‘विषले पनि पत्याएन’

विगत अठार वर्षदेखि बाध्यात्मक यौन हिंसामा परेका महिला र बालबालिकाको पक्षमा काम गर्दै आएको रक्षा नेपालको अध्यक्ष मेनुका थापाले भोगेको र देखेको समाज । बाल्यकालमा आमाले भोगेको पीडा, बाल्यकालदेखि अभिन्यता हुँदासम्म आफैँले भोगेको र देखेको समाज कस्तो थियो । आफू जन्मेको जिल्ला काभ्रेको गाउँमा उनले भोगेको र देखेको कयौँ सामाजिक कुसंस्कार अहिले पनि उनको मनमा खिलजस्तै गढेर बसेको छ । अभाव र समस्यामा हुर्केको उनको बाल्यकाल कहालिलाग्दो थियो । गर्भमा छोडेर गएका बाबु र किशोर अवस्थामा गुमाएको आमा भेट्न स्वर्गको बाटो रोजेर विष सेवनसमेत गरिन् उनले । मर्न सजिलो छैन, उनले रोजेको मृत्युको बाटोले उनलाई पत्याएन । तिनै मेनुका थापाले आज सयौँ छोराछोरी स्याहारेर बसेकी छन् । पुरुष र बिहे शब्दले उनलाई कहिल्यै आकर्षण गरेरन् । र, समाजले भन्ने एक्लो जीवन संघर्ष गर्दैछिन् । तर, उनका वरपर हजाराँै सहयोगी छन् । थापाको अनुुभूति र भोगाइबारे सौर्य दैनिकसँग गरिएको संवाद :

menuka_thapaआमा बितेपछि म विक्षिप्त भएँ । अब यो दुनियाँमा मेरो अरू कोही छैन भन्ने लाग्यो । दिदीहरूले माया गर्थे, तर उनीहरूको अभिभावकताले मेरो मन मानेन । सानोमा आमाले भनेको सुनेको थिएँ । स्वर्ग गएपछि मरेको आफन्त भेट्न पाइन्छ भनेको ! म आमाको गर्वमा रहेको एक महिनामा बुबा बित्नुभएकाले बुबाको माया अनुभूति गर्न पाइनँ । बुबा बितेपछि आमा गर्भवती भएको थाहा पाएर आमामाथि धेरैले प्रश्न गरे । साँघुरो सोचले ग्रस्त समाजमा लोग्ने नभएकी महिलाले कति दुःख झेल्नुपर्ने रहेछ आमाको भोगाइ देखेर सानैमा बुझेँ । हामी समस्या नै समस्या चिथिएर हुर्कियौँ । बाबुको पैतृक सम्पत्ति प्रसस्त भएर पनि त्यसको भोगचलन गर्न पाएनौँ हामीले । अरूले रजाइँ गरे मेरो बुबाको हक भोगको सम्पत्ति । संसारमा आफूले सबैभन्दा धेरै माया गर्ने र नजिकको आफन्त आमा थिइन् । उनले पनि छोडेर गइन् । स्वर्गमा गएर आमाबुबा दुवैलाई भेट्ने आकांक्षाले मैले विष सेवन गरेँ, विषले पनि पत्याएन । मर्न सकिनँ, मान्छेले चाहेर पनि मर्न सक्दो रहेनछ भन्ने लाग्यो । मलाई दुःखमा विष र आफन्त दुवैले पत्याएनन् ।

सातदिदी र एकदाजुको कान्छी बहिनी हुँ म । दिदीहरूले पढ्न पाएनन् । आफूहरूले पढ्न नपाए पनि उनीहरूले ज्याला मजदुरी गरेर पढाए मलाई । दिनभरि मेलामा काम गर्थे, खान दिएको खाजा नखाई पोको पारेर ल्याउँथे दिदीहरू । त्यसैले छाक टाथ्र्यो । बुबा बितेपछि विछिप्त भएकी आमाको एकाएक बोली बन्द भएछ । मलाई दिदीहरूले हुर्काए । ६ वर्षपछि आमाको बोली खुल्यो । आमा मलाई बुबाको रूपमा हेर्नु हुन्थ्यो । कहिले काहीँ ‘बुबा कस्तो हुनुहुन्थ्यो आमा’ भनेर सोध्थेँ । ‘आफैँ ऐना हेर तँ जस्तै थिए,’ आमाले भन्नुहुन्थ्यो । एसएलसी दिँदा आमा बित्नुभयो । परिवारमा पहिलो मृत्यु आमाको देखेँ । आमाको नजरमा म छोराजस्तै थिएँ । परिवारलाई एक छोराले चित्त नबुझेकाले आमाले आठवटी छोरी जन्माउनुपरेको थियो । आमाको भोगाइ र प्रेरणाले आज यो ठाउँमा आएको हुँ । मेरो प्रेरणा, स्कुल, विश्वविद्यालय जे भने पनि स्वर्गीय आमा हुन् । आमाले कहिल्यै छोरी तँ यो काम गर्न सक्दिनस् भन्नुभएन । जे पनि गर्नुपर्छ र सक्छेस् मात्र भन्नुभयो । सायद परिवारमा दाजुमात्र पुरुष भएकाले होला उहाँ मलाई जे काममा पनि अगाडि बढाउनुहुन्थ्यो । आमाले मलाई छोराको रूपमा देख्नु र समाजले छोराले गर्ने काम भनेर टुट्टाएको काम गर्ने अवसर मैले दुःखका साथ पाएँ । आमा हस्पिटलमा बित्नुभयो । दाजु गाउँमा थिए । नेपाल बन्द भएकाले दाजु आउन सकेनन् । मैले सबैभन्दा माया गरेको मेरी प्रेणादायी आमालाई आफ्नै हातले दागबत्ती दिएँ । त्यो मेरा लागि दुःखद् र पीडादायी अवसर पनि थियो ।

