजाले रोक्न जति प्रयास गरे पनि सकेनछन् । रानीको शोक शान्त पार्न राजा प्रताप मल्लले जसको घरमा त्यस वर्ष मानिस मरेको छ त्यसको नाममा सबैले गाईजात्रा निकाली हनुमानढोका राजदरबारमा हाजिरी जनाउनुपर्ने उर्दी दिएछन् । त्यस सयमा उपत्यका नेवारहरूको देश थियो । देशभरिका जनताले मृत परिवारका नाममा निकालेको गाईजात्रा र झाँकी देखेर रानीले यो संसार अनित्य रहेछ यहाँ जो कोहीले पनि मर्नु पर्दोरहेछ भन्ने ज्ञान प्राप्त गरी मेरो छोरा मात्र होइन जनताका धेरै मानिस मरेका रहेछन् भन्ने सम्झेर चित्त बुझाइन् । त्यही समयदेखि राजादेखि जनतासम्म देखापरेका विकृति विसंगति जस्ता काम कुराको व्यंग गर्ने छुट दिइएको हो, भनिन्छ । अरू बेलामा राजा, प्रशासक र मन्त्रीहरूको विरोध गर्न नमिल्ने र गालीगलौज पनि गर्न नमिल्ने जस्ता काम कुराप्रति यसै गाईजात्रामा गरिँदै आयो र त्यसबेलाका सरकार र प्रशासकहरूले पनि आफूलार्ई सच्याउन थालेका हुन् भनिन्छ ।

गाईजात्राको झाँकी प्रदर्शन गर्ने परम्परा राजा प्रताप मल्लको पालादेखि सुरु भएको देखिए पनि मरेका मान्छेको नाममा गाईजात्रा निकाल्ने परम्परा गोपालराज वंशावलीअनुसार राजा जयस्थिति मल्लको शासनकालमा नेपाल संवत् ५०० तिरै राज खलकका कोही म¥यो भने गोविन्दाबलि गीत, भजन गाउन लगाएर देश परिक्रमा गर्ने परम्परा भइसकेको हो । अझ बौद्ध परम्पराअनुसार मर्नेहरूको नाममा भाद्र कृष्ण द्वितीया गाईजात्राको भोलिपल्ट पाटनको मंगलबजारबाट निकालिने मतयाः (बत्ती बाल्ने) जात्रा, न्यकू जात्रा (सिङ फुक्ने) राजा गण कामदेवको राज्यकालमा सुरु भएको देखिन्छ ।

समग्रमा हेर्ने हो भने गाईजात्रा ऐतिहासिक परम्पराअनुसार काठमाडौंको गाईजात्रा, पाटनको मतयाः, न्येकू जात्रा, भक्तपुरको धिन्ताकिसी जात्राको रूपमा मान्दै आएको पाइन्छ । त्यस्तै कीर्तिपुरमा बाःचा हिलेगु नाममा, मच्छेगाउँ र पाटनको खोकनामा सिकाली अजिमाको मन्दिरअगाडिको पोखरीमा विभत्स ढंगले जिउँदो बाख्रीलार्ई टोक्दै खोसी खोसी लिएर मारी गाईजात्रा मनाइन्छ ।

धार्मिक परम्पराअनुसार श्रेष्ठ र ज्यापु समुदायले निकाल्ने गाईजात्रा एकै प्रकारको हुन्छ । कबाँडगा, बज्राचार्य, चित्रकार, उदाय, साल्मीहरूको गाईजात्रामा भने बुद्धको स्तोत्र पाठ गर्दै मतयाः निकाल्ने गरिन्छ । त्यस्तै वैदिक नेवार धः बर्मू राजापाध्याय, शर्माहरूको गाईजात्रामा नृसिंहको झाँकी प्रदर्शन गर्ने परम्परा छ ।

