सिलएट, २८ साउन । बंगलादेशमा जारी तेस्रो साफ यु–१६ फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल समूह ‘बी’ को विजेता हुने लक्ष्यसहित शुक्रबार बलियो अफगानिस्तानविरूद्व खेल्दै छ ।
खेल नेपाली समय अनुसार साँझ पौने पाँच बजेपछि सेलएट जिल्ला स्टेडियममा हुनेछ ।
यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो । अफगानिस्तानले पनि माल्दिभ्सलाई ४–२ ले पराजित गरेको थियो । लगातारको हारले माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएको छ । यस्तै समूह ‘ए’ बाट आयोजक बंगादेशसँगै डिफेन्डिङ च्याम्पियन भारतले पनि सेमिफाइनलमा स्थान बनाइसकेका छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन् ।
नेपाली टोलीका प्रशिक्षक उपेन्द्रमान सिंहले माल्दिभ्सविरूद्वको एकतर्फी जितले खेलाडीहरू उत्साहित रहेको बताए । उनले प्रतियोगिताको बलियो मानिएको अफगानिस्तानविरूद्व पनि जितकै लागि खेल्ने बताए । ‘खेलाडीहरू बंगलादेशमा ट्रफी जित्नको लागि आतुर देखिएको छ । मैले उनीहरूको आँखामा हेरेको छु ।’ प्रशिक्षक सिंहले भने, ‘खेलाडीहरू प्रशिक्षणको समयमा पनि गम्भीर भएर प्रशिक्षण गरिरहेका छन् । मलाई पूर्ण विश्वास छ खेलाडीहरूले अफगानिस्तानविरूद्व उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्नेछन् ।’ अफगानिस्तानको एट्याकिङ पक्ष राम्रो रहेको भए पनि डिफेन्समा भने केही कमजोर रहेको भन्दै त्यसैको फाइदा उठाएर अघि बढ्ने बताए । टोलीमा परीक्षाका कारण ढिला भएका विंगर अशोक थापाको आगमनले टोली बलियो भएको उनले थपे ।
प्रतियोगिताको सधैँको दावेदार नेपाली यु–१६ टोली सन् २०११ मा भएको पहिलो साफमा तेस्रो तथा सन् २०१३ मा काठमाडौंमा भएको दोस्रो साफमा दोस्रो भएको थियो ।
प्रतिक्रिया