फेरिँदैछ एकल महिलालार्ई हेर्ने दृष्टिकोण

windowपछिल्लो समय नेपाली समाजमा एकल महिलालार्ई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन हुँदै गएको छ । श्रीमान्को मृत्युपछि विधवा श्रीमतीले बाँचुन्जेल सेतो लगाउनुपर्ने, श्रीमान्को नामको सम्पत्ति नपाइनेलगायतका थुप्रै समस्या क्रमशः घट्दै गएको पाइन्छ । राजधानीदेखि जिल्लाको ग्रामीण भेगसम्म सरकारी तथा गैरसरकारी संस्थाहरूले सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमले पनि समुदायले एकल महिलाप्रति हेर्ने दृष्टिकोण सकारात्मक भएकोे मानवअधिकारका लागि महिला एकल महिला समूहकी निवर्तमान अध्यक्ष चन्द्रीका भट्टराई बताउँछिन् ।

जिल्ला–जिल्लामा एकल महिलाका लागि व्यक्तित्व, क्षमता विकास, महिलाअधिकार, मानवअधिकारलगायतका चेतनामूलक तालिमले गर्दा समुदाय र एकल महिलाको सोचमा परिवर्तन हुँदै गएको मानवअधिकारका लागि एकल महिला समूहकी निवर्तमान अध्यक्ष भट्टराईले बताइन् । एकल महिलालार्ई अहिले पनि नेपाली समाजमा हेपाहाको दृष्टिले हेर्ने चलन रहँदै आएको छ । महिला एकल महिलामध्ये पनि श्रीमान्को मृत्युपछि विधवा भएकी महिलालार्ई समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको पाइन्छ । विधवा महिलालार्ई हेर्ने समाजको दृष्टिकोण परिवर्तन गर्नका लागि अहिले पनि रातो कपडा, चुरा, पोते र सिन्दूर लगाउने अभियानलार्ई निरन्तरता दिइरहेको मानवअधिकारको लागि महिला एकल महिला समूहले जनाएको छ ।

मानवअधिकारका लागि महिला एकल महिला समूहले सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा शाखा गठन भएका सबै जिल्लाका एकल महिलाका लागि वैदेशिक रोजगारी, सिलार्ई कटाई, मोबाइल रिपेरिङ, ब्युटीपार्लर, बोल्न र विवाद गर्नसक्ने क्षमता विकास, ड्राइभिङ, कुकलगायतको व्यक्तित्व विकासको तालिम एकल महिलाहरूलार्ई प्रदान गर्दै आएको एकल महिला संघले जनाएको छ । पछिल्लोे समयमा एकल महिलालार्ई श्रीमान्को सम्पत्ति लिन र परिवारले सहजै रूपमा दिन थालेका उदाहरण पनि समुदायमा देखिन थालेको छ । तर, अझैसम्म पनि आमाको नामबाट छोराछोरीले नागरिकता पाउन नसकेको एकल महिलाका लागि ठूलो चुनौती रहेको बताइन्छ ।

श्रीमान्को मृत्युपछि एकल महिलाले उनीहरूकोे भागमा रहेको सम्पत्ति आफँैले भोगचलन गर्न पाउने नियमले पनि एकल महिलालार्ई सफलता प्राप्त भएको छ । यस्तै श्रीमान्को मृत्युपछि श्रीमतीको योग्यता र क्षमताअनुसार श्रीमान्ले काम गरेको कार्यालयमा जागिर दिने नियम पनि विस्तारै लागू हुँदै गएको निवर्तमान अध्यक्ष भट्टराई बताउँछिन् । अहिले एकल महिलामध्ये विधवालार्ई मात्र नेपाल सरकारले मासिक पाँच सय रुपैयाँ भत्ताको व्यवस्था गर्दै आएको छ । एकल महिलालार्ई नयाँ बन्ने संविधानमा पनि हक अधिकारको कुरा सुनिश्चित नहुने निवर्तमान अध्यक्ष भट्टराईले बताइन् ।

अन्याय सहने बानी
ग्रामीणभन्दा सहरी क्षेत्रका एकल महिला धेरै जसो हिंसामा पर्ने गरेको जनाएको छ । काठमाडौंका एकल महिलाहरूको समस्या अन्य जिल्लामा भन्दा बढ्दो रहेको एकल महिला संघले जनाएको छ । अन्य जिल्लामा भन्दा काठमाडौं जिल्लाका एकल महिला आफ्नो समस्या खुलेर नराख्ने र हिंसा सहेर बस्ने गरेको अध्यक्ष भट्टराईले बताइन् । काठमाडौं जिल्लाका एकल महिलाहरू आफूलार्ई परेको समस्या सुनाउने कुरामा बाहिरी जिल्लामा भन्दा निकै कम रहेको भट्टराई बताउँछिन् । उनी भन्छिन्, ‘शिक्षाको कमी भएको भनौँ भने सुविधासम्पन्न घरपरिवारका छोरीबुहारी हुन् । तर, इज्जत मानप्रतिष्ठा गुम्ने डरले अन्याय सहन सहज ठान्छन् । तर, आफूमा भएको समस्या बाहिर ल्याउन मान्दैनन् ।’ उनी थप्छिन्, ‘समुदायमा विकास जति हुँदै गयो त्यति एकल महिलाहरूले आफूमा भएको हिंसा बाहिर ल्याउँदैनन् ।’

एकल महिलालार्ई नेपाल सरकारले पाँच समूहमा विभाजन गरेको छ । श्रीमान्को मृत्युपछि भएको विधवा, सम्बन्ध विच्छेद, श्रीमान्सँग भिन्न बसेको, ३५ वर्ष नाघे पनि अविवाहित रहेका महिला र बेपत्ता श्रीमान्को श्रीमतीलार्ई पनि एकल महिलाको समूहमा विभाजन गरिएको छ । भट्टराई भन्छिन्, ‘एकल महिलाका लागि सञ्चालन गर्दै आएको तालिम सीप र ज्ञान पुरानै शैलीको भयो । समयअनुसार उनीहरूलार्ई तालिम दिन सके विकासमा फड्को मार्ने थिए ।’

मानवअधिकारका लागि एकल महिला समूहको ७३ जिल्लामा शाखा र एक हजार पाँच सय ५० वटा गाविस समूह र पाँचवटा विकास क्षेत्रमा क्षेत्रीय कार्यालय रहेको छ । एकल महिला समूहको शाखा गठन गर्न बाँकी रहेको दुई जिल्ला ओखलढुंगा र सोलुखुम्बुमा अबको केही समयभित्र शाखा गठन गर्ने र ७५ वटै जिल्लाका एकल महिलालार्ई व्यक्तित्व विकासमा दक्ष बनाउने मानवअधिकारका लागि एकल महिला समूहको उद्देश्य रहेको छ । भट्टराईका अनुसार नेपालमा अहिलेसम्म एकल महिला समूहको सदस्य एक लाख रहेका छन् ।

प्रतिक्रिया