काठमाडौंका नेवारहरूले मरेकाको नाममा एकजना मान्छेलार्ई सेतो जामा, छ्वालीको पटुका, शिरको अघिल्लो भागमा गाईको चित्र भएको र पछाडि गणेशको चित्र टाँसिएको पेरुंगाको मुकुन्डोे लगाउन लगाई सिँगारपटार गरी बत्राजा बजाउँदै गाईजात्रा निकाल्छन् । त्यस्तै अर्को मानिसलार्ई पहेँलो वस्त्र लागउन लगाई फेटा बाँधिदिएर चिम्टा र कमण्डलु समाउन लगाएर जोगी बनाई गोसाई बनाएर लान्छन् । त्यस्तै गाईलार्ई पनि ढाडमा कपडा राखी सिँगारेर नगरका विभिन्न स्थानमा घुमाई हनुमानढोका दरबार परिक्रमा गराइन्छ । घर–घरबाट मरेकाहरूका नाममा पुरी, मालपुवा, जुलेबी, स्वारी फलफूल र दूधका साथै पैसा पनि दान दिइन्छ । गाईजात्रामा आउनेहरूलार्ई यसरी दान दिँदा १०८ वटा अथाव प्याकेटसहित १०८ थान पु¥याउनुपर्ने परम्परा छ । यसरी गाईजात्रा निकाल्ने र दान ग¥यो भने सिथिचाढका दिनदेखि बन्द भएको यमलोकको ढोका खुल्ने र मरेकाहरू सजिलै स्वर्गमा जान पाउँछन् भन्ने मान्यता छ । गाईजात्रा गरेर नगर परिक्रममापश्चात् फर्किंदा घरको मूल ढोकाअगाडि हातखुट्टा धोइदिएर स्वागत गरी गाई बनेका र गोसाई बनेका व्यक्तिलार्ई घर भित्र्याइन्छ ।

बौद्धमतअुनसार यसरी गाईजात्रा आउनुलार्ई भगवान् बुद्धलार्ई मार आएको भन्ने मान्यताअनुसार बौद्धमार्गी नेवार शाक्य, बज्राचार्य, साल्मी, चित्रकार र उदासहरूले मरेकाका नाममा दाफा बाजा बजाउँदै धूपबत्ती बालेर नगर परिक्रमा गर्दछन् ।

कीर्तिपुरमा गाईजात्राको अघिल्लो दिन अर्थात् जनैपूर्णिमाको मध्यरातमा बाःचा हिलेगु भन्दै मरेकाहरूको नाममा धूपबत्ती बालेर बौद्ध चैत्य, विहार परिक्रमा गरेर पैसा चढाउने गर्दछन् । गाईजात्राको दिन झ्याँयू, झयाँय् पापाको नामा रंगीविरंगी देवताहरूको स्थालः मनोरञ्जनको रूपमा देवीदेवताहरूको मुकुट लगाएर देश परिक्रमा गरिन्छ । धाः, पँयताः बाजाको तालमा नगर परिक्रमा गर्दै बाघभैरव मन्दिरको अगाडि नारायणको मन्दिरबाट पोखरीमा राँगोको टाउको र खुट्टा फालिन्छ । अनि युवाहरूले ती राँगाको खुट्टा र टाउको खोसेर लिने प्रतियोगिता गर्दै मनोरञ्जन गर्दछन् ।

त्यस्तै, पाँगामा गाईजात्राको दिन घुंसी गणेश (पिंगलादेवता) स्थानमा मेरेकाका घर–घरबाट मानिस जम्मा हुन आउँछन् । अनि ९ देखि ११ जनासम्मको समूह समूह बनाई संयुक्त रूपमा गाईजात्रा मनाउँदै देश परिक्रमा गर्ने चलन छ । सन्ध्याकालमा दरबारको अगाडि पोखरीमा हाँस, राँगाको टाउको र खुट्टाहरू फालेर लिने प्रतियोगिता गरिन्छ । त्यस्तै कीर्तिपुरको मच्छेगाउँको ग्वाःटोल, साय्मी टोल र नाय् टोलबाट लाखे नाँच निकालिन्छ । गाईजात्राका दिन नारायणस्थानमा मरेकाहरूको नामा निकालिने गाईजात्रा र ख्यालः प्रहर्सन प्रदर्शन गर्दै सहर परिक्रमा गरिन्छ । राति विष्णुदेवीको भव्य जात्रा लगाइन्छ । यो जात्रा कृष्णाष्टमीसम्म चलाइन्छ ।

