‘विश्वच्याम्पियन पूर्वलडाकु’

mira_raiयतिबेला नेपाल मात्र होइन खेलमा रुचि राख्ने हरेक विश्वका मानछेले चिन्छन् मीरा राईलाई । लामो र कठिन खेल ‘अल्ट्राधाविका’ मा विश्व च्याम्पियन राई २५ वर्ष पहिला भोजपुरको दुम्मामा जन्मेकी राईको बाल्यकाल अभावमा बित्यो । ७ जनाको परिवारलाई वर्षमा ३ महिना खान पुग्ने अन्न खेतबारीले दिन्थ्यो । घन्टौँ हिँडेर खाने पनि ल्याउनुपर्ने स्कुल जान त्यतिकै समस्या उनले भोगिन् । भोकभोकै मर्नुभन्दा लडेर मर्नुवेश भन्दै उनी १४ वर्षको उमेरमा माओवादीमा प्रवेश गरिन् । पारिवारिक सल्लाहले माओवादीमा जाँदै गर्दा आमाले दिएको बासीभात कहिल्यै बिर्सन्न मीरा । सायद त्यो उनको लागि सगुन थियो । मीराले माओवादीमा लागेर देश मुक्त गर्ने सपना धेरै दिन रहेन । देश शान्ति प्रक्रियामा गयो उनी सेनाको लागि अयोग्य ठहरिन् । आज तिनै अयोग्य लडाकु विश्व च्याम्पियन भएकी छन् । मीराको भोगाइ र सफलताबारे सौर्य दैनिकसँग गरिएको संवादः

कमजोर आर्थिक अवस्थामा गाँझिएको राई परिवारलाई दुई छाक पेटभरि खान धौधौ थियो । घरमा सात वटा खाने मुख थियो तर आम्दानी थिएन । अभावले थिचिएकी किशोरी मीराले गाउँ र स्कुलमा परिवर्तनका कुरा सुनिन् । पेटभरि पानी खान पनि घन्टौँ हिँडनुपर्ने गाउँमा बसेर केही हुँदैन भन्ने उनको मनमा लाग्यो । ‘म मरे पनि मेरा भाइ बहिनीले त सुख पाउलान् नी ! नेपालीले सुख र शान्ति पाउनेछन् भोग, रोग र शोकले कोही मर्नु पर्दैन भन्ने विश्वासले घर छोडिन् । कलिलो उमेरमा घर छोड्दा आमाले आँखाभरि आँसु बनाएर बासीभात खुवाएर बिदा गरेको दिन कहिल्यै भुल्दिनन् मीरा । सानो झोला हातमा च्यापेर व्यवस्था परिवर्तन गर्न हिँडेकी थिइन् । विश्व च्याम्पियन भइन् ।

१४ वर्षको कलिलो उमेरमा माओवादीमा लाग्दा यति ठूलो सफलताको कामना गरेको थिइनन् मीराले । जन्मेको गाउँको वरपर देखेको महिला हिंसा र सामाजिक विभेदले दुःखी थिइन् उनी । ठूलो परिवारमा २ छाक खाने समस्याले उनको मन दुःखी थियो । स्कुलमा संगठन बनाउन आउने माओवादी कार्यक्रताले मुलुक परिवर्तनको कुरा गर्दा उनी दंग पर्थिन् । पुरानो व्यवस्था फालेर गरिबको राज्य बनाउने कुराले उनको बालमस्तिष्कमा नराम्रो गरी जरा गाड्यो । यति दुःखले खाइनखाइ पढ्नुभन्दा मुलुक परिवर्तन गर्नु उचित ठानेर ८ कक्षाको पढाइ छोडेर उनी जनयुद्धमा होमिइन् । घरको आर्थिक अवस्थाले पढ्ने वातावरण पनि थिएन । खान समस्या भएको परिवारमा उनको पढाइ खर्च कसले भरिदिने ! समस्याले थिचिएर बस्नुभन्दा युद्धमा होमिन ठीक ठानिन् मीराले ।