छोरा अरू बेला काम नलागे पनि मर्दा चाहिन्छ भन्थे । अरूको चाहनामा मेरी आमाले दोस्रो छोरा पाउन आठवटी छोरी जन्माएकी थिइन् । उनको नजरमा म जे थिएँ मर्दा निभाउनुपर्ने दायित्व पूरा गरेँ ।

menuka_thapa_2आमा बितेपछि म सडकमा आएँ । १८ वर्ष बिते तर मैले आफ्ना भोगाइ भुलेको छैन । नयाँबानेश्वरले धेरै रूपरङ फे¥यो । मैले सिढीमा रातदिन बिताएका एक महिना मेरो मनमा ताजै छ । वरपर आफन्त धेरै थिए, विषले नपत्याए जस्तै कसैले पत्याएनन् मलाई दुःखमा । समाजको सोच अजीव छ । हुदाँ वरपर सबै हुन्छन् । जति बेला आफन्तको खाँचो हुन्छ त्यतिबेला कोही हँुदैन । म पनि धेरै आफन्त भएकी बेसाहरा भएको थिएँ । पेट पाल्न केही गर्नुपर्छ भनेर सानैदेखि जानेको सीप लिएर होटलमा गीत गाउन गएँ । होटलमा ग्रहकले वेटरलाई गरेको व्यवहार देख्दा खप्न सक्दैन थिएँ । आमालाई आर्यघाटमा खरानी बनाए पनि अन्याय सहनु हुँदैन भन्ने आमाको प्रेरणा जीवितै थियो । कयौँलाई मुक्का हानँे, महिलालाई हेपेको सानैदेखि सहन्न थिएँ । मेरो व्यवहारले अरू महिला प्रभावित हुन्थे । उनीहरूको आशा र भरोसा बनेँ म । केही जानेको थिइनँ बुझ्नु धेरै थियो । जे पर्ला भनेर रक्षा नेपाल बनाएँ । अन्यायमा परेका महिलाको रक्षा गर्न ।

समाजको यथार्थ बुझ्दै नबुझी सामाजिक काममा होमिएँ । समाजमा असुरक्षित भएकाहरूको साथ दिन संस्था खोलेँ । आफ्नै बस्ने खाने टुंगो थिएन । तर, उतिबेला अहिले जस्तो घरभित्र बाबुबाट छोरी दाजुबाट बहिनी र आफन्तबाट आफ्नै चेली बलात्कृत हँुदैन थिए । अहिलेको जस्तो सामाजिक असुरक्षा भएको भए मैले त्यो बानेश्वरको चोकमा महिनौँ सिँढीमा रात बिताउँदा अस्मिता जोगाउन सक्दैन थिएँ । धन्न म बेचिनु र बलात्कृत हुनुपरेन । उतिबेलाको समाज अहिलेको जस्तो विवेक गुमाएको थिएन । माया र सहारा नपाए पनि कसैले लुछ्न भ्याएनन् मलार्ई । सडकमा बिताएका रात र भोकले छट्पटाएका दिन भुलेको छैन । बिर्सन्छु कि भनेर फेरिएको बानेश्वर चोकमा बेला–बेला जाने गर्दछु । ‘धन्य मलाई सुरक्षित राख्ने बानेश्वर’ भन्छु ।

