कहिले कुन ठाउँ त कहिले कुन ठाउँ, यसोे चिनजान व्यक्तिको कार्यालयमा धाउने उनको दैनिकी भइसकेको छ । निन्याउरो अनुहार उनको परिचय बनिसकेको छ । हेर्दा बालकैजस्तो देखे पनि उनले एक बीस उमेर नाघेका रहेछन् । हाडसँगै टासिएको छाला, होचो कद अनि शारीरिक अपांगताका साथै शरीरको जिउडालले पनि उनलार्ई ठगेको छ । उनी हुन्, दाङका अनिल अधिकारी । उनले कामको खोजीमा काठमाडांैका सडक र गल्लीहरूमा भौतारिएको चार महिना भयो । आजभन्दा एक वर्षअघि काठमाडौंमा आफ्नो भविष्य खोज्नका लागि आएको उनी बताउँछन् । उनी अहिले काठमाडौंमा एक रेकर्डिङ स्टुडियोमा प्राविधिकको काम गर्दै आएका छन् । तर, पैसाको टुंगो छैन कति दिने कहिले दिने ?
अनिलको आगतभन्दा विगत झन् पीडादायी छ । ‘कर्मले ठगेको मान्छे हुँ म त,’ उनी भन्छन् । जन्मँदै समाज र परिवारको घृणा बोकेर जन्मिएका उनको न्वारान पनि ९ वर्षमा भएको हो रे ! कुमारी आमाबाट जन्मेको हुनाले जन्मनुअघि नै घृणाको पात्र बनेका थिए, उनी । अविवाहित अवस्थामै गर्भ रहेपछि सुत्केरी हुने बेला उनकी आमालार्ई गोठको बास राखियो रे ! उनी जन्मेको तीन वर्षपछि समाज र परिवारको अथक प्रयासले उनका बाबु र आमाको बिहे हुने भो । कुमारी आमाको बात र जन्मेको बच्चाले बाबु पाउनेमा आमा खुसीले दंग भइन् । तर, उनको खुसी तीन दिन पनि टिकेन । बिहे हुने भनिएको अघिल्लो दिन बुबा ओमप्रकाश फरार भएको खबर आयो । सामाजिक ग्लानी र निराशाकै कारण होला तीन वर्षे अनिललार्ई छाडेर उनकी आमा पनि बेपत्ता भइन् । राति छोरालार्ई छातीमा टाँसेर गोठमा सुतेकी आमा बिहान उठ्दा थिइनन् । उनी रोए, कराए न उनकी आमाले सुनिन् न आइन् । केही दिनपछि उनले अर्कैसंग बिहे गरेर गएको हल्ला गाउँभरी चल्यो । तीन वर्षे अवोध अनिललार्ई के थाहा के हो ‘बिबाह’ अनि के हो ‘पोइल’ भनेको । छिमेकी र परिवारकाले आमालार्ई अनेक थरी भनेर गाली गरेको सुन्दा उनलार्ई दिक्क लाग्थ्यो । उनी गाली गरेका शब्दको अर्थ पनि बुझ्दैनथे, तर आमाले छोडेर गएकोमा ठूलो निरासा थियो ।
०५२ सालको फागुनमा दाङको ढिकपुर– ९ मछाहिमा जन्मेका अनिलको पीडा त्यतिमै सकिएन । धेरैपछि मामाघरका हजुरबुवा र समाजका अगुवाहरूले अनिललार्ई उनकै बुबाको जिम्मा त लगाए तर, उनले बुबाबाट पाउनु पर्ने स्नेह र प्रेम पाएनन् । बुबाले अर्की श्रीमती ल्याएका थिए । भाइबहिनी स्कुल जान्थे भने उनलार्ई बस्तु चराउन गोठालो पठाइन्थ्यो । तीन वर्षको उमेरदेखि नै भकारो सोहोर्नु र गोठालो जानु उनको दिनचर्या बन्यो । आफूसँगैका साथीसँग खेल्न जाँदा पनि मलार्ई एक्लै पारिदिन्थे । उनीसँग कोही पनि खेल्न चाहदैनथे । कसैले खेलाइहालेमा उसले परिवारको हप्की सहनुपथ्र्याे । ‘मसँग खेल्दा उनीहरूले पनि यातना भोग्नुपरेपछि किन खेल्थेँ र ?,’ विगत सम्झँदै उनी भन्छन्, ‘अलि ठूलो भएपछि म भागेर मामाघर आएँ ।’
मामाघरमा पनि घृणा र तिरस्कार कम त थिएन तर, त्यँहा सौतेनी आमाको दुव्र्याच्य सुन्नु पर्दैनथ्यो । उनले घरको काम सकेर पढ्न पाउथे । त्यसैले सरकारी स्कुलमा नाम लेखाएर कहिलेकाहीँ स्कुल गएर राति–राति अध्ययन गर्दै जसोतसो कक्षा १२ उत्तीर्ण गरे । अनि मासिक हजार रुपैयाँमा दाङकै एफएम रेडियोमा पियनको काम पाए । खानबस्न रेडियोमै पाउने भएपछि दैनिकी केही सहज भयो ।
त्यतिकैले जीवन नचल्ने ठानेर १८ महिनाअघि उनी काठमाडौं हानिएका हुन । अन्जान र विरानो काठमाडौंमा उनलार्ई कसले काम दिने । धेरै ठाउँ चहारेर, धेरैसँग हात जोड्दा र खुट्टा ढोग्दा केही पनि सीप नचलेपछि उनी फर्कने सुरसार गर्दैगर्दा उनले काम पाए । काम थियो, एउटा होटलमा भाँडा माँझ्ने । त्यही काम गर्दागर्दै उनले फेरि एउटा एफएममा काम पाए । सानैदेखि गीत गाउने धोको भएर पनि उनलार्ई एफएमको कामले आकर्षण गरेको बताउँछन् । सो एफएममा काम गर्दैगर्दा उनले केही समय संगीत पनि सिक्न भ्याएका छन् ।
अब उनलार्ई गीत गाएर एल्बम निकाल्ने धोको छ । दुःख र विरहका गीतले भरिएको एल्बम निकाल्ने उनको धोको आजीवन धोकै रहने हो कि भन्ने चिन्ता उनलार्ई छ । ‘हप्ता दिनसम्म भोको बस्ने त बानी परिसकेको छ । यसैगरेर भए पनि मर्नुभन्दा पहिले एउटा एल्बम कसो निकाल्न नसकिएला,’ अनिल भन्छन् ।
प्रतिक्रिया