काठमाडौं । नेपाली तेक्वान्दोमा महत्वपूर्ण प्रभाव रहेको कोटेश्वर तेक्वान्दो डोजाङ नयाँ संरचनामा प्रवेश गर्ने भएको छ । हाल महादेवस्थान र जडीबुटी दुई स्थानमा प्रशिक्षण सञ्चालन गरिरहेको कोटेश्वरले पेप्सीकोलामा नयाँ हल बनाउने तयारी गरेको छ । हाल स्नुकर र फिटनेस सेन्टरसहित सञ्चालित डोजाङमा थुप्रै अत्याधुनिक भौतिक संरचना तयार हुनेछ । राष्ट्रिय टोलीका खेलाडीका लागि फिटनेस र व्यायमशालाका लागिसमेत सो स्थान उपयुक्त हुने विश्वास गरिएको छ । डोजाङ प्रमुख नवीनकुमार श्रेष्ठ भन्छन्, ‘पूर्ण व्यावसायिक तेक्वान्दो प्रशिक्षण केन्द्रको तयारीमा हामी छौँ ।’ एउटा पूर्ण तेक्वान्दो एकडेमीका लागि आवश्यक पर्ने सम्पूर्ण संचरना तयार गरिने जनाइएको छ । स्विमङ पुलको निर्माण र प्रत्येक महिना स्तरीय खेल र नियमित समयको अन्तरालमा अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता कोटेश्वरका थप आकर्षण हुनेछन् ।
यसका लागि अमेरिकामा रहेको वान एकडेमीका उपप्रमुख नवीनका भाइ तथा साफ स्वर्ण पदकधारी निरञ्जन श्रेष्ठको विशेष भूमिका रहनेछ । हाल लालबहादुर थापाले नवीनलाई सहयोग गरिरहेको कोटेश्वरमा थप केही प्रशिक्षक समावेश गरिनेछ ।
नेपाली तेक्वान्दोमा पायनियर ठहरिएका कोटेश्वरका प्रमुख नवीन श्रेष्ठका निर्मल र निरञ्जनसहितको तीन दाजु भाइले एसियाडमा सहभागिता जनाउँदै नेपालको इतिहासमा कीर्तिमान कायम गरेका थिए । यसैगरी सोही डोजाङका रञ्जन श्रेष्ठ र सक्षम कार्की राष्ट्रिय टोलीका प्रभावकारी सदस्य हुन् । हालै मलेसियाका सम्पन्न आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा कोटेश्वरकी काजल श्रेष्ठ स्वर्णपदकसहित उत्कृष्ट खेलाडी भएकी थिइन् । काजल चाँडै नै राष्ट्रिय टोलीमा प्रवेश गर्ने विश्वास राख्ने नवीन उनी नै साफ स्वर्णपदकसम्म जित्न सक्ने खेलाडी भएको बताउँछन् । काजलले विश्व जुनियर च्याम्पियनसिपमा समेत सहभागिता जनाइसकेकी छिन् । तेक्वान्दो संघको रेफ्री समितिको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका डोजाङ प्रमुख नवीनले प्रशिक्षकका रूपमा भियतनाममा भएको ओलम्पिक छनोटको जिम्मेवारी सम्हालेका थिए । जहाँबाट नेपालका दीपक विष्ट ओलम्पिकमा छनोट भएका थिए । नवीन अहिले पनि टोलीको प्रशिक्षकको जिम्मेवारीमा छन् । उनका भाइ निर्मल र निरञ्जन दुवै साफ स्वर्ण पदकधारी हुन् । निरञ्जनसँग विश्व च्याम्पियनसिप समेतको अनुभव छ । (सौस)
प्रतिक्रिया