समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

सिलएट, २९ साउन । नेपाल बंगलादेशमा जारी तेस्रो यु–१६ साफको समूह ‘बी’ विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो संस्करणदेखि नै यु–१६ तहमा अन्यभन्दा स्तरीय प्रदर्शन गर्दै आएको नेपालले तेस्रो संस्करणमा पनि समूह चरणसम्म उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । शुक्रबार बंगलादेशको सिलएट जिल्ला स्टेडियममा बलियो अफगानिस्तानलाई १–० को झिनो अन्तरले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा क्षितिज राजले दोस्रो हाफको दोस्रो मिनेटमा गरेको गोल नै अफगानिस्तानलाई पराजित गर्न पर्याप्त बन्यो । पराजित भए पनि अफगानिस्तान उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता तथा डिफेन्डिङ च्याम्पियन भारतसँग १६ अगस्टमा खेल्नेछ भने आयोजक बंगलादेशले सेमिफाइनलमा अफगानिस्तान प्रतिद्वन्द्वी पाएको छ । अघिल्ला दुई संस्करणमा नेपाल भारतसँग नै पराजित भएको थियो ।
वर्षाका कारण ढिला गरी सुरू भएको खेलमा दुवै टोलीले आफ्नो लय अनुसार खेल्न सकेका थिएनन् । पहिलो हाफको १९औँ मिनेटमा नेपालका प्रिजन तामाङले गोल गर्ने सुन्दर मौका खेर फाल्दा सुरूआती अग्रता लिने मौका गुमायो । मैदान हिलाम्य भएका कारण पहिलो हाफको खेलभर प्रिजनको एक मात्र प्रहारबाहेक कुनै पनि टोलीले पोस्टमा बल लैजान नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा क्षितिज राजले गोल गर्दै नेपाललाई अग्रता दिलाए पनि दुवै टोलीले आफ्नो स्वभाविक खेल देखाउन सकेका थिएनन् । एक गोल गरेपछि डिफेन्सिभ खेल खेलेको नेपालले त्यसपछि काउन्टर अट्याकमा गोल गर्ने प्रयास गरेको थियो । एक गोलले पछि परेको अफगानिस्तानले आक्रमक खेल खेल्दै गोल गर्ने अवसरहरू सिर्जना गरेको थियो । ६३औँ मिनेटमा अफगानिस्तानले बराबरी गोल गर्ने सुन्दर मौका चुकाएको थियो । ६६औँ मिनेटमा अर्काे मौका पनि खेर फालेको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल नेपालले आफ्नो पक्षमा पा¥यो ।

प्रतिक्रिया