वेष्टह्यामविरुद्ध लिसेस्टरको जित

licester football photoलन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिसेस्टर सिटीले वेष्ट ह्यामलाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा लिसेस्टरले १० खेलाडीमा सीमित वेष्ट ह्यामलाई २–१ ले पराजित गरेको हो । खेलको अन्तिम समयमा गोलकिपर एड्रियन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेस्ट ह्याम केही बेर १० खेलाडीमा सीमित भएको थियो ।

२७औँ मिनेटमा सिनजी ओकाजाकीले गोल गर्दै लिसेस्टरलाई सुरुआती अग्रता दिलाए । रियाद महरेजले ३८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । वेस्ट ह्यामका दिमित्री पेयाटले ५५औँ मिनेटमा वेस्ट ह्यामका लागि एक गोल गरे । त्यसपछि गोल हुन सकेन र लिसेस्टर विजयी भयो । लिसेस्टरले पहिलो खेलमा सनडरल्यान्डलाई ४–२ ले हराएको थियो ।

वेस्ट ह्यामले पहिलो खेलमा आर्सनललाई २–० ले पारजित गरेको थियो । शनिबार राती नै भएको खेलमा नर्विचले सनडरल्यान्डलाई ३–१ ले हराएको छ । २६औँ मिनेटमा रसेल मार्टिनको गोलबाट सुरुआती अग्रता लिएको नर्विचका लागि ३७औँ मिनेटमा स्टिभन व्हाइटेकर र ५७औैँ मिनेटमा नाथन रेडमन्डले एक–एक गोल गरे ।

सनडरल्यान्डका लागि एक मात्र सान्त्वना गोल ८८औँ मिनेटमा डंकन वाट्मोरले गरे । नर्विच पहिलो खेलमा क्रिस्टल प्यालेससँग ३–१ ले पराजित भएको थियो । अर्को खेलमा स्वान्सीले १० खेलाडीमा सीमित न्युक्यासललाई २–० ले हराएको छ । स्वान्सीको जितमा नवौँ मिनेटमा बाफेटमबी गोमिस र ५२औँ मिनेटमा आन्द्रे आयुले गोल गरे ।

पहिलो हाफको अन्त्यमा डिफेन्डर डेरल यानमार्ट रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सीमित भएको थियो । शनिबार राती नै भएको खेलमा वाट् फोर्ड र वेस्ट ब्रोमले गोलरहित बराबरी खेलेका छन् । अर्को खेलमा टोटनह्याम र स्टोकले पनि २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । अंक तालिकामा दुई खेलबाट ६ अंक जोडेको लिसेस्टर पहिलो स्थानमा छ । समान ६ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो तथा चार अंक जोडेको एर्भटन तेस्रो स्थानमा छन् । (एजेन्सी)

प्रतिक्रिया