मीरा माओवादीको जनसेनामा भर्ना भएको केही समयमा नै मुलुक शान्ति प्रक्रियामा आयो । केहिसमय उनले सिन्धुलीमा रहेको क्यान्टोन्मेन्टमा बिताइन् । जब सेना समायोजन भयो उनी नेपाली सेनाको लागि अयोग्य ठहरिइन् । पार्टीले दिएको १० हजार लिएर घर फर्किन् उनी । ‘मुलुक परिवर्तन गर्ने उद्देश्यले घर छोडेकी थिएँ’ । ‘सेनामा प्रवेश गरेर देश रक्षाको लागि समर्पित हुने चाहना थियो पूरा भएन’ घर छोडेको २ वर्षपछि १० हजार बोकेर घर गएँ । २ वर्षसम्म बेखबर भएको छोरी घर पुग्दा परिवारमा खुसीको सीमा थिएन । तर, उनी भने उद्देश्य पूरा हुन नसक्दा खिन्न थिइन् । आफू समावेश नभए पनि मूलुकले निकास पाउनुपर्छ भन्ने दह्रो सोच थियो उनीसँग । नेपालीले ढुक्कसँग बाँच्न पाउन् भन्ने उनको चाहना आज पनि पूरा भएको छैन ।

कहिलेकाहीँ मान्छेको जीवनमा असफलताले सफलताको ढोका खोल्छ भन्छन् । उनको जीवनमा पनि त्यस्तै भयो । क्यान्टोन्मेनमा बस्दा उनी कराते, भलिबल, फुटबललगायत खेलमा आकर्षित भइन् । त्यही खेलको क्रममा उनको भेट कराते प्रशिक्षक धु्रवविक्रम मल्लसँग भयो । माओवादीको पिएलए स्पोर्ट क्लबका प्रशिक्षकसमेत रहेका मल्ल मीराको खेलले प्रभावित थिए । मीरा आफ्नो उद्देश्य पूरा गर्न नपाएकोमा चिन्तित थिइन् । क्यान्टोन्मेन्टबाट बाहिरिएपछि उनी संघर्ष गर्दै उदयपुरमा पढ्दै थिइन् । समस्या नै समस्याबाट आजित भएकी मीराले रोजगारीका लागि मलेसिया जाने तयारी गरिन् । ‘एक दिन गुरु धु्रवविक्रम मल्ललाई फोन गरेर भनिन्, यसरी भौतारिएर बस्नुभन्दा म त काम गर्न मलेसिया जान लागेँ’ । गुरुले भन्नुभयो, ‘म सहयोग गर्छु तिमी यही बसेर खेल्नुपर्छ । तिमीभित्र भएको क्षमता बाहिर ल्याउन जे गर्नुपर्छ म गरुँला’ ।

तिनै गुरु मल्ललाई मीरा ‘गडफादर’ भन्छिन् । मल्लको सहयोगमा काठमाडौंमा बस्ने खाने र तालिमको अवसर पाएकी छन् मीराले । ‘मेरो जन्मदिने बुबाले पनि गर्न नसक्ने सहयोग गर्नुभएको छ गुरुले मलाई’ उहाँ मेरा लागि साक्षात भगवान् हो, यति ठूलो सहयोग गरेर अवसर जुटाइदिनुभयो गुरुले’ हुन पनि यो स्वार्थी दुनियाँमा यति ठूलो सहयोग गर्ने पराइ सितिमिति पाइँदैन । जुन मीराले पाएकी छन् । मल्लको सहयोग आप्mनो मिहिनेतले नेपालको नाम राखेकी छन् मीराले । यो यात्रामा उनले गरेको संघर्ष कम छैन । आर्थिक समस्याले थिचिएकी उनी सहयोगी हातले हात न थाम्ने हो भने लुरुलुरु घर जानुको विकल्प छैन । दया र मायाले चलेको छ मीराको दैनिकी । वरपर सुनका तक्मा भए पनि हातमा पैसा छैन उनीसँग ।

११ महिना भयो मीराले अल्ट्रा खेलमा प्रवेश गरेको । गत वर्षको सेप्टेम्बरमा ७० किलोमिटरको दौडमा स्वर्णपदक हात परेपछि उनलाइ अझ बढी आत्मविश्वास बढेर आयो । ‘उतीबेला माओवादीमा नलागेको भए म त्यही भोजपुरको दुम्मा मै घाँस दाउरा गर्दै हुन्थेँ होला’ उनले आफ्नो अवस्था सुनाइन् । नेपालमा मुस्ताङ, मनास्लु, अन्नपूर्ण, एभरेस्ट म्याराथुनमा उनले भाग लिइसकेकी छन् । अफ्ठ्यारो ठाउँमा दौडने कठिन खेल हो यो । दौडनु र स्वर्णपदक हात पार्नु उनको लागि सामान्य जस्तै भएको छ । केहीसमय पहिला फ्रान्समा भएको दौडमा उनी विश्व च्याम्पियन भइन् । त्यसपछि त उनको नाम मात्र होइन खेल जगतमा नेपालको नाम पनि चम्केको छ । ‘विश्व च्याम्पियन हुँदा खुसीको सीमा रहेन, आमाबुबालाई सम्भेmँ, गुरुको अनुहार र प्रोत्साहन झलझली आँखा अगाडि आयो’ । गुरुले अवसर नजुटाइदिएको भए मेरो क्षमता जति भए पनि पोख्ने ठाउँ हुँदैन थियो ।

