‘जहाँ गरिबी त्यहाँ अपांगता, जहाँ अपांगता त्यहाँ गरिबी’

dhitalअपांगता आफैँमा एउटा समस्या हो, अझ समाजमा रहेको विभेदकारी नीतिले यसलार्ई अझ धेरै समस्याको रूपमा परिणत गरेको छ । अपांगता भनेको शाारीरिक रूपमा हुने केही कमी, कमजोरी हो । यस्ता व्यक्तिलार्ई समाजले अझ धेरै महत्व दिनुपर्नेमा समाजमा रहेको संकीर्ण मानसिकताले यसलार्ई झन एउटा जटिल परिस्थितिमा ल्याइदिएको छ । जसको कारण गर्दा विभिन्न समस्या सिर्जना हुन गएको देखिन्छ ।

अपांगता आफैँमा एउटा समस्या हो । त्यसमाथि अपांग महिला हुनुको पीडा त झनै विकराल छ । अपांग महिलाको अधिकार अझैसम्म मानवअधिकारभित्र पर्न सकेको छैन । जसको कारण उनीहरू मानव भएर पनि अधिकारविहीन हुन पुगेका छन् ।

त्यस्तै नयाँ बन्ने संविधानले पनि अपांगतालार्ई समेट्न नसकेपछि अपांगता भएकाहरू आफ्नो अधिकारका लागि अहिले सडकमा आइपुगेका छन् । नेपाल अपांग महिला संघकी अध्यक्ष निर्मला धिताल अहिले महिलाको हक अधिकार स्थापित गर्न सडकमा आइपुगेकी छन् । उनी भन्छिन्, ‘संविधानमा सबै जाति, वर्ग र सम्प्रदायलार्ई समेटिएको छ । तर, अपांगता भन्ने शब्द कहीँ पनि उल्लेख गरेको पाइँदैन । त्यसैले आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।’ एक त अपांगता, अर्को विभेदकारी समाजिक दृष्टिकोण र अर्को हाम्रो संकीर्ण मानसिकता भएको परिवार । यी सबैको बीचमा एउटा अपांग महिलाको जीवन कस्तो होला त ? निर्मला भन्छिन्, ‘अपांगतालार्ई एउटा उपमाको रूपमा मात्र लिइएको छ ।’ अपांगता भएकाहरू माथिल्लो तहमा नपुग्नाले पनि समस्या आएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘उनीहरूको समस्या निर्णायक तहसम्मै पुग्दैन् ।’ शारीरिक रूपमा केही कमजोरी भएर जन्मने बालकलार्ई सुरुदेखि नै विभेद सहनुपर्ने भएको कारण गर्दा पनि उनीहरू माथिल्लो तहमा पुग्न नसकेको निर्मला ठान्छिन् । जन्मेदेखि परिवार, समाज र राष्ट्रद्वारा विभिन्न किसिमको विभेद सहनुपरेका कारण पनि उनीहरूले समाजमा आफ्नो अधिकार सुरक्षित गर्न नसकेको उनको धारणा छ ।

यही कारण अपांगता भएकाहरूको अधिकारका लागि संगठित आवाजको आवश्यकता उनले महसुस गरेकी हुन् । संविधानको खाकामा अपांगता उल्लेख नभएको पाइएपछि उनीहरू आन्दोलित भएका हुन् । एक्लो मानिसको आवाज कसैले पनि सुन्दैन । अझ अपांगता भएका मानिसका आवाज कसले सुन्ने ? त्यसैले निर्मला विभिन्न संस्थासँग मिलेर आफूजस्ताको अधिकार सुनिश्चित गर्न लागिपरेकी छन् । उनी भन्छिन्, ‘राजनीतिमा अरू जाति र वर्गलार्ई समेटिएको छ, मौलिक हकमा पनि समेटिएको छ । तर, अपांगतालार्ई कहीँ कतै ठाउँ दिइएको छैन ।’ निर्मलाका अनुसार आन्दोलन थालेपछि भने केही सकारात्मक परिवर्तन देखापरेको छ । अहिले संविधानमा ९० प्रतिशत उनीहरूको माग समेटिएको छ । जसले केही परिवर्तनका संकेतहरू दिएका छन् र अरू माग समेट्न उनीहरू ज्यान दिएर लागिपरेका छन् ।
अहिले पनि अपांगता समेटिए पनि अपांग महिलाहरूको माग समेट्न सकिएको छैन । अपांगता भएका महिलाको प्रजनन् स्वास्थलार्ई पनि महत्व दिइएको छैन । प्रजनन् स्वास्थ्यलार्ई विवाहसँग जोड्नाले पनि समस्या आएको निर्मला ठान्छिन् । उनी भन्छिन्, ‘प्रजनन् स्वास्थ्यलार्ई विवाहसँग जोडिने गरिएको छ । अपांग महिलाको विवाह हुँदैन भन्ने मान्यताका कारण पनि यस्ता कुरालार्ई बेवास्ता गरिएको हो ।’

तर, एउटा बालिका जन्मेदेखि नमरुन्जेलसम्म उसको प्रजनन् अंगलार्ई सुरक्षित राख्नुपर्छ भन्ने मान्यता अहिलेसम्म राष्ट्रले बुझ्न सकेको छैन । अपांग महिलाको विवाह हुँदैन, उसले परिवार स्याहार्न सक्दैन, उसले बच्चालार्ई स्याहार्न सक्दैन, बच्चा जन्मे पनि अपांग नै जन्मन सक्छ भन्नेलगायतका नकारात्मक मानसिकताको कारण पनि अपांगता भएका महिलाहरू अरू धेरै पीडित हुनुपरेको छ ।

