नाग पञ्चमी उपत्यकाका नेवारले नेवारी धर्म, संस्कृति र परम्पराअनुसार नागलाई विशेष रूपमा मान्दै आएका छन् । त्यसो भएरै नेवारी समुदायले नागलाई अत्यन्तै सम्मान गर्दै आइरहेको हो । नेवारी संस्कृतिमा अभिन्न रूपमा नागको विशेष स्थान रहिआएकाले नै नागलाई पूजा गर्ने, विभिन्न चाडबाड र जात्रामा पनि नागलाई विशेष महत्व दिई मान्दै आएको नेवारी संस्कृतिले झल्काइरहेको छ । नाग बस्ने ठाउँ अर्थात् नागको बासस्थानको आधारमा बज्रयान बौद्ध परम्पराअनुसार १२ तीर्थको पनि विकास भएको देखिन्छ । नागको बासस्थानअनुसार वरुण नागराज टेकु दोभानमा चिन्तामणि तीर्थ, तक्षक नाग राजाको चांगु पुण्यतीर्थ त्यस्तै शान्ति तीर्थ कोटेश्वर, शंकर तीर्थ शंखमूल, ज्ञान तीर्थ, प्रमोद तीर्थ, सुलक्षण तीर्थ, मनोरथ तीर्थ र राजतीर्थहरू विभिन्न नागका बासस्थान हुन् ।
हरेक वर्ष नाग पञ्चमीका दिन ती नागका बासस्थान तीर्थमा गई नागलाई पूजा गर्ने गरिन्छ । त्यस्तै, घरैपिच्छे नागको चित्र टाँसेर पूजा गर्दा नागले घरको रक्षा गर्छ, चट्याङ बज्र पर्दैन र प्रशस्त मात्रामा पानी पनि पर्छ भन्ने जन विश्वास छ । घरमा चट्याङ बज्र पर्दैन भन्ने कुरामा पनि बज्र इन्द्रको हतियार हो भने इन्द्र र नागका पिता कश्यप ऋषि भएको दाजुभाइको बीचमा बज्रप्रहार गर्नु हुँदैन भन्ने मान्यता रहेकाले पनि हो भनिन्छ ।
कश्यप ऋषिकी श्रीमती कद्रुबाट नागको जन्म भएको हो । नाग सर्पहरूको राजा पनि हो । नागको पूजा गर्नुमा धार्मिक, सांस्कृतिक, सामाजिक र प्राकृतिक मान्यता पनि रहिआएको छ । विष्णु भगवान् र महादेवलाई अन्त्यन्तै मनपर्ने भएर नै शेषशायी भगवान् विष्णु नागमाथि विश्राम गर्नुहुन्छ भन्ने महादेवले नागको माला लगाएर बस्नुभएको हो । बुद्ध धर्ममा पनि नागको महत्व छ । त्यसैले बुद्धको मुकुण्डोमा पनि नागको प्रतीक राख्ने गरिन्छ । नागहरूमा मुख्यतया आठ किसिमका अनन्त, वासुकी, पद्म, महापद्म, कुलिट, कर्कट, शंख र चष्टलाई विशेष रूपमा लिइन्छ । एउटा आख्यानअनुसार एकपटक नागले दुःख दियो भनी एकजना ज्यापुले नागका बच्चाहरू गरी दिएछ । आफ्ना बच्चालाई खानेकुरा खोज्न गएको नाग फर्केर आफ्ना बच्चा मारिराखेको देखी रिसले चुर भई नागले त्यो ज्यापूलाई लखेटीलखेटी मारिदिएछ र ज्यापुका परिवरालार्य मारिदिएछ । त्यस ज्यापूका एउटी छोरी भने भाग्यजले बाँचेकी रहिछिन् । अनि त्यो छोरीचाहिँले नागको प्रार्थना गरी धूप बत्ती बालेर बसिछिन् र नाग आफ्नोसामु आउँदा अनुनयविनय गरी दूध खुवाइन्छन् । यस प्रकार आफ्नो पूजाआराधना दूध खुवाएकाले नागको रिस पनि मरेछ र शान्त भएछ । अनि, खुसी भई नागले त्यस छोरीलाई जीवन दान दिएर के माग्छौ माग तिमीले मागेको मैले दिने भएँ भनेछ । त्यो छोरीले पनि मरिसकेका मेरा आमाबाबु, दाजुभाइ र दिदीबहिनी सबैलाई बाँच्न दिनुस् भनी मागिछिन् । नागले पनि आफ्नो वचन गइसकेकाले तुरुन्तै ती सबैलाई बचाइदिएछ । त्यो दिन श्रावण शुक्ल पक्षको पञ्चमी परेको रहेछ । त्यही दिनदेखि उपत्यकाका ज्यापूहरूले नागको पूजा गर्दै आएको हो भन्ने जन विश्वास छ ।