म आफ्नै कोखबाट सन्तान नजन्माए पनि ३२ जना छोराछोरीको अमा हुँ । मैले ती सन्तानलाई छोराछोरी माने पनि कयाँै अवस्थामा वास्तविक आमाको भूमिका निर्वाह गर्न सकेको छैन जस्तो लाग्छ । मेरो आश्रयमा रहेका छोराछोरीको मप्रति धेरै आशा छ । तर, मैले पूरा गर्न सकेको छैन । त्यतिबेला दुःख लाग्छ । पीडितहरूको अपेक्षा लिएर जाँदा पदमा बसेका नेताहरूको सहयोग पनि चाहे जस्तो पाइँदैन । ‘कयौँ नेताहरूकोमा जाँदा भन्छन्, ‘मेनुकाजी तपाइँको काम राम्रो छ, यति ठूलो काम जो पायो त्यसैले गर्न सक्दैन । तर, फनालो केसमा फलानो मान्छेलाई न छोएको भए राम्रो हुन्थ्यो । अलि विचार गर्नु है ।’ यस्ता नेता धेरै छन् । सुरुका दिनमा नेताहरूको धेरै आश लाग्थ्यो । पदमा छन् चाहे भने धेरै सहयोग गर्छन् भनेर जान्थें । पछिल्ला दिनमा सबैको नाडी छामेँ, कसैले केही गर्दैनन् । त्यसैले अहिले कसैकोमा पनि जान्नँ ।

महिलालाई ओछ्यान र खेलौना ठान्ने पुरुष धेरै छन् समाजमा । एकैपटक दर्जनौँ महिलासँग सम्बन्ध बनाउँदै धोका दिने धेरै पुरुष देखेँ । पढेलेखेका महिला पनि श्रीमान्सँग अन्धभक्त हुँदा रहेछन् । यौन हिंसामा लागेका महिलाको क्षेत्रमा काम गरेकाले यस्ता धेरै घटना देखेँ । कल्पना नै गर्न नसकिने मान्छे पनि महिलालाई खेलाएर हिँड्दा रहेछन् । पूुषका बाहिरी र भित्री रूप धेरै देखँे । महिलाको पक्षमा वकालत गर्दा पाएको धम्की खेपिसक्नु छैन । ‘मारिदिन्छु’ भन्नेहरू अगाडि पर्दा लुते कुकुर जस्तै हुन्छन् । अफिसमै दर्जनौँ गुन्डा लिएर पनि कयौँ आए । मलाई मर्नसँग डर छैन । आफँैले चाहेर पनि मर्न नसकेको मान्छेलाई कसले मार्न सक्छ, भन्ने लाग्छ । नैतिक रूपमा मान्छे कतिसम्म तल झर्दो रहेछ भन्ने काम गर्दा बुझँे । त्यसैले पनि बिहे र पुरुषप्रति आकर्षण बढेन । पीडितका पीडाले होला, सबै पुरुष पीडक सबै महिला पीडित देख्छु । आम महिलाको अनुहारमा आमा, दिदी र बहिनी देख्छु सधैँ । यी सबै मेरा आफन्त हुन् भन्ने लाग्छ ।

अन्यायमा परेकालाई मिलेर बस भन्नमात्र जानेको छ समाजले । जतिबेला महिलाले आफ्नो पीडा बाहिर ल्याउँछन् त्यतिबेला मिलेर बस्न सक्ने अवस्था हुँदैन । महिलालाई रुन र मर्न बाध्य पार्ने हाम्रो समाज र परिवार हो । अन्यायमा परेकाको हितमा फैसला गरेर मिलाउने हो भने मिल्न सकिन्छ । त्यसका लागि सुरक्षा निकाय सचेत हुनुपर्छ । तर, समाजमा लाज र घिन पचेका मान्छेको बाहुल्य छ । संघसंस्था चलाउने पनि इमानदार हुनुपर्छ । कमाउनका लागि संस्था होइन, जुन उद्देश्यले संस्था खोलिएको छ काम त्यहीअनुसार गर्नुपर्छ । म आफैँ पनि कामले सन्तुष्ट छैन । जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । समस्यासँगै अपेक्षा धेरै छन् ।

म अभिन्यता हुँ । अधिकारकर्मी होइन । मैले कसैलाई अधिकार दिन सकेको छैन । अधिकार दिने काम राज्य र कानुनको हो । म केवल अधिकार गुमेकाका लागि सहयोगीमात्र हुँ । कयौँ ठाउँमा मसँगै अधिकार गुमेका रोइरहेका हुन्छन् र सँगै सुटेक बुटेक भएर पीडक मुस्कुराइरहेको हुन्छ । त्यतिबेला मन भतभती पोल्छ । तर, केही गर्न सकिँदैन । कोही शक्तिका हुन्छन् । कोही प्रमाणविहीन । प्रहरी प्रशासनले इमानदारीपूर्वक छानबिन गर्ने हो भने अपराधी कानुनको दायरामा आउँछन् । समाजलाई हिंसा र पीडामुक्त बनाउने हो भने अपराधीलाई कडा कारबाही हुनुपर्छ । राजनीतिक आवरणभित्र हुने अपराधलाई निरुत्साहित बनाउन सबैले पहल गर्ने हो भने समाजमा सबै छोरीचेलीले सुरक्षाको अनुभूति गर्नेछन् ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया