करातेकर्मी सम्मानित

karateकाठमाडौं । नेपाल वादोरियो कराते डो संघले १९औँ सेन्ट्रल इंग्ल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता सुनील लामा र पर्शुराम बाँस्तोलालाई शनिबार सम्मान गरेको छ । लन्डनमा जुलाई ५ र ६ मा भएको उक्त च्याम्पियनसिपमा सुनीलले पुरुषको ६७ केजीमुनि तथा पर्शुरामले पुरुष एकल कातामा कास्य जितेका थिए । दुवैलाई समान १५–१५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो ।
त्यसै अवसरमा गत फागुनमा राष्ट्रिय खेलकुद परिषद्(राखेप)अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा सम्पन्न एडभान्स स्पोर्ट्स साइन्स कोर्ष फर इलाइट कोचेजमा ९२.५ प्रतिशत अंक ल्याई उत्कृष्ट स्थान हासिल गर्न सफल १०औँ दक्षिण एसियाली खेलकुदका स्वर्णधारी एवं वर्तमान राष्ट्रिय कराते टिमका प्रशिक्षक मध्येका एक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
उनीहरूलाई राखेपका सदस्यसचिव केशवकुमार विष्टको सम्मानमा नेपाल वादोरियो कराते डो संघले वसुन्धारास्थित यति पार्टी प्यालेसमा आयोजना गरेको स्वागत तथा बधाइ ज्ञापन कार्यक्रममा सम्मान गरिएको हो ।
नेपाल कराते महासंघका महासचिव एवं वादोरियो करातेका मुख्य प्रशिक्षक हरिशरण केसी, प्रशिक्षक, खेलाडीलगायतले सदस्यसचिव विष्टलाई स्वागत गर्नुका साथै बधाइ दिएका थिए । केसीले सदस्यसचिव विष्टलाई मायाको चिनो पनि प्रदान गरे ।
सभासद् आनन्द पोखरेल, सदस्यसचिव विष्ट, कराते महासंघका अध्यक्ष दावा गुरुङ, हरिशरण केसीलगायतले सुनील, पर्शुराम र कुशललाई सम्मान गरेका थिए ।
सोही अवसरमा वादोरियोको विभिन्न जिल्लाका डोजो र स्कुल खेलकुद विभागलाई खेल सामग्री प्रदान गरिएको थियो । त्यसै अवसरमा भारतको गुजरातमा २२ र २३ अगस्टमा हुने छैटौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भाग लिने वादोरियो टोलीलाई ट्रयाकसुट पनि प्रदान गरियो । (सौस)

प्रतिक्रिया