काठमाडौं । काठमाडौं खेलकुद विकास समितिका अध्यक्ष पदमा मनोनित ध्रुवराज न्यौपानेले शुक्रबार कार्यभार सम्हाले । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले केही दिन अगाडि मात्र प्रेषित गरेको एक औपचारिक पत्रमा न्यौपानेलाई चार वर्ष कार्यकालका लागि अध्यक्ष पदमा मनोनयन गरेका जनाएको थियो ।
न्यौपाने लामोसमय तत्कालीन कपन गाविसमा नेकपा एमालेका अध्यक्ष थिए । खेलकुदका क्षेत्रमा सक्रिय सहभागिता देखाउँदै आएका न्यौपाने राजनीतिसहित सामाजिक जीवनमा पनि क्रियाशील नाम हो । उनी नेकपा एमाले सम्बन्धित खेलकुद महासंघका केन्द्रीय सदस्य पनि हुन् । तत्कालीन गाउँ खेलकुद विकास समितिमा न्यौपाने अध्यक्षसमेत थिए ।
राखेपका सदस्यसचिव केशवकुमार विष्टद्वारा हस्ताक्षरित पत्रमा न्यौपानेलाई परिषद्को ऐन नियम तथा नियमावली एवं प्रचलित कानुन बमोजिम दैनिक प्रशासनिक कार्यहरू तथा काठमाडौं जिल्लाको सबै खेलकुद कार्यक्रम सञ्चालन गर्न गराउन अधिकार दिइएको छ । (सौस)
प्रतिक्रिया