उपत्यकाका विभिन्न स्थानबाट निकालिने गाईजात्रामध्ये भक्तपुरमा निकालिने गाईजात्रा विशेष रूपको देखिन्छ । यहाँको गाईजात्रालार्ई धिन्ताकिसी भनिन्छ । मरेकाहरूको घरबाट छ्वाली लामो बाँस, काठ प्रयोग गरेर ताय् मचा खट बनाइन्छ । अनि मरेका व्यक्तिको फोटो त्यसमा राखी पुरोहितद्वारा पूजा गराएर बाजा बजाउँदै नगर परिक्रमा गराइन्छ । यसका साथै राजनीतिक, रामाजिक र विभिन्न किसिमका घटनाको व्यंग्य प्रदर्शन गर्दै तायमचा खटको पछि–पछि ख्याल नाँच, (खिं), धाः, धिमे, बाँसुरी बाजाको तालमा लठ्ठी नाच (लठ्ठी जुधाई गरने नाच) भव्य रूपमा प्रदर्शन गरिन्छ ।

काठमाडौंको देवपतनमा गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन धान रोपने रोपाइँजात्रा गरिन्छ । अनि नवदुर्गा जगाउन ९ जनाको पायाः निकालेर खड्ग जात्रा गरिन्छ । नेपाल भाषाबाट ग्वलः अर्थात् ८१ संयोजन भएको वस्ती जगाउन वर्षभरिमा मरेकाहरूको आत्माको शान्तिको कामना गर्दै बाजा बजाउँदै नगरपरिक्रमा गरिन्छ । त्यस्तै, लिच्छविकालीन देश हाँडीगाउँमा देवघरबाट यो दिन खड्ग समाइरहेको पायाः निकालेर खिं, काहाँ बाजा बजाएर रोपाइँजात्रा प्रदर्शन गर्ने परम्परा छ ।

पाटनमा चक्रवही, इखाछें, हौगः बकुवहाः इखालखु, क्व वहाः सौगः नः वही, मंगः, प्यालं लगायत १० वटा टोलबाट पालैपालो हरेक वर्ष गाईजात्राको भोलिपल्ट सिङ जात्रा र मतयाः गरिन्छ । पाटन नगरमा रहेका बुद्ध चैत्यहरूमा मरेकाहरूको नाममा दीप दान गर्ने र राँगाको सिङ फुकेर नगरपरिक्रमा गर्ने भएकाले यो पर्वलार्ई मतयाः न्यकू जात्रा भन्ने गरिएको हो । पालेवासः टोलमा जम्मा भई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म १२ घन्टा देवताका नाममा धूपबत्ती, नैवेद्य, चौमरी रोटी, मतयाः रोटी, ह्युदिवा, कपुर, दक्षिणा, पुलटिका, फलफूल चढाएर दिवंगत आफन्तको लागि शान्तिको कामना गर्नु नै यो पर्वको विशेषता हो ।

यो मतयाः जात्रामा कसैले मनोरञ्जनका निम्ति भाग लिएका हुन्छन् भने कपितयले व्रत बसी चोखोनितो गरी पानी पनि नखाई बस्ने पनि हुन्छन् । बौद्ध चैत्यहरूमा जिउ नाप्दै परिक्रमा गर्नेहरू पनि हुन्छन् । कोही कोही भने कसैसँग पनि नबोल्ने मौन व्रत बस्छन् । मतयाः जात्रामा ज्यापूहरूले राँगाको सिङ फुकेर, बाँसुरी, ढोलक, मगः खिं बजाएर भजन गाउँदै नगरपरिक्रमा गर्दा अत्यन्त रमाइलो हुन्छ । त्यसमा पनि बीच–बीचमा युवायुवतीहरूले विभिन्न किसिमका मुकुट लगाएर हाँस्यव्यंग्यका झाँकी देखाउनाले पनि झनै रमाइलो हुन्छ ।