नागपञ्चमीका दिन धापाखेलको नागदहमा ठूलो मेला लाग्छ । एउटा आख्यानअनुसार १६ वर्ष कि तरुनी तर कुरूप एउटी किरातिनीलाई लोग्नेले त्यागेर गएपछि यस्तो कुरूप भएर बाँचिरहनुको केही सार छैन बरु मरेर जान्छु भनी जंगलमा गइन् । जंगली जनावरले खाओस् भनेर जंगलमा गए पनि हरिवोधिनी एकादेशीदेखि कात्तिक पूर्णिमाका दिनसम्म खान नपाएर बस्नुप¥यो । त्यस किरातिनीलाई जंगली जनावरले पनि नखाएकाले आत्महत्या गरेर पर्छु भनी धापाखेलको नागदहमा फाल हालिन् । तर दैवसंयोग त्यही समयमा एउटा किराँत युवक पनि सिकार खेल्दै त्यहाँ पुगेछ । नागदहमा युवतीले हाम फालिरहेको देखी बचाएर बाहिर ल्याउँदा त्यस कुरूप किरातिनी अत्यन्तै राम्री सुन्दरीको रूपमा देखा परिन् । त्यस किरातिनीले नयाँ रूप लिन पाएको र त्यस नागदहको महत्व र महिमाको गुणगान गर्दै नाग पञ्चमीका दिन ठूलो मेला लाग्ने गरेको हो भनिन्छ ।
भक्तपुरको सिद्धपोखरीमा पनि नागपञ्चमीका दिन ठूलो मेला लाग्दछ । मल्ल वंशका प्रथम राजा अरिमल्लको शासनकालमा पानी नपरेर हाहाकार भएकाले राजाले तान्त्रिक विधिअनुसार सिद्ध पोखरीमा नाग सिद्ध गरेका रहेछन् । त्यही सिद्धपोखरीको डिलमा बसेर एकपटक ठिमीका एक जना व्यापारी र उसको साथी तान्त्रिक गफ गरिरहेको समयमा सिद्धपोखरीका नागलाई त्यो तान्त्रिकले अनेक प्राकरले हाउभाउ गरी जिस्क्याउन थालेछ । पोखरी भित्रको नागलाई साह्रै रिस उठेछ । अनि, त्यसले त्यस तान्त्रिकलाई पोखरीभित्र आई लड्न आउ भनी चुनौती दिएछ । त्यो तान्त्रिक पनि के कम व्यापारी साथीलाई एक मुठी चामल मन्त्ररेर दिँदै भन्छ, ‘म त्यो नागलाई मारेर आउँछ तिमीले मलाई यो चामलले हिर्काउनु’ यति भनेर त्यो तान्त्रिक पोखरीमा हाम फाल्छ । केही समयपश्चात् पोखरीको नागलाई मारेर त्यो तान्त्रिक साथी फर्केर आउँदा व्यापारी साथी डराएर ठिमीतर्फ भागेर जान थाल्छ । साथीले चामलले हिर्काउला र म फेरि मान्छे हुन सक्छु भनी तान्त्रिक नाग जति जति पछि पछि लाग्छ उतिउति नै त्यो व्यापरी साथी झन्–झन् डराएर गएकाले तान्त्रिक नागको रूपमा बस्न बाध्य भएर त्यही सिद्ध पोखरीमा बसेछ भनिन्छ । आजसम्म पनि ठिमीका मानिस डरले त्यस सिद्धपोखरीमा जाँदैनन् । यो सिद्धपोखीमा नागपञ्चमीका दिन ठूलो मेला लाग्दै आएको छ ।
त्यसरी नै टौदहमा पनि नागपञ्चमीका दिन कर्कोटक नागराजाको विशेष रूपमा पूजा गर्ने र मेला भर्ने परम्परा छ । महामञ्जुश्रीले उपत्यकाको पानी चोभारको हासिकापबाट बाहिर पठाउँदा कर्कोटक नागराज रिसाई बाहिर जान लाग्दा मञ्जुश्रीले नागराजलाई बिन्तीभाउ गरी मनाएर टौदहमा राखेको हो भनिन्छ ।
नागराज कर्कोटकका रानीको आँखा दुःखेको बेला बाटोमै भेटेका एक जना ज्यापुले रानीको आँखा दुख्ने रोग निको पारेकोले नागराजा खुसी भई हिरामोती नवरत्नजडित भोटो ज्यापूलाई उपहार दिए । त्यो ज्यापूले खेतमा काम गर्दा भोटो फुकालेर खेतमै राखेको समयमा एउटा ख्याकले त्यो भोटो चोरेर लगेछ । एकदिन आफ्नो भोटो लगाएर रातो मच्छिन्द्रनाथको जात्रा हेरिरहेका ख्याकलाई देखी त्यो ज्यापूले यो भोटो मेरो हो मलाई देऊ भनी झगडा गर्न थालेछ । रातो मच्छिन्द्रनाथले त्यो भोटो आफ्नो जिम्मामा लिई दुवैलाई प्रमाण लिएर आउन जसको भोटो हो उसैलाई दिइनेछ भनेछ । त्यही आख्यानअनुसार आजसम्म पनि हरेक वर्ष रातो मच्छिन्द्रनाथको जात्रा जावलाखेलमा पुग्दा यो कसको भोटो हो भनी देखाउने परम्परा रही आएको हो । यसैले हरेक वर्ष भोटो देखाउने जात्रा भनी रातो मच्छिन्द्रनाथले आफ्नो जिम्मामा रहेको भोटो देखाउँदै आइरहेको हो ।
