काठमाडौं । मित्रराष्ट्र दक्षिण कोरियाको मोजु सहरमा आयोजना हुने दोस्रो डब्लुटिएफ विश्व क्याडेट तेक्वान्दो च्याम्पियनपसमा सहभागी हुन जाने ३ सदस्यीय नेपाल तेक्वान्दोको खेलाडीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमकै अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाई गरे ।
१२–१४ वर्ष उमेर समूहमा सहभागी हुन जाने खेलाडीहरूमा ३३ केजीमा राज बस्नेत र ४१ केजीमा निशानप्रसाद भुसालले प्रतिस्पर्धा गर्ने हेमन्त डाँगीले जानकारी गराएका छन् । त्यस्तै टिम प्रशिक्षकमा आठौँ सागका स्वर्ण पदकधारी एवं तेक्वान्दो संघका सदस्य कोसिसबहादुर खड्का रहेका छन् । प्रतियोगिता ६ देखि ९ भदौसम्म सञ्चालन हुनेछ । टोली शुक्रबारनै त्यसतर्फ प्रस्थान गरेको छ । (सौस)
२५ लाई छैटौँ डान
काठमाडौं । नेपाल तेक्वान्दो संघले आफ्ना २५ प्रशिक्षकलाई छैटौँ डान प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित तेक्वान्दोको मेन डोजोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले दीक्षित २५ प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरे ।
१० दिनसम्म सञ्चालित पाँचौँ डानको परीक्षा उत्तीर्ण गरी छैटौँ डान प्राप्त गर्न आवेदन दिएका २७ प्रशिक्षकमध्ये एक दीपक विष्ट विदेशमा रहेका र अर्का एक भरत भण्डारीको परीक्षाको तयारी नभएका कारण परीक्षामा सहभागी नभएको तेक्वान्दो संघका महासचिव एवं प्रशिक्षक दीपराज गुरुङले बताए । उनीहरूलाई निकट भविष्यमा आयोजना हुने परीक्षामा सामेल गराइनेसमेत प्रशिक्षक गुरुङले बताएका छन् । प्रशिक्षक गुरुङले छैटौँ डान प्राप्त गर्नका लागि एक खेलाडीलाई करिव २२–२३ वर्ष लाग्ने समेत जानकारी गराए ।
अब नेपालमा छैटौँ डान प्राप्त गर्नेको संख्या ६१ पुगेको छ । उत्तीर्ण प्रशिक्षकहरू राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहेका छन् ।
तेक्वान्दोमा सर्वोच्च नवौँं डानसम्मको ग्रेडिङ रहेकोमा नेपालमा आठौँ डानका एक मात्र तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ रहेका छन् ।
प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र तेक्वान्दो संघका पदाधिकारीको उपस्थिति रहेको थियो । (सौस)
प्रतिक्रिया