त्यस्तै अपांगता भन्नेबित्तिकै नागरिकता चाहिँदैन भन्ने मानसिकताका कारण पनि अपांगता भएकाहरू थप समस्यामा पर्ने गरेका छन् । अपांगता भएकाले जागिर खाने होइन न त समाजलार्ई नै केही दिन सक्छ भनेर उनीहरूमाथि भेदभावपूर्ण व्यवहार गरेको पाइन्छ । निर्मला थप्छिन्, ‘नागरिकता भनेको हतियार हो । तर, यही हतियारबाट अपांगहरू वञ्चित छन् ।’ परिवारले ‘यसले केही गर्न सक्दैन, किन बेकारमा नागरिकता बनाइदिने’ भन्ने धारणा समाजमा छ । अपांगलार्ई अंश दिने चलन हाम्रोमा छैन । अपांगता भएकालार्ई अंश चाहिँदैन भन्ने मानसिकताका कारण उनीहरूलार्ई अंश दिइँदैन, दिए पनि उसलार्ई स्याहार सुसार गर्ने मान्छे भन्दै संरक्षकको नाममा अंश दिने चलन छ । जसको कारण ऊ बाचुन्जेलसम्म अरूमा आश्रित हुनुपर्दछ । तर, हाल आएर अपांग भत्ताका लागि नागरिकता दिन थालिएको छ । तर पनि अपांगलार्ई आत्मनिर्भर बनाउनेभन्दा पनि उसलार्ई आश्रित बनाउने हाम्रो समाजले काम गर्न सक्नेलार्ई घरभित्र बढीभन्दा बढी काम लगाएर पेल्ने गरेको छ । घरभित्र वा बाहिर कोही हिंसाको सिकार भएमा पनि ऊ नै बढी पीडित भएको पाइन्छ । अदालती कारबाहीमा जान नसक्ने, गइहाल्यो भने पनि लामो समयसम्म अदालती कारबाहीमा जान नसक्ने, या बीचमै छोड्नुपर्ने या त मिलोमतोमा जानुपर्ने गरेका कारणले गर्दा अपांगता भएकाहरूले थप अत्याचार सहनु परेको देखिन्छ । त्यस्तै महिला हिंसा, यौन हिंसालगायतका विभिन्नका कुरा पनि अरूको दाँजोमा अपांग महिलाले बढी सहनुपर्ने देखिएको छ । अपांगमैत्री वातावरण नहुँदा समस्यामा परेर सेल्टर हाउसमा जाने महिलाहरूको पनि विभिन्न समस्यासँग जुझ्नुपर्ने अवस्था छ । एक त सेल्टर हाउस अपांगमैत्री नहुनु, अर्को कारण भनेको अपांगता भएकाहरूलार्ई प्रयोग गरिने शब्दहरू । जसको कारण उनीहरू शारीरिक तथा मानसिक समस्या भोग्न बाध्य छन् । हेपाहा प्रवृत्ति पनि ‘यस्तै हो’ भनेर उनीहरू स्वीकार गर्न बाध्य हुन्छन् ।

अपांगता यस्तो समस्या हो । अपांगता भएकाहरूको फरक–फरक समस्या हुन्छन् । जसलार्ई राष्ट्रले पहिचान गर्न सकेको छैन । अपांग महिलाको प्रजनन् अधिकारका लागि गरिएको संघर्षपश्चात् सर्वोच्च अदालतले उनीहरूको सुरक्षित प्रजनन्का लागि हरेक सरकारी अस्पतालमा ‘अपांगमैत्री बनाउनु, अपांगताको प्रकृतिअनुसार सेवा वा सुविधा दिनु’ भनेर आदेश दिए पनि हालसम्म कुनै पनि अस्पताल अपांगमैत्री हुन सकेका छैनन् । निर्मला भन्छिन्, ‘अपांग महिलाको विवाह हँुदैन भन्ने मानसिकताको कारण नै समस्या आएको हो ।’ अस्पताल अपांगमैत्री नहुँदा अपांगता भएकाहरूले विभिन्न समस्या भोग्नुपरेको उनको अनुभव छ ।

निर्मलाले विगत १६ वर्षदेखि संस्थागत रूपमा अपांगता भएकाहरूका लागि काम गर्दै आएकी छन् । उनले यस अवधिमा थुप्रै यससम्बन्धी समस्याहरू देखेकी छन् । निर्मलाले विशेष गरी ग्रामीण इलाकामा अपांगता भएकाहरू बढी पीडित भएको पाएकी छन् । अन्धविश्वास, रुढीवादी समाजले गर्दा अपांगता भएकाहरू ग्रामीण इलाकामा बढी पीडित भएको उनले पाइन् । अझ गरिबीको कारण पनि अपांगता भएकाहरूसँग गरिने व्यवहार निकै नै पीडादायी भएको उनले महसुस गरेकी छन् । उनी भन्छिन्, ‘जहाँ गरिबी त्यहाँ अपांगता, जहाँ अपांगता त्यहाँ गरिबी ।’ जसको कारण अपांगता भएकाहरूले शारीरिकका साथै मानसिक पीडा पनि खप्न बाध्य हुनुपरेको उनको ठम्याइ छ ।

प्रस्तुति : सरला बैजु

प्रतिक्रिया