यसरी उपत्यकामा नागका बारे विभिन्न आख्यान सुन्न पाइन्छ । त्यसै अनुरूप नेवारहरूको संस्कृति र परम्परा पनि चल्दै आएको देखिन्छ । नागनागिनी मारेर चलाइएको भक्तपुरको विस्केट जात्रा, छुमा गणेशको जात्रा, नागको आसन बनाई बसेका गुरु गोरखनाथलाई आसनबाट उठाएर वर्षा गराई सहकाल ल्याउन गुरु गोरखनाथका पनि गुरु रातो मच्छिन्द्रनाथलाई आसामको कामरूप कामाख्याबाट ल्याई जात्रा चलाउनु पनि नागसँग सम्बन्धित छ ।
भतिगा लाखे
हरेक वर्ष नागपञ्चमीका दिनदेखि कृषाष्टमीसम्म काठमाडौंका विभिन्न टोलमा नचाइने भतिगा लाखे नाचले विशेष स्थान ओगटेको पाइन्छ । नेवारी समाजमा चल्दै आइरहेको जातीय जात्रामध्ये घःला पोडे समाजको नेतृत्वमा यो भतिजा लाखे नाच चल्दै आइरहेको छ । उपत्यकाका विभिन्न देवताका मन्दिरहरूमा अझ त्यसमा पनि अष्टमातृका पीठमा पुजारी घःला नै भइरहेका छन् भने भतिगा लाखे नाच एउटा मात्र यो समाजको नेतृत्वमा चल्दै आएको छ । हुन त घःलालाई नै थकाली बनाई कीर्तिपुरको ऐतिहासिक सात गाउँले जात्रा गर्ने र भोज खाने चलन छ । त्यस्तै हाँडी गाउँको राँगाको बलि दिएर भोज खुावउने परम्पराले गर्दा घःला समाजको सांस्कृतिक महत्व रहेको पाइन्छ । त्यसरी नै नुवाकोटको कागती गाउँमा हुने महालक्ष्मी जात्रामा पनि काठमाडौंको सबल बहालका घःला नगएसम्म र उसले बलि नदिएसम्म जात्रा नै सुरु नहुने परम्पराले पनि घःलाको सांस्कृतिक महत्व अझ बढी रहेको देखाउँछ ।
सबल वहालको भतिगा लाखे नाचले घःला समाजको पहिचानलाई झनै महत्वपूर्ण बनाई दिएको छ । किंवदन्तीअनुसार भतिगा लाखे कहीँबाट आएर सवल बहालकी एउटी महिलासँग प्रेम गरी विवाह गरेर त्यहीँ घरमा दोलाजी बसेको रहेछ । भतिगा रससँग गर्नुपर्ने, समाज सेवा पनि गर्ने रहेछ । उही भतिगाको जिउमा देवता प्रवेश गरेकाले मुकुन्डो लगाई दिएर भतिगा लाखे नाच नचाउन थालिएको रहेछ । भतिगा लाखे नाच कहिलदेखि सुरु भएको हो भन्ने तथ्य यसै भन्न सकिन्न । तर, सम्बिन्धित मानिसहरूको भनाइअनुसार ने.सं. ९० देखि भतिगा लाखे नाच नचाउँदै आएको हो । भतिगा लाखे कहाँबाट अयो ? कुन घःला युवतीसँग विवाह गरेको हो कसैलाई थाहा छैन ।
एउटा भनाइअनुसार इन्द्रजात्राको बेलामा निकालिने भजिया लाखे र भतिगा लाख कहिल्यै पनि आमने सामने पार्नु हुँदैन । केही भएर भतिगा लाखे नाच मजियारमा पुग्यो वा मजिया लाखे सववहालमा पुग्यो भने रगत छादेर मर्न सक्छ भन्ने विश्वासले दुवैले एकअर्काको क्षेत्रमा कहिल्यै जाँदैनन् । सवलबहालको नाट्येश्वरलाई सुँगुर र राँगाको बलि दिएर सुरु गरिने भतिगा लाखे नाच टोलैपिच्छे लगिन्छ । जहाँजहाँ बलि पूजा दिइन्छ त्यहीँ त्यहीँ लाखे नाच नचाइन्छ तर मजियातमा भने लाँदैन । रातो अनुहार, ठूलठूला डरलाग्दा आँखा भएको मुखबाट दाह्रा निस्किएको मुकुन्डो र रातो जामा लगाएको र छातीमा षट्कोण चिन्ह भएको लुगा लगाएको भतिगा लाखे नाच नचाउन सम्पूर्ण खर्च स्थानीय स्रोतबाट व्यहोर्दै आइरहेको छ । घःला समाजको पहिचान भएको ढोलक र सानो बाँसुरी एकोहोरो तालमा बजाई नाग पञ्चमीदेखि कृष्णाष्टमीसम्म भतिगा लाखे नाच नचाउने गरिन्छ ।
प्रतिक्रिया