गुँला र सापारु सुरु

काठमाडौं, ३० साउन । शनिबारदेखि गुँला पर्व सुरु भएको छ । मुलुकभर नेवार समुदायले मनाउने यो पर्व काठमाडौं उपत्यकामा विशेष रूपले मनाउने प्रचलन छ । यसै क्रममा साँखुमा भग्नावशेषका बीचसमेत मानन्धर समुदाय र वज्राचार्य समुदायले आआफ्ना बाजागाजा र पूजाआजासहित विशेष रूपले गुँला पर्व मनाउन सुरु गरेका छन् ।
सापारु पर्व ः भदौ महिनामै पञ्चदान चह्रे र गाईजात्रा (सापारु) समेत पर्छ । सापारु एक महिनासम्म चल्ने गर्छ । साँखुमा भने विशेष पूजाआजाको थालीसहित गुँलाबाजा बजाएर सापारु मान्ने प्रचलन छ । सो दिन क्वाँटी खाने गरिन्छ जसमा नौ किसिमका गेडागुडी हुनुपर्ने मान्यता छ । उक्त दिन नौ जोर नै लुगा फेर्नुपर्ने र पूर्वतिर फर्किएको नौ ढुंगेधारामा नुहाउने प्रचलनसमेत छ ।
यस दिन अपराह्न भने मृतक आफन्तको सम्झनामा गाईजात्रा निकालिने चलन छ । सो प्रयोजनका लागि साँखुका आठवटै टोलबाट बाजागाजासहित गाईजात्राको झाँकी निकालिन्छ । गाईलाई सिँगारिने, ढाकाचा र ताहासा(अग्लो गाई अर्थात् गाईखट) पठाउने, देवीदेवताको मूर्ति बनाई मृतकको तस्बिर राखी जात्रा गरिने, बालबालिकालाई सिँगारेर पठाउनेलगायत झाँकी प्रस्तुत गरिन्छ ।

प्रतिक्रिया