लिच्छवी राजा बालचिन देवको पालादेखि चल्दै आएको मतयाः न्यकू जात्रा राजा सिद्धनरसिंह मल्लले अझ व्यवस्थित रूपमा चलाएका हुन्, भनिन्छ । नेपाल संवत्को नौ महिना भएको कारणबाटै गुँला भनिएको हो । नवौं महिनामा गरिने मतयाः जात्रामा न्यकू बाजामा नौथरीका बाजा हुन्छन् । यो बाजालार्ई सृंगभेरी पनि भनिन्छ । यो नौ बाजामा मुख्य बाजा धाः बाजा हो । अनि धिमे, नाय्स्रिंख, दम सिंख, मृदंग, ढोलक, कोेंचाखिं, नगरा, ढ्याङ्गो, दःयो, मगः खिं, जवः नगरा, खैंचरी, काशी बाजा, दक्षिणबाजा, सिंख र डबडब डमरु हुन् । यो बाजाको साथै पञ्च ताल, प्रय्ता र राँगाको घुमेको सिङलार्ई विशेष रूपमा सिङ बाजा बनाइराखेको हुन्छ । दमः खिंलार्ई भने भैरव, काली र महालक्ष्मी देवीको मुकुटले राम्रो पारेर किकिंया पनि लगाइराखेको हुन्छ ।

पाटनमा नगर परिक्रमा गरेर मनाइने मतयाः न्यकू जात्राको बाजामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रचलनमा भएका सबै बाजाको संयोजन छ, भनिन्छ ।

न्यकू सिङ जात्राबारे एउटा आख्यानअनुसार सिंहकेतु राजाको शासनकालमा शशीपतन नगरकी रानी सुलक्षणालाई अत्यन्तै धर्मकर्म गर्नुपर्ने रहेछ । राजाले शिकार खेलेर निर्दोष पशुपक्षीको हत्या गर्ने गरेकाले त्यसो नगर्न धेरैपटक अनुरोध गरेकी रहिछन् । एक दिन कालगतीले दुवैको मृत्यु हुन्छ । पशु हत्याको कारण राजा एउटा ब्राह्मणको घरमा राँगाको रूपमा र रानी उही घरमा ब्राह्मणको छोरी रूपमतीको रूपमा जन्म हुन पुगेछ । एकदिन राँगो भीरबाट खसेर मर्छ । पूर्वजन्मको कुरा सम्झन सक्ने शक्ति भएकाले रूपमतीले मरेको राँगो आफ्नो पति हुन् भन्ने बुझेर राँगाको हाड जम्मा गरेर बौद्धचैत्य निर्माण गरी राँगाको सिङलार्ई बाजा बनाई फुकेकी रहिछन् । यही कुरा र घटनाको सम्झनास्वरूप हत्याहिंसाको विपाकबाट बच्न सन्देश दिन हरेक वर्ष यसै दिन पाटनमा सिंह जात्रा र मतयाः पर्व मान्दै आएको हो भनिन्छ ।

पाटनका वैदिक नेवारहरू घः ब्रम्हु शर्मा, राजोपाध्यायहरूको भने गुँलाको पञ्चमीका दिन मंगलबजारबाट उपाकल सायाः गाईजात्रा निकाल्छन् । त्वाकलः सायाः पनि भनिने यो सापारुमा नृसिंहको दाहिने लक्ष्मी, देव्रे सरस्वती र भक्तप्रह्लादले बिन्ती गरिराखेको मुद्रामा पछि–पछि जाने गरिन्छ । हिरन्यकश्यपु दैत्यको प्रतीक कपडाको पुतली सडकमा घिसारेर नगर परिक्रमा गराइन्छ । रुञ्चे लागेका बच्चालार्ई त्यस दैत्य पुतलीमा छुवाएमा रोग निको हुन्छ भन्ने जनविश्वास छ ।

प्रतिक्रिया