स्पेनमा हुने १ सय १० किलोमिटरको दौडमा ‘स्काइ वर्ड च्यापियन हुने तयारीमा छिन् मीरा । उक्त खेलमा उनको लागि अति नै महत्वपूर्ण छ । ‘११ महिनामा यति सफलता पाए भने जीवनमा धेरै गर्न सक्छु भन्ने आत्मबल मलाई तिनै मेडलहरूले दिएका छन्’ । मिहिनेत गर्ने हो भने गर्न सकिन्छ भन्ने लागेको छ उनलाई यतिबेला । तालिम र अभ्यासमा व्यस्त हुन्छिन् उनी । उनको खेल्ने चाहनालाई साथ दिएका छन् गुरु मल्ल र बेलायती नागरिक रिचर्ड वल्र्डले । यी दुवै प्रति कृतज्ञ छिन् मीरा । ‘हामी राष्ट्रको नाम राख्न चाहन्छौँ । तर, हामी जस्ता खान बस्न समस्याले झेलिएका खेलाडीप्रति राज्यले ध्यान दिनुपर्ने हो त्यो भएको छैन’ । राम्रो अवसर पाए अझ राम्रो खेल्न सक्ने मीराको दाबी छ ।

पहिलो अल्ट्रा दौडमा सहभागी हुँदाको क्षण यसरी सम्झिन्छिन् उनी, २०१४ मार्च २३ मा पहिलो अल्ट्रा खेलमा भाग लिएँ । गुरुले बोलाउनुभयो आएँ । अल्ट्रा दौड के हो थाहा थिएन, सामान्य ट्राउजर, टिसर्ट र सस्तो जुत्ता लगाएर गएको थिएँ । ५० किलोमिटरको दौड रहेछ । अरू सहभागी तयारीको साथ आएका थिए । केहीसमय दौडने बित्तिकै मेरो जुत्ता च्यातियो । खुट्टाभरि फोका आए । तर, दौडन छोडिनँ । पहिलो सहभागितामा स्वर्ण जितेपछि मसँगै गुरु पनि खुसी हुनुभयो । सगरमाथाको फेदीमा जन्मेकी नेपालकी छोरीले देशको नाम उच्च राख्न सक्छे भनेर देखाउन आतुर छिन् मीरा । हरेक दिन चुनौतिको सामना गरेर बाँचेकी छन् मीरा । काठमाडौंमा अरूको सहारामा खानबस्न सहज छैन । आप्mनो उद्देश्य पूरा गर्न त्यो पनि गर्दैछिन् ।

समाजका अनेक समस्या भोगेकी उनी खेलको साथै समाज आमुल परिवर्तन भएको हेर्न चाहन्छिन् । यतिबेला आफू एक इमानदार खेलाडीबाहेक केही नभएको उनको भनाइ छ । कुनै बेला माओवादी भए पनि अहिले पार्टीसँग उनको कुनै साइनो र सम्बन्ध छैन । पार्टीमा जोडिँदा साघँुरो भइने उनको तर्क छ । ‘म सबै नेपालीको हुन चाहन्छु ।

मेरो विजयले म, मेरा गुरु, परिवार मात्र होइन सारा नेपालीले गर्व गरुन् भन्ने चाहन्छु । पार्टीमा लागेँ भने सबैको हुन सक्दिनँ’ । नेपाली नागरिक भएको कारण समाज परिवर्तनमा केही गर्ने उद्देश्य भने जिउँदै छ मीरासँग । ‘म सबै प्रकारको विभेद अन्त्य भएको समृद्ध नेपालको नागरिक हुन चाहन्छु । विश्वले बुद्धको देशमा शान्ति र समृद्धि देख्न पाउन् भन्ने चाहन्छु’ । आफ्नो भविष्यसँगै देशको चिन्ता गरिन् मीराले । नेपालको नाम राख्ने उनको अभियान शरीरले सक्दासम्म जारी रहने विश्वास छ । उनको विश्वासले सफलता प्रप्त गरोस् ।

– चमिना भट्टराई

प्रतिक्रिया