सिलएट, ३० साउन । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले गोल गर्न नसकेको आठ खेल भइसकेका छन् । तर, त्यसको ठीक उल्टो उमेर समूहमा नेपाली टोलीको प्रदर्शन भने उत्कृष्ट हुने गर्छ ।
सन् २०११ बाट सुरु भएको अन्डर–१६ साफ च्याम्पियनसिप दक्षिण एसियाको उमेर समूह फुटबलमा निकै लोकप्रिय प्रतियोगिता मानिन्छ । अहिले तेस्रो संस्करण बंगलादेशमा जारी छ । उमेर समूहको साफ फुटबलमा प्रतियोगितामा सधैँको उपाधिको दाबेदार मानिने नेपाली युथ टोलीले आइतबार डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध सेमिफाइनल खेल्दै छ । दुई वर्षअघि काठमाडौंमा भएको दोस्रो साफमा नेपाली यु–१६ टोली भारतसँग १–० ले पराजित भएको थियो । त्यही परिस्थितिमा नेपालले आइतबार भारतविरुद्धको पहिलोसाफमा सेमिफाइनल र दोस्रो साफमा फाइनलमा भोगेको पराजयको बदला लिने धुनमा बंगलादेशको सिलएट जिल्ला मैदानमा खेल्दै छ । यसअघि नेपाल भारतसँग २–० र १–० ले पराजित भएको थियो ।
बंगलादेशमा जारी तेस्रो अन्डर–१६ साफ च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत समूह ‘बी’को विजेता बन्दै नेपालले सेमिफाइनलमा भारतलाई प्रतिद्वन्द्वी बनाएको थियो । समूह ‘ए’ मा भारत उपविजेता बनेको थियो । उपाधि जित्ने लक्ष्य लिएर बंगलादेश प्रस्थान गरेको नेपालले तुलनात्मक रूपमा कठिन मानिएको समूहमा परे पनि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ५–० को पराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो । आफ्नो दोस्रो खेलमा प्रतियोगिताकै बलियो मानिएको अफगानिस्तानलाई १–० ले पराजित गर्दै समूह विजेता बन्न सफल भएको छ । दुई वर्षअघि काठमाडौंमा भएको दोस्रो यु–१६ साफ च्याम्पियनसिपअन्तर्गत नेपाललाई १–० गोल अन्तरले पराजित गर्दै भारतले उपाधि उचालेको थियो । त्यसकारण पनि सेमिफाइनल नेपालका लागि हारको बदला लिने उपयुक्त मौकाको रूपमा रहेको छ ।
नेपाली टोेलीका प्रशिक्षक उपेन्द्रमान सिंहले अफगानिस्तानविरुद्ध खेलको उदाहारण खेलाडीले भारतविरुद्ध पनि उत्कृष्ट खेल खेल्ने बताए ।
‘भारत सधैँ दक्षिण एसियाली क्षेत्रको पावर हाउस हो ।’ भारतीय टिमबारे कुरा गर्दै प्रशिक्षक सिंहले भने, ‘भारत प्रतियोगिताको दाबेदारको रूपमा बंगलादेश आएको छ । उनलाई कमजोर ठान्नुहँुदैन । म मेरा खेलाडीसँग एकदमै विस्वस्त छु । उनीहरूले जितका लागि खेल्नेछ ।’ उनले भने, ‘खेलाडीहरूमा कुनै इन्जुरीको समस्या छैन । उनीहरू शारीरिक र मानसिक रूपमा भारतविरुद्ध खेल्न तयार रहेको बताए ।
आइतबारै समूह ‘ए’को विजेता आयोजक राष्ट्र बंगलादेशले समूह ‘बी’को उपविजेता अफगानिस्तानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यु–१६ साफ च्याम्पियनसिप प्रतियोगितामा ६ देशले सहभागिता जनाएका छन् । भुटान र पाकिस्तानले सहभागिता जनाएका छैनन् ।
प्रतिक्रिया