एघार खेलकर्मीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

sammanकाठमाडौं, २७ साउन । युवा तथा खेलकुद मन्त्रालयले नौ खेलाडी र दुई प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ । सम्मानित हुने सबैभन्दा बढी एथलेटिक्स खेलाडीको संख्या तीन रहेको छ । केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए । केशरी लामो समयदेखि नेपाली एथलेटिक्सका छाएकी नाम हुन् । हाइजम्प, लङजम्प र ट्रिपलजम्पकी यी स्टार पछिल्लो समय हर्डल्समा पनि च्याम्पियनको रूपमा उदाएकी छिन् ।
त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, तेक्वान्दोकी ज्ञानीचुनारा, पारा एथलेटिक्सका विक्रमबहादुर राणा, किकबक्सिङका दिवस श्रेष्ठ तथा भलिबलकी विनिता बूढाथोकी छन् । सुनील र प्रमिलाले समान ५०–५० हजार रुपैयाँ पाए । अन्य सात खेलाडीले जनही एक लाख रुपैयाँ प्राप्त गरे । विमला राज्यको बेवास्ताको बाबजुुद इन्चोन एसियाडमा सहभागी हुँदै काश्यपदक जित्न सफल भएकी थिइन् । सो एसियाडमा बिमलाले मात्र पदक जितेकी थिइन् । उनी डब्लुकेएफको मान्यताप्राप्त नेपाल कराते महासंघको पहलमा एसियाडमा सहभागिता जनाउन सफल भएकी थिइन् । ज्ञानी चुनारा पछिल्लो समय नेपाली परिचित तेक्वान्दो खेलाडी हुन् । राष्ट्रिय टोलीकी प्रभावशाली सदस्य ज्ञानी नेपाल आर्मी क्लबमा आबद्ध छिन् ।
सम्मानित हुने प्रशिक्षकमा क्योकुसिन करातेकी सन्जु महर्जन र ब्याडमिन्टनकी रजनीमैया जोशी रहेका छन् । फुलकन्ट्याक्ट करातेमा सक्रिय सञ्जुले पुरस्कारले आपूm थप सक्रिय हुन उत्साहित भएको बताइन् । सम्मानितहरूलाई उप्रधान तथा गृहमन्त्री वामदेव गौतमलगायतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रबीच प्रशंसापत्र र रुपैयाँ पुरस्कार प्रदान गरे ।
सम्मान कार्यक्रमअघि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रत्नपार्कदेखि प्रतिष्ठानसम्म प्रभातफेरी आयोजना गरिएको थियो । सोही प्रभातफेरी प्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

प्रतिक्रिया